+
+

गण्डकीमा नयाँ सरकार गठनको प्रयास, तीन दल एक ठाउँमा उभिए

दुवैले आश गरेका राजमो सांसदहरु विभाजित

अमृत सुवेदी अमृत सुवेदी
२०७७ चैत २७ गते २०:५१

२७ चैत, पोखरा । प्रमुख विपक्षी नेपाली कांग्रेसले गण्डकी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउने प्रयास थालेको छ । र, मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार धरमराएको छ ।

माओवादी केन्द्रका दुई मन्त्रीले बुधबार राजीनामा दिएसँगै कांग्रेसले आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका लागि गृहकार्य थालेको हो ।

त्यसका लागि कुमार खड्काको नेतृत्वमा वार्ता कमिटी गठन गरेको छ ।  ‘कांग्रेस, माओवादी र जनता समाजवादी पार्टीको निरन्तर बैठक बसिरहेको छ । शुक्रबार पनि हामी छलफलमै थियौं’ सांसद मणिभद्र शर्मा कँडेल र डोबाटे विश्वकर्मा सदस्य रहेको वार्ताका संयोजक खड्का भन्छन्, ‘तीनवटै दलको एउटै एजेण्डा छ, यो सरकारको विकल्प खोज्ने । कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न प्रस्ताव गरेका छौं ।’

माओवादी केन्द्रले संसदीय दलका नेता हरिबहादुर चुमानसहित गायत्री गुरुङ, दीपक कोइराला र रामजी बरालको कार्यदललाई जिम्मा दिएको छ ।

साविकको नेकपा विभाजन हुँदा प्रचण्ड–माधव समूहले बनाएको कार्यदलमा इन्द्रलाल सापकोटा पनि थिए । एमाले र माओवादी केन्द्र पुनर्जीवित भएपछि माधवकुमार नेपाल समूहका सापकोटा एमालेमै क्रियाशील छन् ।

माओवादी केन्द्रका चार जना सांसद रहेको कार्यदलले भने सरकार गठनका लागि कांग्रेस, जसपा लगायतसँग वार्ता गरिरहेको छ । ‘अहिलेको सरकारको विकल्प जसरी पनि खोज्न एक ठाउँमा उभिएका छौं’  सांसद बरालले भने, ‘सरकारको नेतृत्व कसले गर्ने, कहिले अविश्वासको प्रस्ताव लैजाने भन्ने छलफलमै छ ।’

जनता समाजवादीका सांसद हरिशरण आचार्यले नयाँ विकल्पका साथ अगाडि बढ्न एमालेबाहेक सबै दल एकै ठाउँ आउने बताए । ‘अहिलेकै प्रतिगमनकारी सरकारलाई साथ दिने कुरा हुन्न, हामीले राम्रो क्यान्डिडेटलाई प्रस्ताव गरे राजमो पनि आउन तयार छ’, आचार्यले अनलाइनखबरसँग भने ।

६० सदस्यीय प्रदेशसभामा कांग्रेसका १५, माओवादी केन्द्रका १२ र जनता समाजवादीका दुई प्रदेशसभा सदस्य छन् । सभामुख नेत्रनाथ अधिकारी माओवादीकै हुन्, जसले सरकार गठनमा मत दिने छैनन् ।

त्यसैले नयाँ सरकारका लागि बहुमत (३१ सांसद) जुटाउन तीन दललाई तीन प्रदेशसभा सदस्य भएको राष्ट्रिय जनमोर्चाको साथ अनिवार्य छ ।

मुख्यमन्त्री गुरुङले पनि सरकार टिकाउन जनमोर्चाकै साथ खोजेका छन् । जनमोर्चा संसदीय दलका नेता कृष्ण थापाले सरकारलाई सघाउने बताइरहेकाले अरुले भड्काउँदैमा नभड्किने मुख्यमन्त्रीको विश्वास छ ।

तर नयाँ सरकार गठनको पहलसँगै जनमोर्चाका प्रदेशसभा सदस्यहरू विभाजित देखिएका छन् ।जनमोर्चाका कृष्ण थापाले केही निर्णय नगर्ने बताइरहँदा पियारी थापा र खिमविक्रम शाहीले सरकारको विपक्षमा उभिने बताएका हुन् ।

‘मन्त्रीको लोभमा कुनै हालतमा सरकारमा जानुहुँदैन । कसैले अविश्वासको प्रस्ताव ल्याउँछ भने त्यसकै पक्षमा मतदान गर्छौं’ सांसद थापाले भनिन्, ‘तत्काललाई समर्थन फिर्ता नलिने कुरा हो, तर पदसँग प्रतिष्ठा साटिन्नँ ।’

जनमोर्चाका संसदीय दलका नेता थापाले भने पार्टीमा छलफल गरेर मात्र भन्न सकिने बताए । ‘अविश्वासको प्रस्ताव आइहाल्यो भने हामीले तत्काल निर्णय गर्छौं, तर अहिले नै नबोलौं’ उनले भने ।

आर्थिक मामिलामन्त्री किरण गुरुङले भने कसरी अगाडि बढ्ने भन्ने ठोस योजना बनिसकेको बताए । ‘माओवादी केन्द्रका मन्त्रीले अप्रत्यासित रुपमा राजीनामा दिनुभयो । एकल बहुमत नभएपछि अरु दलसँग सहकार्य गर्नैपर्‍यो’ एमाले गण्डकी प्रदेशका सहइन्चार्ज समेत रहेका गुरुङले भने, ‘ कसरी अगाडि बढ्ने भन्ने ठोस योजना बनिसकेको छैन ।’

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?