
१० चैत, काठमाडौं । बंगलादेशको दुईदिने राजकीय भ्रमण सकेर राष्ट्रपति विद्यादेवी भण्डारी आज स्वदेश फर्कने कार्यक्रम छ ।
बंगलादेशको राजधानी ढाकामा रहँदा भण्डारीको उच्च राजनीतिक नेतृत्वसँग विभिन्न दुईपक्षीय र क्षेत्रीय एजेण्डामा कुराकानी भएको छ ।
भण्डारीको भ्रमण पछिल्ला वर्षहरुमा दुई देशको बीचमा उच्च राजनीतिक तहमा बढ्दो आदानप्रदानको निरन्तरता हो ।
दुईपक्षीय सहकार्यको प्रचुर सम्भावना हुँदाहुँदै पनि विगत पचास वर्षमा दुई देशको सम्बन्धले अपेक्षाकृत गति लिएन।
तर, पछिल्ला केही वर्षयता दुईपक्षीय सम्बन्धमा केही गुणात्मक परिवर्तन आएको छ । दुईपक्षीय आदानप्रदान मात्र बढेको छैन, दुईपक्षीय सहकार्यका क्षेत्रहरुमा केही प्रगति भएको छ ।
उच्चस्तरमा सुरु भएको भ्रमणले त्यसमा थप उत्साह थपेको छ र कर्मचारीतन्त्रमा सीमित रहेका एजेण्डा राजनीतिक तहमा पुगेका छन् ।
यस अर्थमा भण्डारीको भ्रमणले दुईपक्षीय सम्बन्धमा थप ईंटा थप्ने काम गरेको छ । दुई वर्ष अगाडि बंगलादेशका राष्ट्रपति अब्दुल हमिद नेपालको राजकीय भ्रमणमा आएका थिए ।
बंगलादेश स्वतन्त्र देश भएपछिका वर्षहरुमा केही उच्चस्तरका भ्रमणहरु भए पनि त्यसपछि लामो समयसम्म भ्रमण हुन सकेन ।
सार्कलगायतका क्षेत्रीय प्लेटफर्म र अन्य फोरममा सरकार र राज्य प्रमुखहरुको बीचमा साइडलाइन वार्ताहरु भए पनि दुईपक्षीय भ्रमणहरु भएनन् । जसले गर्दा दुईपक्षीय सहकार्यका कैयौं विषय ठोसरुपमा अगाडि बढ्न सकेनन् । पछिल्लो समयमा उच्चस्तरको भ्रमणसँगै अब सहकार्य अगाडि बढ्ने स्पष्ट संकेतहरु देखिएका छन् ।
भण्डारीको भ्रमणमा दुई देशको बीचमा चारवटा सम्झौताहरु भएका छन् । दुई देशको बीचमा रहेको पारवहन सम्झौतामा केही परिवर्तन गरिएको छ ।
जसअनुसार तेस्रो मुलुकसँगको व्यापारका लागि नेपालले बंगलादेशको थप रेलवे लाइनको प्रयोग गर्न सक्छ । भूपरिवेष्टित मुलुक नेपाललाई बंगलादेशले पारवहन सुविधा दिंदै आएको छ ।
नेपालले आफ्नो व्यापार र पारवहन सम्बन्धलाई विविधीकरण गर्ने नीति लिएको छ । त्यसैले भारत र चीनसँग नेपालले अब बंगलादेशले प्रदान गरेको पारवहन सुविधालाई अधिकतम रुपमा प्रयोग गर्ने र त्यसलाई विस्तार गर्ने नीति लिनु आवश्यक छ ।
त्यसैगरी दुई देशको बीचमा पर्यटन विस्तार गर्ने सम्बन्धमा पनि सम्झौता भएको छ । दुई मुलुकको बीचमा पर्यटनको प्रचुर सम्भावना रहे पनि त्यसको समुचित प्रवर्द्धन हुनसकेको थिएन् । त्यसैगरी दुई मुलुकको बीचमा सांस्कृतिक आदान-प्रदानलगायत विषयमा पनि सहमति भएको छ ।
पछिल्लो समयमा दुई देशको बीचमा ऊर्जा क्षेत्रमा सहकार्य गर्ने सम्बन्धमा केही प्रगति भएको छ । भण्डारीको भ्रमणमा पनि यो विषयले विशेष प्राथमिकता पाएको छ । त्यहाँ आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले ऊर्जा व्यापारका लागि नेपाल, भारत र बंगलादेशको बीचमा सहकार्य आवश्यक भएको बताइन् ।
नेपालमा ऊर्जा उत्पादनको प्रचुर सम्भावना रहेको र बंगलादेशमा ऊर्जा संकट रहेकाले नेपालबाट उता ऊर्जा निर्यात गर्न सकिने विषयमा लामो समयदेखि छलफल चलिरहेको छ ।
अघिल्लो साता नयाँदिल्लीमा आयोजना गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्दै भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगलाले नेपालको बिजुली बंगलादेश निर्यात गर्नका लागि पारवहन सुविधा दिन तयार रहेको उल्लेख गरेका छन् ।
नेपाल र बंगलादेशको बीचमा उच्चस्तरमा छलफलपछि अब तीन देशको बीचमा कर्मचारी तहमा छलफल गर्ने वातावरण बनेको छ ।
यसै साता हुने भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको बंगलादेश भ्रमणमा पनि यो विषयले प्राथमिकता पाउने सम्भावना छ किनभने लामो समयदेखि बंगलादेशको नेतृत्वले भारतसँग यो विषय उठाउँदै आएको छ ।
नेपाल र बंगलादेशको बीचमा व्यापारको पनि प्रचुर सम्भावना रहेको छ । तर, नेपालको बंगलादेशसँग व्यापार असन्तुलन रहेको छ । नेपाली उत्पादन बंगलादेशमा निर्यात गर्नका लागि केही समस्याहरु देखा परेका छन् ।
ढाकामा भण्डारी र बंगलादेशको राजनीतिक नेतृत्वको बीचमा भएको कुराकानीमा पनि यो विषयले प्राथमिकता पाएको छ ।
व्यापारलाई प्रवर्द्धन गर्नका लागि दुई देशको बीचमा ‘प्रिफेन्सियल ट्रेड एग्रिमेन्ट’ (पीटीए) सम्झौताका लागि कुराकानी पनि भइरहेको छ । यसको मस्यौदा पनि आदान प्रदान भइरहेको छ ।
भण्डारीसँगको शिष्टाचार भेटमा बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले आफू सकेसम्म छिटो यो सम्झौताको पक्षमा रहेको बताएकी छन् । ‘यो सम्झौता दुवै देशको हितमा रहेको छ, यसले व्यापार र वाणिज्यलाई प्रवर्द्धन गर्छ’, हसिनाले भण्डारीसँग भनिन् ।
पीटीएको सम्बन्धमा उच्च राजनीतिक तहमा भएको छलफलपछि अब यो विषय छिटो टुंगिने आशा संचार भएको छ । यस अगाडि दुई देशको बीचमा सन् २०२० भित्रै यो सम्झौतामा हस्ताक्षर गर्ने समझदारी बनेको थियो तर केही विषयमा सहमति हुनसकेको छैन ।
नेपालले बंगलादेशसँग लिने पारवहन सुविधालाई अझ विस्तार गर्ने र दुई देशको बीचमा रेलवे र स्थलमार्गमार्फत नै कनेक्टिभिटी विस्तार गर्ने सम्बन्धमा पनि पछिल्ला वर्षहरुमा प्रगति भइरहेको छ । दुई देशको बीचमा हवाई उडानलाई विस्तार गर्ने सम्बन्धमा पनि केही प्रगतिहरु भएका छन् ।
काठमाडौं र ढाकाको बीचमा मात्र होइन्, बंगलादेश र नेपालका विभिन्न शहरको बीचमा हवाई उडानको संख्या बढाउने विषयमा पनि कुराकानी भइरहेको छ ।
गत वर्ष मात्र दुई मुलुकको बीचमा बंगलादेशको साइदपुर विमानस्थल र विराटनगरको बीचमा हवाई उडान सुरु गर्ने सम्बन्धमा सहमति भएको थियो ।
साथै नेपाल, भारत र बंगलादेशका नदीहरुको बीचमा वाटरवेज संचालन गर्ने सम्बन्धमा पनि प्रारम्भिक तहमा कुराकानी भइरहेका छन् । दुई देशको बीचमा सडकमार्ग र रेलवे कनेक्टिभिटी सहकार्यको अर्काे महत्वपूर्ण क्षेत्र हो ।
यति मात्र होइन, दुई देशको बीचमा सांस्कृतिक क्षेत्रमा पनि सहकार्य गर्न सकिने ठूलो क्षेत्र रहेको छ ।
शिक्षा दुई मुलुकको बीचको सहकार्यको अर्काे महत्वपूर्ण क्षेत्र हो । मेडिकल र इन्जिनियरिङ अध्ययनका लागि नेपाली विद्यार्थीहरु बंगलादेश जाने गरेका छन् भने बंगलादेशबाट यहाँ फार्मेसी, बुद्ध सम्बन्धी शिक्षालगायतका अन्य क्षेत्रमा विद्यार्थीहरु आउने गरेका छन् । यसवाहेक अन्य विभिन्न क्षेत्रीय र उपक्षेत्रीय सहकार्यका सम्भावनाहरु समेत रहेका छन् ।
दुई देशको बीचमा अहिले विकसित हुँदै गएको राजनीतिक सम्बन्धलाई आगामी दिनमा पनि निरन्तरता दिन आवश्यक छ । सहकार्यको ठूलो सम्भावना भए पनि विगत पचास वर्षमा त्यति उपलब्धि हासिल हुन सकेन ।
नेपालको बंगलादेशसँगको सम्बन्ध व्यापार, पर्यटन र सांस्कृतिक हिसाबले मात्र होइन रणनीतिक रुपमा पनि निकै महत्वपूर्ण छ ।
प्रतिक्रिया 4