
झण्डै तीन दशकअघि चोरी भएको बुद्धको आसनस्थ मूर्ति, गणेश र अप्सराको मूर्ति अमेरिका पुगेको प्रमाण मिल्यो । त्यो नेपालबाट चोरी भएको भन्ने दाबीमा नेपालले प्रमाण पुर्याएपछि अहिले ती मूर्ति अमेरिकाले नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ ।
अबको केही दिनमा ती मूर्ति नेपाल आइपुग्ने पुरातत्व विभागले जनाएको छ । त्यसलाई छाउनीस्थित राष्ट्रिय संग्रहालयमा राखिनेछ ।
अमेरिका सरकारको नीति अनुसार कुनै पनि मूर्ति चोरी भएको प्रमाणित भयो भने त्यसलाई सम्बन्धित मुलुकलाई नै फिर्ता दिने गरिन्छ । यही नीति अनुसार अहिले बुद्ध, गणेश र अप्सराको मूर्ति फिर्ता भएका हुन् । यद्यपि हराएको मूर्ति नेपालले फिर्ता पाएको यो पहिलोपटक भने होइन ।
११ औं र १२ औं शताब्दीमा कुँदिएका उमामहेश्वर र बुद्धको मूर्ति सन् १९८० को दशकमा चोरी भएका थिए । पछि नेपाली मूर्तिसम्बन्धी जानकारहरूले संग्रहालयमा उक्त मूर्ति देखेपछि ती मूर्ति चोरी भएर त्यहाँ आइपुगेको दाबी गरे । अमेरिकाले प्रमाण माग्यो । पूरा प्रमाण जम्मा पारेपछि २०७४ साल चैत महिनामा दुवै मूर्ति नेपालले फिर्ता पाएको थियो ।
तीमध्ये उमामहेश्वर पाटनको टंगालहिटी र बुद्धको मूर्ति काठमाडौंको याट्खाबाट चोरी भएको थियो । पाँचौं शताब्दीको चाबहिल देउपाटनको उभिएको बुद्धको मूर्ति सन् १८९५ को जुलाईमा हरायो । सोही ठाउँबाट हराएको सो मूर्ति अहिले कहाँ छ भन्ने कसैलाई पनि थाहा छैन ।
प्राचीन, लिच्छविकाल एवं मध्यकालमा कुँदिएका सयौं महत्वपूर्ण मूर्तिहरू चोरी भएका छन् । केही फिर्ता पनि भएका छन् । तर धेरै मूर्ति कहाँ छन् भन्ने पत्तो छैन ।
सन् १९६० को दशकदेखि नेपालबाट महत्वपूर्ण मूर्तिहरू हराउने सिलसिला बढ्न थाल्यो । १९८० को दशकमा यसले व्यापकता पायो । यो बीचमा झण्डै ५०० को हाराहारीमा ऐतिहासिक मूर्ति एवं टुँडालहरू हराएको पुरातत्व विभागको अनुमान छ ।
झण्डै ३५ वर्षअघि पाटनबाट हराएको वासुदेव कमलजाको मूर्ति पनि अमेरिकाको टेक्सास राज्यमा रहेको डल्लास म्युजियममा पुगेको भेटियो । त्यसमा पनि नेपालले मूर्ति आफ्नो भएको दाबी ठोक्यो । म्युजियमले गत मंसिरमा नेपाललाई आवश्यक प्रमाण जुटाउन सके मूर्ति फिर्ता गर्ने बतायो ।
पुरातत्व विभागकी क्युरियो शाखा प्रमुख एवं पुरातत्व अधिकृत सरिता सुवेदीका अनुसार प्रतिष्ठित संग्रहालयहरूले आफ्नो प्रतिष्ठा नघटोस् भन्नका लागि पनि चोरी भएको दाबी गरिएका मूर्तिहरू प्रमाण पुग्यो भने फिर्ता दिने गरेका छन् । पछिल्लो समय चर्चामा रहेका तीन मूर्ति पनि यही रीतले नेपाल फर्काउन लागिएको हो ।
त्यसो त सबै मूर्तिहरू फिर्ता गर्न त्यति सहज छैन । पहिलो त व्यक्तिले किनेका मूर्तिहरू संग्रहालयमा पुगेपछि मात्रै सार्वजनिक हुने गर्छन् । यसरी नेपालबाट नै चोरी भएर गएको प्रमाण भए पनि मूर्ति फिर्ता गर्ने कि नगर्ने भन्ने कुरा नेपालको पहल र सम्बन्धित देशको नीतिमा पनि भर पर्छ ।
अमेरिकाले प्रमाण पुगेको हदसम्म चोरी गरेर लगिएका मूर्तिहरू सम्बन्धित मुलुकलाई नै फिर्ता गर्ने गरेको छ भने अन्य मुलुकबाट फिर्ता लिन त्यति सहज नभएको पुरातत्वका अधिकारीहरू बताउँछन् ।

पाइलापाइलामा असुरक्षित मूर्तिहरू
नेपाली इतिहास संस्कृति तथा पुरातत्व केन्द्रीय विभाग त्रिविकी उपप्राध्यापक डा. सन्ध्या खनालका अनुसार काठमाडौंमा इसाको दोस्रो शताब्दीदेखिका उमामहेश्वरलगायत विभिन्न भगवानका दर्जनौं मूर्ति भेटिएका छन् ।
काठमाडौंको नयाँ बानेश्वरबाट पाटन दरबार क्षेत्रसम्म पुग्दा मात्रै झण्डै आधा दर्जन प्राचीन एवं लिच्छविकालीन मूर्तिहरू बेवारिसे अवस्थामा भेटिन्छन् । सिङ्गै उपत्यकाभरिको कुरा गर्दा असन, वसन्तपुर, पशुपति, धुम्बाराही, हाँडीगाउँ जस्ता क्षेत्रमा महत्वपूर्ण मूर्तिहरू बेवारिसे अवस्थामा छन् । ती मूर्ति जुनसुकै बेला पनि चोरी हुनसक्ने जोखिम छ । तर यसको संरक्षणतर्फ सरोकारवालाको ध्यान पुगेको छैन ।
पुरातत्व विभागमा हरेक वर्ष दुईदेखि तीन वटासम्म मूर्ति चोरीको उजुरी पर्ने गरेको सुवेदी बताउँछिन् । पुरातत्वले उक्त उजुरीलाई प्रहरीमा पठाउने गर्छ । तर प्रहरीले पनि एकाधबाहेक मूर्ति चोरीको मुद्दामा दोषी पक्रन सकेको छैन ।
बाङ्देलको संग्रहमा हराएका २२७ मूर्ति
झण्डै तीन दशकअघि लैनसिंह बाङ्देलले हराएका मूर्तिहरूको सूची तयार पारेर प्रकाशित गरेको ‘स्टोलन इमेजेज् अफ नेपाल’ नामक पुस्तक प्रकाशित हुँदासम्म २२७ वटा मूर्ति हराएको पुस्तकमा उल्लेख छ ।
तीमध्ये अधिकांश मूर्तिहरू अहिले पनि नेपालमै कसैले लुकाएर राखेका छन् कि सीमा कटाइसकिएको छ भन्ने यकिन छैन । तर बाङ्देलले संकलन गरेको हराएका मूर्तिहरूको विवरणलाई आधार मान्ने हो भने धेरै महत्वपूर्ण मूर्तिहरू अहिले हामीसँग छैनन् ।
लैनसिंह बाङ्देलले तयार पारेको हराएका मूर्तिहरूको सूचीमा दोस्रो शताब्दीदेखि अठारौं शताब्दीसम्मका मूर्तिहरू समावेश छन् ।
जस्तै, पशुपतिको वत्सलेश्वरीमा रहेको नारी शक्तिको मूर्ति १९६० को दशकमा हरायो । जुन दोस्रो वा तेस्रो शताब्दी इसाको मूर्ति मानिएको छ ।
पशुपतिकै भुवेश्वरी मन्दिर क्षेत्रबाट सन् १९८६ मा हराएको उभिएको मुद्रामा रहेका विष्णुको मूर्ति अहिले कहाँ छ, जानकारी छैन । बाङ्देलले यसलाई पाँचौं शताब्दीमा कुँदिएको मूर्ति मानेका छन् ।
सातौं शताब्दीको मूर्ति मानिएको चाबहिल स्तुपामा रहेको नागराजको मूर्ति पनि १९७० सालमा चोरी भएको थियो । यी केवल चोरी भएका प्राचीन एवं लिच्छविकालीन मूर्तिहरूको उदाहरण मात्रै हुन् । यस्तै २५० भन्दा बढी मूर्तिहरूको सूची उनले आफ्नो पुस्तकमा समावेश गरेका छन् ।
बाङ्गदेलले पुस्तक प्रकाशन गरेपछि अहिलेसम्म कति मूर्तिहरू हराए भन्ने यकिन छैन । मूर्ति हराएपछि आएको उजुरीलाई आधार मानेर पुरातत्व विभागले तथ्यांक तयार पारे पनि सबै मूर्ति हराएको बारेमा उजुरी नआउने भएकोले तथ्यांक पाउन मुस्किल छ । सुवेदी बाङ्गदेलले हराएको भनेका मूर्तिहरूमध्ये अहिलेसम्म एकतिहाइ पनि नभेटिएको बताउँछिन् ।
सन् १९६० देखि ८० को दशकमा नेपालबाट झण्डै ५०० को हाराहारीमा प्राचीन एवं त्यसपछिका विभिन्न कालखण्डका मूर्तिहरू हराएको विभागको आकलन छ । हराएकामध्ये धेरै मूर्तिहरू १० औं शताब्दीदेखि १५ औं शताब्दीको बीचमा बनेका छन् ।
विदेशबाट फिर्ता भएका हराएका मूर्ति
पुरातत्व विभागका अनुसार २०५१ सालमा अमेरिकाबाट फिर्ता आएका थप ४० वटा मूर्ति राष्ट्रिय संग्रहालयमा राखिएको छ ।
चोेरी गरी जर्मनी पुर्याइएका उमा महेश्वरको मूर्ति जर्मन सरकारले २०५६ सालमा फिर्ता गर्यो । अहिले सो मूर्तिलाई पाटन संग्रहालयमा सुरक्षित राखिएको छ । उक्त मूर्ति धुलिखेलबाट हराएको १२ औं शताब्दीको मूर्ति हो ।
त्यस्तै, २०५९ सालमा अस्ट्रियाबाट फिर्ता भएको दीपंकर बुद्धको मूर्ति पनि अहिले सम्बन्धित ठाउँमा राखिएको छ । २०५६ साल भदौ २५ गते अमेरिकाको म्युजियमबाट फिर्ता भएको गरुडासन विष्णुको मूर्ति काठमाडौंको जैसीदेवलबाट चोरी भएको थियो । सो मूर्ति पनि अहिले फिर्ता भएको विभागको क्युरियो शाखाले जनाएको छ । यसबाहेक पाटनको किलबहालबाट चोरी भएको बुद्धको मूर्तिहरू पनि प्राप्त भएको छ ।

फर्पिङबाट चोरी भएको वा हराएको सरस्वती, पनौतीबाट चोरी भएको वा हराएको सूर्य आदिको मूर्ति सम्बन्धित देशबाट फिर्ता गरेर राष्ट्रिय संग्रहालयमा राखिएको छ ।
२०५३ साल असार १० गते बेलायतबाट फिर्ता भएका १९ थान मूर्ति हाल राष्ट्रिय संग्रहालयमा राखिएको छ । डोल्पा जिल्लाको यन्सेर जांचुमलिं गुम्बाबाट चोरी भई ल्हासा तिब्बतबाट बरामद भएको जम्मा २८ थान मूर्तिहरू फिर्ता गरेर राष्ट्रिय संग्रहालयमा पठाएको र संग्रहालयबाट पुनः डोल्पामा पठाइएको छ । जुन मिति २०६४ असार १३ गते फिर्ता भयो ।
२०७४ साल चैत २१ गते अमेरिकाको द मेट्रोपोलिटन म्युजियम अफ आर्ट नेटवर्कमा रहेको कालो प्रस्तरको बुद्धको मूर्ति (स्थानक) एक थान र प्रस्तरको उमामहेश्वरको मूर्ति एक थान पुरातत्व विभागलाई फिर्ता गरी सोही दिन राष्ट्रिय संग्रहालयमा पठाइएको छ ।
२०७४ साल असार २ गते पुरातत्व विभागमा प्राप्त हुन आएको लेरी एलेन इन्नेरिचको व्यक्तिगत संग्रहमा रहेको ४ थान मूर्ति उनको मृत्युपछि इच्छापत्र अनुसार अमेरिकाबाट फिर्ता आएको थियो । ती चार मूर्तिमा एउटा १५ औं शताब्दीको चरेस (ब्रोन्च) बाट बनेको बुद्धको मूर्ति, १५ औं शताब्दीको अमोघपाणि लोकेश्वरको मूर्ति, १६ औं शताब्दीमा बनेको अमोघपाणि लोकेश्वरको चरेसको मूर्ति र १७ औं शताब्दीको मञ्जुश्रीको मूर्ति अमेरिकाबाट फिर्ता भएको विभागले जनाएको छ ।
कसरी हराउँछ मूर्ति ?
नेपालमा अलपत्र अवस्थामा छाडिएका सयौं वर्ष पुराना मूर्तिहरू विदेशमा लाखौं डलरमा बिक्री हुने भएपछि मूर्ति तस्करी गर्ने गिरोहले चोरी गर्ने गरेको विभागको निष्कर्ष छ ।
यस्ता ऐतिहासिक मूर्तिहरू वैधानिक रूपमा खरिद बिक्री हुँदैनन् । त्यसैले चोरीको बाटोबाट विदेश पुर्याउनको लागि अन्तर्राष्ट्रिय गिरोह नै सक्रिय रहेको देखिन्छ ।

जनश्रुतिलाई आधार मान्ने हो भने मूर्ति चोरीको लागि सम्पदा तस्करहरु रातमा क्रेन नै लिएर आउने गरेका र स्थानीयले होहल्ला गरेपछि मूर्ति चोरी हुनबाट जोगिएको भन्ने भनाइहरू भक्तपुरलगायत क्षेत्रमा सुन्न पाइन्छ । धेरै मूर्तिहरू चोरी गर्नै लाग्दा स्थानीयले प्रतिकार गरेका उदाहरण समेत धेरै छन् ।
झण्डै १५०० वर्ष पुरानो धुम्रबराह (हाल धुम्बाराही भनिने) मन्दिरभित्रको कालो एवं चिल्लो परेको बराहको मूर्ति केही वर्षअघि चोरीको असफल प्रयास भएको थियो ।
मध्यरातमा मूर्ति चोरी गर्न आउने गिरोहलाई स्थानीयले हल्लाखल्ला गरेर भगाएपछि बराहको मूर्ति त जोगियो तर बराहले बोकेको पृथ्वीमाताको मूर्ति भने चोरले फुटाएर लग्यो । न त त्यो मूर्ति भेटियो न त चोर नै भेटियो ।
गत असोज २० गते प्रहरीले जुम्लाको खलंगास्थित ऐतिहासिक चन्दननाथ मन्दिरबाट मूर्ति चोरी गर्ने दुई जनालाई चार वर्षपछि पक्राउ गर्यो । २०७३ साल मंसिरमा चोरी भएको उक्त मूर्ति विदेश नपुगिसकेकोले सहजै फिर्ता भयो ।

पुरातत्व विभागका अधिकारीहरू अस्तव्यस्त रुपमा रहेका मूर्तिको व्यवस्थापन हुन नसक्नु नै चोरीको मुख्य कारण रहेको बताउँछन् । मूर्तिलाई लेभलिङ गरेर निकासीको लागि प्रमाणित गर्ने पुरातत्व विभागको क्युरियो शाखाकी प्रमुख सुवेदी मूर्ति चोरी गरेर विदेशमा बेच्ने गिरोह नेपालबाट सीधै नभई भारतको बाटो भएर तेस्रो मुलुक जाने गरेको हुनसक्ने अनुमान सुनाउँछिन्।
नेपालबाट विभिन्न मूर्तिको रेप्लिका विदेश लैजाँदा विभागले सम्बन्धित मूर्ति निकासीको प्रमाणपत्र दिने र त्यसमा सिलबन्दी गरेर मात्रै पठाउने गरिन्छ । विश्वभरको संग्रहालयको नियम अनुसार कुनै पनि मुलुकमा संग्रहित सामग्रीको रेप्लिका (उस्तै गरी तयार पारिएको नयाँ प्रति)लाई सम्बन्धित निकायले प्रमाणित गरेपछि मात्रै अर्काे संग्रहालयमा संग्रहित गर्न सकिन्छ ।
त्यसमा पनि स्पष्टसँग कुन ठाउँमा रहेको मूर्तिको रेप्लिका हो भन्ने विवरण उल्लेख गरेर मात्रै संग्रहालयमा प्रदर्शन गर्न सकिने व्यवस्था छ । तर चोरी निकासी भएका मूर्तिहरू संग्रहालय सञ्चालनसम्बन्धी अन्तर्राष्ट्रिय नियमको समेत विरुद्ध हुने भएकोले यस्ता मूर्तिहरू प्रमाण पुगेको हदसम्म नेपाललाई नै फिर्ता गर्ने गरिएको पाइन्छ ।
प्रतिक्रिया 4