
४ चैत, काठमाडौं । उच्च अदालत, कोलकाताले भारतीय जेलमा ४० वर्षदेखि रहेका इलामका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी) को प्रारम्भिक मिसिल मगाएको छ ।
बुधबार भएको सुनुवाइमा मुख्य न्यायाधीश थोटथिल बी राधाकृष्णन् र न्यायाधीश अनिरुद्र रोयको इजलासले जिल्ला अदालत दार्जिलिङमा रहेको प्रारम्भिक मिसिल र कागजपत्रहरु मगाएको हो ।
उच्च अदालत, कोलकाताका वकिल हिरक सिन्हाले अनलाइनखबरसँगको टेलिफोन कुराकानीमा भने, ‘अदालतले थप प्रमाण हेर्न खोजेको छ, दुई दिनभित्र विशेष दूतमार्फत पहिलेको मिसिल ल्याउन भनिएको छ ।’ अर्को सुनुवाइ आगामी सोमबार बिहान साढे १० मा हुने सिन्हाले बताए ।
कोलकातास्थित महावाणिज्य दूतावासका कर्मचारी सतिश थापाका अनुसार दार्जिलिङको मिसिल आगलागीमा जलेको भनिएको थियो । ‘अदालतमा त्यसको कुनै ब्याकअप पनि छ कि !’, थापाले अनलाइनखबरसँग भने ।
तिम्सिनाका आफन्त प्रकाशले गत सोमबारै उनी छुट्ने अपेक्षा गरिए पनि प्रक्रिया लम्बिएको बताए । उनले अनलाइनखबरसँग भने, ‘अदालतको प्रक्रिया लम्बिँदा परिवारमा झन् पीडा र अन्यौलता छ ।’
सोमबार भएको सुनुवाइमा उच्च अदालतले दुर्गाप्रसादले करिब ४० वर्ष जेलमा बसिसकेको उल्लेख गर्दै थप सुनुवाइ गरिराख्नु पर्छ/पर्दैन भन्ने विचार गरिरहेको उल्लेख गरेको थियो । अदालतले भनेको थियो, ‘यदि आरोप एउटा मात्र थियो र आजीवन कारावासको सजाय सुनाइएको भए पनि त्यो पूरा भइसकेको छ ।’
तिम्सिना चार दशकभन्दा बढी समयदेखि भारतीय जेलमा रहेको समाचार सार्वजनिक भएपछि कोलकातास्थित महावाणिज्य दूतावासले थुनामुक्तको आदेश दिन कोलकातास्थित उच्च अदालतलाई पत्र लेखेको थियो ।
प्रतिक्रिया 4