+
+

लुम्बिनीमा जन्मिएको ‘शाइन’ १२ वर्ष पछि काठमाडौंमा

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ९ गते १८:४५

९ चैत, काठमाडौं । लुम्बिनी प्रदेशको बलियो बैंक शाइन रेसुङ्गा बैंक औपचारिक रुपमा आइतबारदेखि संघीय राजधानी काठमाडौं प्रवेश गरेको छ । काठमाडौंका पाँच स्थानहरु नयाँ बानेश्वर, न्यूरोड, कलंकी, गोंगबु र बसुन्धरामा आफ्नो नयाँ शाखा कार्यालयहरु उद्घाटन गर्दै शाइन रेसुङ्गाले काठमाडौं प्रवेशको शुभारम्भ गरेको हो ।

मुलुक संघीयतामा गएको ३ वर्ष पछि बैंकले संघीय राजधानीलाई समेत समेटेको छ । ठूलो व्यवसाय रहेको राजधानी काठमाडौंलाई छाड्न नहुने निष्कर्ष निकाल्दै बैंकले एउटामात्रै होइन पाँच वटा शाखा कार्यालय स्थापना गरेर व्यवसाय शुरु गरेको छ ।

‘काठमाडौं उपत्यकाबाहिरको बैंक भएका कारण यहाँ शाखा खोल्न त्यति सहज थिएन, तर हामी मर्जरमा गएको कारण राष्ट्र बैंकले अनुमति दिएपछि हामीले खोल्यौं,’ बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाशन पौडेल भन्छन्, ‘शुरुमा एउटा अनि त्यपछि क्रमशः एक-एक वटा गरेर खोल्दा पनि हुन्थ्यो । तर त्यसो गर्दा बढी खर्च हुने र अरु कहिले खोल्ने भन्ने पनि ठेगान नहुने थियो ।’ खर्चका हिसाबले पनि एकै पटक खोल्दा राम्रै हुने भएका कारण एक-एक नगरी एकै पटक पाँच वटा खोलिएको सीईओ पौडेलको भनाइ छ ।

शाइन रेसुङ्गा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाशन पौडेल ।

यस बैंकमा विभिन्न पाँच वटा बैंकहरु मिलेका छन् । गुल्मी कार्यक्षेत्र भएको रेसुङ्गा डेपभलमेन्ट बैंकलाई गाभेर यस बैंकको नाम शाइन रेसुङ्गा भएको थियो । तत्कालिन शाइन डेपलपमेन्ट बैंक भने बुटवल (लुम्बिनी प्रदेश) मा जन्मिएको बैंक हो ।

यसको स्थापना २०६५ सालमा बुटवलमा स्थापना भएको थियो । त्यसपछि यस बैंकमा गुल्मी जिल्ला कार्यक्षेत्र भएको रेसुङ्गालाई मर्जर गरेर २०६९ सालमा एकिकृत कारोबार शुभारम्भ गरेको थियो । दुई विकास बैंक मिलेपछि १० वटा जिल्ला कार्यक्षेत्र भएको बैंक बन्न सफल भयो ।

केन्द्रीय बैंकको पुँजी वृद्धिको योजनाका कारण यस बैंकले मर्जर तथा प्राप्तिलाई सधै प्राथमिकतामा राख्यो । २०७३ साल ज्येष्ठ २९ बाट प्यूठान जिल्ला कार्यक्षेत्र भएको गौमुखी विकास बैंकलाई गाभेको यस बैंकले २०७६ सालमा बाँकेमा केन्द्रीय कार्यालय रहेको भार्गव विकास बैंक र भैरहवाको पूर्णिमा विकास बैंकलाई समेत गाभ्यो । पाँच बैंक गाभिए पछि शाइन रेसुङ्गा राष्ट्रिय स्तरको विकास बैंक बन्न सफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?