Comments Add Comment

कोरोनाबारे गलत समाचार फैलाउनेको एकाउन्ट ट्वीटरले स्थायीरुपमा बन्द गर्ने

१८ फागुन, काठमाडौं । सामाजिक सञ्जाल ट्वीटरले कोरोना भाइरस (कोभिड–१९) को विषयमा गलत समाचार फैलाउने प्रयोगकर्ताको एकाउन्ट स्थायीरुपमा नै बन्द गर्ने भएको छ । ट्वीटरले कोरोना खोपबारे पनि भ्रामक सूचना प्रसारण गर्ने मानिसहरुको खाता पनि स्थायीरुपमा बन्द गराउने भएको छ । ट्वीटरले सोमबार सार्वजनिक गरेको नयाँ प्रणालीअनुसार पाँचपटकसम्म यस्तो पोस्ट गरेको अवस्थामा त्यस्ता प्रयोगकर्ताको खाता स्थायीरुपमा बन्द गरिनेछ ।

ट्वीटरले नयाँ प्रणालीले निरन्तररुपमा मानिसहरुलाई कम्पनीको नियमको बारेमा जानकारी दिने र आगामी दिनमा यस किसिमका भ्रामक पोस्टहरु निरन्तर कम हुँदै जाने विश्वास व्यक्त गरेको छ । ट्वीटरले आगामी दिनमा भ्रामक किसिमको पोस्ट गर्ने प्रयोगकर्तालाई सूचित गर्नेछ ।

दोस्रो र तेस्रोपटक पनि भ्रामक समाचार पोस्ट गर्ने प्रयास गरेमा १२ घण्टाको लागि खाता बन्द हुनेछ । चौथो पटकमा सात दिन र पाँचौं पटक पनि नमानेमा खाता सधैंको लागि बन्द हुनेछ ।

ट्वीटरले कोरोना खोप लगाएपछि देखिने असरबारे आधारहीन सूचना सम्प्रेषण गर्ने र कोरोनाको वास्तविकताबारे भ्रम फैलाउने प्रयोगकर्तालाई पनि लक्षित गर्दै नयाँ प्रणाली ल्याएको हो ।

पछिल्लो एक वर्षमा ट्वीटरले आठ हजार चारसयभन्दा धेरै अकाउन्ट हटाइसकेको छ भने एक करोड १५ लाख अकाउन्टलाई नियम उल्लंघन गरेको भन्दै चेतावनी दिएको छ ।

– एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment