Comments Add Comment

दशरथ रंगशालामा हुने भनिएको नेपाल र अष्ट्रेलियाबीचको खेल अन्यौलमा

१८ फागुन, काठमाडौं । सन् २०२२ को कतार विश्वकप र सन् २०२३ को एसिया कपको संयुक्त छनोट अन्तर्गत नेपाल र अष्ट्रेलियाबीचको खेल अन्यौलमा परेको छ ।

समूह बी अन्तर्गत नेपाल र अष्ट्रेलियाबीचको खेल मार्च ३० (चैत १७ गते) काठमाडौंको दशरथ रंगशालामा सञ्चालन हुने खेलतालिका थियो । तर एसियाली फुटबल महासंघ (एएफसी) ले कोभिड-१९ को यात्रा र क्वारेन्टिनमा रहेको प्रतिबन्धका कारण मार्च ३० मा तय भएको खेलतालिका परिमार्जन गरेको छ ।

एएफसीले विश्वकप र एसियाकप छनोटका बाँकी खेलहरु एकै स्थानमा गर्ने तयारी गरेको छ ।

एएफसीले फेब्रुअरी १९ मा नेपाल र अष्ट्रेलियाबीचको खेल मार्च ३० मा दशरथ रंगशालामा नै हुने उल्लेख गरेको थियो । उसले त्यतिबेला मार्च २५ मा दशरथ रंगशालामै तय भएको नेपाल र चाइनिज ताइपेइबीचको खेल भने स्थगित गरेको थियो ।

तर मंगलबार एएफसीले मार्चमा हुने खेलहरुको परिवर्तित खेलतालिका सार्वजनिक गर्दा नेपाल र अष्ट्रेलियाबीचको खेलको बारेमा उल्लेख नै गरिएको छैन ।

उक्त खेल अब ‘सेन्ट्रल भेन्यु’मा गर्ने तयारी भएको एन्फा स्रोतले जनाएको छ । विश्वकप र एसिया कप छनोटका बाँकी खेल आयोजना गर्न विभिन्न देशका फुटबल संघहरुले एक साताभित्रमा एएफसीमा आवेदन दिन सक्नेछन् । एन्फाले पनि ती खेल आयोजना गर्न प्रस्ताव पेश गर्ने स्रोतले बताएको छ ।

अष्ट्रेलियाको एक अनलाइन सकरउस डट कमले पनि अष्ट्रेलियाको बाँकी चार खेल ‘सेन्ट्रल भेन्यु’मा हुने जनाएको छ ।

एएफसीका अनुसार विश्वकप र एसियाकपको छनोट चरण अन्तर्गत मार्चमा अब ३ खेल मात्रै हुनेछ । जस अनुसार समूह एफको ताजकिस्तान र मंगोलियाबीच मार्च २५ मा डुसानबेमा, मंगोलिया र जापानबीच  जापानमा र समूह डीको साउदी अरेबिया र प्यालेस्टाइनबीच रियादमा खेल हुनेछ ।

नेपाल र अष्ट्रेलियाबीचको खेल भने कहिले हुने भन्नेबारे एएफसीले उल्लेख गरेको छैन । त्यसैले यो खेल कहाँ हुन्छ भन्ने पनि खुलेको छैन ।

एएफसीले विश्वकप र एसियाकपको छनोट चरणका बाँकी खेलहरु आयोजना गर्न विभिन्न समूहमा रहेका आफ्ना सदस्यहरुलाई आवेदन दर्ता गर्न भनेको छ । ‘सेन्ट्रल भेन्यु’मा आयोजना गर्ने छनोट चरणका खेलहरु २०२१ मे ३१ देखि जुन १५ सम्म गरिने एएफसीले जनाएको छ ।

समूह बी मा रहेको नेपालले छनोटमा अष्ट्रेलिया, चाइनिज ताइपेई र जोर्डनसंग खेल्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment