+
+

नियुक्तिमा विद्यार्थी संगठन, शैक्षिक मुद्दामा छैन ध्यान

नुनुता राई नुनुता राई
२०७७ चैत १ गते ९:१६
मसाल जुलुसमा सहभागी नेविसंघ आवद्ध विद्यार्थी

१ चैत, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसं), त्रिवि समितिले प्राध्यापक तथा विद्यार्थी संगठनको नेतृत्वलाई झुटो मुद्दा लगाउन बन्द गर्नुपर्ने लगायतका माग राखेर उपकुलपति कार्यालय अगाडि सुरु गरेको रिले अनसन पाँच हप्तादेखि जारी छ ।

गत असारमा प्रधानमन्त्री केपी शर्मा ओली निकट अनेरास्ववियुले ‘आजलाई होइन भोलिलाई, पाँच वर्ष ओलीलाई’ भन्ने नारासहित देशका विभिन्न भागमा प्रदर्शन गर्‍यो ।
यी दृष्टान्तले विद्यार्थी संगठनहरूले स्थापनाको उद्धेश्यअनुरुप काम गरेका छैनन् भन्नेहरूको तर्कलाई बल पुर्‍याएको छ । हुन पनि नोवेल कोरोना भाइरस (कोभिड-१९) महामारीले लाखौं विद्यार्थीको पढाइ अस्तव्यस्त हुँदा ती संगठनहरुले मुख खोलेनन् ।

कोरोनाले सिर्जना गरेको त्रिवि र विद्यार्थीबीचको शैक्षिक दुरी कम गर्न कुनै पनि संगठनले भूमिका नखेलेको एक प्राध्यापक बताउँछन् । उनी भन्छन्, ‘विद्यार्थीको हकहितका लागि हामी छौं भनेर भाषण गर्ने, साँच्चै विद्यार्थी अप्ठ्यारोमा परेको बेला निस्क्रिय बस्ने संगठनको औचित्य के ?’

विद्यार्थी संगठनले अप्ठ्यारो पर्दा स्वतःस्फुर्त सहयोग गर्नुपर्नेमा मद्दत माग्दासमेत चुपचाप बसेको विद्यार्थीहरूको गुनासो छ । उनीहरू आफ्नो स्वार्थसँग जोडिएको विषय आएपछि मात्रै संगठन अघि सर्ने गरेको बताउँछन् ।

विद्यार्थी संगठनहरूले विद्यार्थीको समस्या हल गर्नेभन्दा पनि भागबन्डाका लागि आन्दोलन गरिरहेको विद्यार्थीहरू बताउँछन् । अनेरास्ववियु (क्रान्तिकारी)का पूर्वअध्यक्ष लेखनाथ न्यौपाने अहिलेको विद्यार्थी नेतृत्वले शैक्षिक मुद्दाभन्दा पनि आफ्नो आर्थिक सरोकारमा ध्यान केन्द्रित गरेको बताउँछन् ।

भागबन्डामा ध्यान

पञ्चायत विरोधी आन्दोलन, लोकतान्त्रिक आन्दोलन र गणतान्त्रिक आन्दोलनमा निर्णायक आन्दोलन गर्ने गौरवशाली इतिहास भएको विद्यार्थी संगठनको साख नेतृत्वकै कारण क्रमशः गुम्दै गएको विद्यार्थीहरूको अनुभव छ । विश्वविद्यालयमा राजनीतिको आडमा गुन्डागर्दी गर्ने प्रवृत्ति मौलाउँदै गएको उनीहरू बताउँछन् ।

गत असोजमा त्रिवि परिसरभित्रै समाजशास्त्रका उप-प्राध्यापक प्रेम चलाउनेमाथिको आक्रमणमा विद्यार्थी नेताहरूको संलग्न देखिनुले विश्वविद्यालयको वातावरण कस्तो छ भन्ने देखाउँछ । उप-प्राध्यापक चलाउनेले नेविसंघका विद्यार्थी नेता हरि आचार्य र योगेन्द्र रावलको योजनामा आक्रमण भएको आरोप लगाउँदै आएका छन् ।

आक्रमण गरेको आरोपमा पक्राउ परेका रुपेश साहले बयानमा हरि आचार्यले आक्रमण गर्न लगाएको स्वीकार गरेको प्रहरीको भनाइ छ ।

त्यतिमात्रै होइन पछिल्लो समय त्रिविका विद्यार्थी संगठनहरू नियुक्ति र भागबन्डामा लागेको एक विद्यार्थी नेता स्वीकार गर्छन् । उनी भन्छन्, ‘आफ्नो पक्षको मान्छे नियुक्ति नहुँदा हड्ताल गर्ने, तालाबन्दी गर्ने प्रवृत्ति बढ्दो छ । अहिले तालाबन्दी हुनुको मुख्य कारण नै त्यहि हो ।’

अहिले विद्यार्थी संगठनहरू व्यक्तिगत लाभहानी र भागबन्डामा खुलेआम लागिरहेको एक प्राध्यापक बताउँछन् । समाजशास्त्र विभागमा तालाबन्दी गर्नुको बाहृय माग जे भए पनि अन्तर्य भनेको विभाग प्रमुखको बर्हिगमन नै रहेको उनको दाबी छ ।

अहिलेको विभाग प्रमुख हटाएर आफ्नो मान्छे नियुक्तिका लागि बार्गेनिङ गरिरहेका छन् । उनका अनुसार अहिले उप-प्राध्यापक प्रेम चलाउनेलाई नाम तोकेर क्वार्टर छोड्न दबाब दिनेहरूले नै हिजो त्यहाँ ल्याएर राखेका थिए । ‘उनीहरुको स्वार्थमा साथ नदिएकै कारण उनी कुटिए र अहिले क्वार्टर छोडाउनका लागि दबाब दिइरहेका छन्,’ उनी भन्छन् ।

नेविसंघका पूर्वमहामन्त्री तथा कांग्रेस नेता गगन थापा पछिल्लो समय विद्यार्थी संगठनहरू ट्रयाकभन्दा बाहिर गईरहेको स्पष्ट देखिने बताउँछन् । संगठनको जिम्मा लिएका मुल नेतृत्वको कमजोरीको कारण संगठन गलत दिशातिर गईरहेको उनको आरोप छ । उनी भन्छन्, ‘संगठनहरू भागबन्डामा लागेको आरोप लागिरहँदा नेतृत्वले त्यस्तो आरोप गलत हो भन्नका लागि काम गर्नुपर्छ ।’

त्रिवि, समाजशास्त्र विभागका प्रमुख प्रा.डा.युवराज लुईँटेल आन्दोलित विद्यार्थीहरूको कतिपय माग विभागले समाधान गर्ने खालको नभएको बताउँछन् । उनी भन्छन्, ‘उहाँहरूले उठाएको विषय विभागले समाधान गर्ने खालका पनि छैनन् ।’

जस्तो उपकुलपति कार्यालयमा रिले अनसन बसेका नेविसंघले झुठा मुद्दा खारेज गर्नुपर्ने माग राखेको छ । प्राध्यापकहरू भने यस्तो माग विश्वविद्यालयको क्षेत्राधिकारभन्दा बाहिर रहेको बताउँछन् । त्रिविका एक प्राध्यापक भन्छन्, ‘झुठा मुद्दा खारेज विश्वविद्यालयले गर्ने होइन नि ।’

नेविसंका पूर्वमहामन्त्री गगन थापा विश्वविद्यालय प्रशासन, विभाग प्रमुखहरूसँग शैक्षिक विषयमा फरक मत, असहमति हुनु स्वभाविक भए पनि मेरो मान्छेले नियुक्ति पाउनुपर्छ भनेर विद्यार्थी संगठनले अडान लिनु गलत भएको बताउँछन् ।

‘गलत तरिकाले, गलत व्यक्ति नियुक्ति भइरहेको अवस्थामा विरोध गर्न सकिन्छ । त्यस्ता कार्यलाई रोक्न निर्णायक भूमिका खेल्न सक्छ,’ थापा भन्छन्, ‘तर मेरो मान्छे नियुक्ति हुनुपर्छ भनेर अडान लिन, धर्ना बस्न मिल्दैन । त्यो विद्यार्थी संगठनको भूमिका भित्र पर्दैन ।’

मातृपार्टीको गुट प्रभाव

त्रिविमा नेपाली कांग्रेससम्बद्ध नेविसंघको मात्रै ४ वटा संगठन छन् । सम्झना खत्री, हरि आचार्य, श्यामचन्द्र अधिकारी र जगदीस भट्टले आफूहरू नेविसंघ, त्रिवि समितिको सभापति भएको दाबी गर्दै आएका छन् ।

सभापति खत्री र भट्ट कांग्रेस सभापति शेरबहादुर देउवा निकट, आचार्य कृष्ण सिटौला निकट र अधिकारी रामचन्द्र पौडेल निकट मानिन्छन् ।

विद्यार्थी संगठनमा दलभित्रको गुटको प्रभाव कति घनिभुत छ भन्ने देखाउने यो उदाहरण पर्याप्त छ । विद्यार्थीहरूमा राजनीतिक चेत हुनु अस्वाभाविक होइन । कुनै न कुनै दलमा आवद्ध हुनुलाई पनि स्वभाविकरुपमा लिनुपर्ने विद्यार्थी नेताहरू बताउँछन् । तर दलका नेताको आशीर्वाद प्राप्त गरेका व्यक्ति नेतृत्वमा पुग्दा समस्या भइरहेको नेविसंघका पूर्वअध्यक्ष प्रदीप पौडेल बताउँछन् ।

‘दलका नेताले विश्वास गरेको नेतृत्वले शैक्षिक मुद्दा उठाउनै सक्दैन । उनीहरु राजनीतिक अभीष्ट पूरा गर्नमात्रै तल्लिन हुन्छन्’, पूर्वअध्यक्ष पौडेल भन्छन् ।

नेविसंघ त्रिवि समितिको आधिकारिक सभापति आफू भएको दाबी गर्दै सम्झना खत्री गुटबन्दीका कारण आफनै साथीहरुसँग संघर्ष गरिरहनु परेको बताउँछिन् । भन्छिन्, ‘केन्द्रीय नेतृत्वले मिलाएर लानुपर्ने हो । केन्द्रीय समिति आफै बेहाल छ । गुटबन्दीको कारण शैक्षिक मुद्दा उठान गर्दा पनि एकमत हुन सकिरहेको छैन ।’

अनेरास्ववियुकी पूर्वअध्यक्ष तथा सांसद नविना लामा भने मातृसंगठनमा देखिएको गुटबन्दीको कारण विद्यार्थी संगठनमा पनि प्रभाव परेको बताउँछिन् । हिजोदेखि नै भागबन्डामा नियुक्ति गर्ने प्रवृत्ति रहेको र अहिले त्यो प्रवृत्ति झन मौलाएर गएको बताउँछिन् ।

‘यो प्रवृत्ति अन्त्य गर्नको लागि विश्वविद्यालयमा प्राज्ञिक आधारमा नियुक्ति हुनुपर्छ भनेर विभिन्न खालको दबाब कार्यक्रम गरियो तर लागू गर्न सकिएन’, लामा भन्छिन् ।

नेविसंका पूर्वअध्यक्ष प्रदीप पौडेल विद्यार्थी संगठनहरूले समय सापेक्ष मुद्दा उठाउन नसकेको बताउँछन् । संगठनहरूले आवाज उठाउन नसक्दा पेट्रोलियम पदार्थको मूल्य वृद्धि, विश्वविद्यालयको शुल्क वृद्धि, कोभिडका कारण विद्यार्थीले भोगेको समस्या लगायत विषय सम्बोधन नभएको उनको भनाइ छ ।

आफ्ना मान्छे गलत प्रकृयाबाटै भए पनि नियुक्त भए चुपचाप बस्ने, अन्य नियुक्त भए विरोध गर्ने प्रवृत्तितर्फ विद्यार्थी संगठनहरु उन्मुख भइरहेको पौडेल बताउँछन् ।

अनेरास्ववियु त्रिविका पूर्वअध्यक्ष मदन बिष्ट भने त्रिविका विद्यार्थी संगठनहरुले निरन्तर शैक्षिक मुद्दा उठाउँदै आएको बताउँछन् । ‘त्रि.विको शैक्षिक गुणस्तर, समयमा परीक्षा हुनुपर्ने, परीक्षाफल समयमा निस्कनुपर्ने मुद्दाहरू उठाउँदै आएका छौं । अहिले पनि साथीहरु शैक्षिक मुद्दाभन्दा बाहिर जानुभएको छैन,’ उनी भन्छन्, ‘हामीले आन्दोलन गर्ने हो । दबाब दिने हो । त्यो भइरहेको छ ।’

ज्ञान, सीप र रोजगारी अभिवृद्धि हुने गुणस्तरीय र व्यावसायिक शिक्षा प्रत्याभूतिमा ध्यान केन्द्रित गर्नुपर्ने विद्यार्थी संगठनहरू आफ्नो उद्धेश्य बाहेक सबै काममा क्रियाशील देखिन्छन् । ‘विद्यार्थी संगठनको मुख्य सरोकार शैक्षिक मुद्दा हो तर शैक्षिक मुद्दालाई सहायक र सहायक कामलाई मुख्य जस्तो गरेको देखिन्छ’ अनेरास्ववियु (क्रान्तिकारी) का पूर्वअध्यक्ष लेखनाथ न्यौपाने भन्छन्, ‘शैक्षिक मुद्दा सकेसम्म उठाउँदै-उठाउँदैनन्, उठाई हाले पनि औपचारिकताका लागि, देखाउनका लागि र प्रचार-प्रसारका लागिमात्रै उठाउँछन् ।’

लेखकको बारेमा
नुनुता राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?