+

चोटलाई जितेर उत्कृष्ट बनेकी प्रतिभा माली

२०७७ चैत  २९ गते १८:२१ २०७७ चैत २९ गते १८:२१
चोटलाई जितेर उत्कृष्ट बनेकी प्रतिभा माली

२९ चैत, काठमाडौं । चोट, खेलको एउटा हिस्सा हो । तर कतिपय चोट यस्ता हुन्छन्, जसले खेलाडीको लोभलाग्दो करिअर नै तहसनहस बनाइदिन्छ । चोटलाई जितेर मैदान फर्किनेहरूलाई पनि पुरानै लयमा आउन कठिन हुन्छ ।

तर घुँडाको चोटलाई जितेर कोर्ट फर्किएकी प्रतिभा मालीले भने न्यू डामयण्डलाई एनभीए क्लब लिगको उपाधि मात्र जिताइनन्, उत्कृष्ट खेलाडी पनि बनेकी छन् ।

१३ वर्षको उमेरमै नेपालको राष्ट्रिय टीममा डेब्यु गरेकी ओपन स्पाइकर प्रतिभा माघ २०७६ मा एनभीए राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपको फाइनल खेलका क्रममा घाइते भएकी थिइन् । त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको त्यो खेलमा उनको टीम (न्यू डायमण्ड) पनि एपीएफसँग पराजित भयो ।

एनभीए राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपमा त्रिभुवन आर्मीसँग खेल्दै न्यू डायमण्ड

ठूलो चोट होला भनेर सोचेकै थिइनँ

प्रतिस्पर्धात्मक फाइनल खेलमा स्पाइकपछि ल्याण्ड गर्दा प्रतिभाको घुँडामा चोट लागेको थियो ।

यद्यपि उनी अझै आफ्नो खेलप्रति सन्तुष्ट छैनन् । ‘म इन्जुर्ड छु, खेल्न सक्दिनँ भन्ने त हुँदैन । तर फिजिकल्ली पहिला जस्तो बलियो छैन । त्यही कारण गेममा ट्राई गर्दागर्दै पनि मिस हुन्छ’ उनले आफ्नो खेलको आफैं समीक्षा गरिन्, ‘पहिला हरेक बलमा स्कोर गरिरहन्थें । अहिले स्कोर नहुँदा अलि नराम्रो लाग्छ ।’

लड्दा प्याट्ट साउण्ड आएकाले फ्याक्चर भयो भन्ने उनलाई लागेको थियो । ‘एक्सरे गर्दा हड्डी ठीक छ भनेपछि खुशी भएकी थिएँ । दुईचार दिनमै ठीक हुन्छ भन्ने लागेको थियो’ त्यो क्षण सम्झिंदै उनले भनिन्, एसिएल नै चुँडिएको थाहा भएन ।’

घुँडा सुन्निएकाले दुई दिनपछि एमआरआई गर्ने भन्दै उनलाई अस्पताल भर्ना गरियो । एमआरआई रिपोर्ट आएपछि चिकित्सकले ‘सानो अप्रेसन’ गर्नुपर्ने भयो भनेका थिए । ‘राम्रो हुन्छ भनेकाले अप्रेसन गर्ने भनेर मलाई एन्जाइटी थिएन’ प्रतिभा भन्छिन्, ‘अप्रेसन गरेपछि बल्ल ठूलो इन्जुरी रहेछ भन्ने चाल पाएँ ।’

यद्यपि उनले उपचारका क्रममा परिवार, चिकित्सक र शुभेच्छुकबाट राम्रो साथ पाइन् । ‘इन्जुर्ड भएँ, अब के गर्ने भन्ने अवस्था आएन । आर्थिक र भावनात्मक दुवै सपोर्ट पाएँ’ उनले भनिन्, ‘परिवारबाट एकदमै सहयोग मिल्यो । फ्यानहरूले पनि योङ छ्यौ, कमब्याक गर्न सक्छ्यौ भनेर निरन्तर सपोर्ट गर्नुभयो ।’

कोरोनाभाइरस–१९ को महामारी नियन्त्रणका लागि लकडाउन भएका कारण उनको कलेज पनि बन्द थियो । अरू खेलाडी पनि खेलबाट टाढा भएकाले उनले आफू धेरै पछाडि परेको दबाब महसुस पनि गर्नु परेन । लकडाउन हटेपछि उनी विस्तारै खेलमा फर्किइन् । न्यू डायमण्डकै खेलाडीहरूसँग अभ्यास गर्न थालिन् ।

गत पुसमा पोखरामा भएको मैत्रीपूर्ण खेलबाट पुनरागमन गरेकी प्रतिभाले पोखरामै टाइगर कप र नेपालगञ्जमा प्रधानमन्त्री कप भलिबल खेलिन् । हालै मात्र उनले १४ महीनाअघि जुन कोर्टमा चोट बोकेकी थिइन्, त्यही कोर्टमा प्रेरणादायी प्रदर्शन गरिन् र नेपाल पुलिसलाई ३–२ को सेटमा हराउँदै न्यू डायमण्डलाई पाँचौं एनभीए क्लब लिग भलिबलको उपाधि दिलाइन् ।

प्रतिभा चोटबाट पूरै ठीक भइसकेकी छैनन् । टीमको तयारी पनि उस्तै थियो । १९ चैतमा ढोरपाटन स्पोर्टस् क्लबविरुद्ध उद्घाटन खेलका लागि त्रिपुरेश्वरस्थित कभर्डहलमा पुगेकी प्रतिभालाई १४ महीनाअघि आफूले व्यहोरेको चोट याद नआउने कुरै भएन । आफ्नो टीमकी अरुणा शाहीलाई घुँडामा चोट बोकेपछि पहिलो पटक कभर्ड हलमा आएको पनि सुनाएकी थिइन् । तर जब खेल शुरू भयो, उनले चोट र त्यसले दिएको पीडा बिर्सिइन् । ‘हामी जहिले पनि दबाबमा होइन, रमाइलो मानेर खेल्छौं । त्यो दिन पनि रमाइलो मानेर खेलें । इन्जुरीलाई दिमाखमा आउनै दिइनँ’, उनी भन्छिन् ।

तर त्रिभुवन आर्मीसँग ३–२ को सेटमा पराजित हुनु बाहेक सबै खेल जित्यो र आठ वर्षपछि लिगको उपाधि उचाल्यो । प्रतियोगिताभर स्पाइक, प्लेसिङ, सर्भिस सबैबाट राम्रो प्रदर्शन गरेकी प्रतिभा बेस्ट प्लेअर घोषित भइन् । पाँच सेटसम्म चलेको फाइनलमा प्रतिभा एक्लैले ४४ अंक स्कोर गरेकी थिइन् ।

एनभीए राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपमा एपीएफसँग खेल्दै न्यू डायमण्ड

यद्यपि उनी अझै आफ्नो खेलप्रति सन्तुष्ट छैनन् । ‘म इन्जुर्ड छु, खेल्न सक्दिनँ भन्ने त हुँदैन । तर फिजिकल्ली पहिला जस्तो बलियो छैन । त्यही कारण गेममा ट्राई गर्दागर्दै पनि मिस हुन्छ’ उनले आफ्नो खेलको आफैं समीक्षा गरिन्, ‘पहिला हरेक बलमा स्कोर गरिरहन्थें । अहिले स्कोर नहुँदा अलि नराम्रो लाग्छ ।’

आफू मात्र होइन, न्यू डायमण्डले नै प्रतियोगितामा सोचेजस्तो खेल्न नसकेको प्रतिभाको बुझाइ छ । टीमको प्रदर्शन अपेक्षा गरे जस्तो नहुनुको कारण खुलाउँदै उनले भनिन्, ‘कोभिडका कारण धेरै ग्याप भयो, ट्रेनिङ पनि राम्रो भएन ।’

तर कोरोनाको असर अरूलाई पनि भएकाले अरू टीममा पनि उस्तै समस्या देखिएको प्रतिभाले सुनाइन् ।

एशियन च्याम्पियनसिपमा राम्रो गर्ने लक्ष्य

क्लबलाई उपाधि दिलाएकी प्रतिभा राष्ट्रिय टीमको बन्द प्रशिक्षणको तयारीमा जुटेकी छन् । चीनमा हुने २०औं संस्करणको एभीसी एशियन वुमन्स भलिबल च्याम्पियनसिपका लागि वैशाख मध्यदेखि बन्द प्रशिक्षण शुरू हुँदैछ ।

एशियन च्याम्पियनसिपका लागि प्रतिभालगायत खेलाडी उत्साहित छन् । साग, सेन्ट्रल जोनमा राम्रो प्रदर्शन गरेको महिला भलिबल टीमले यो प्रतियोगितालाई अन्तर्राष्ट्रियस्तरमा अझ विस्तारित हुने अवसरका रूपमा लिएको छ । ‘हाम्रो नयाँ र युवा टीम छ । कम्बिनेसन पनि राम्रो भएकाले सबैजना धेरै उत्साहित छौं’ उनले भनिन्, ‘राम्रो खेल्ने हाम्रो लक्ष्य छ । मेरो पनि त्यही हो ।’

अब पाँच वर्ष खेल्छु

सात वर्षकै उमेरबाट भलिबलमा रमाउन थालेकी प्रतिभाले सन् २०१४ मा नेपालमै भएको दक्षिण एशियाली आमन्त्रण भलिबलमा राष्ट्रिय टीममा डेब्यु गरेकी हुन् । दुई पटक साग खेलिन् । पछिल्लो पटक नेपालले सागमा रजत पदक र सेन्ट्रल जोनमा स्वर्ण पदक जित्दा उनी टीमकी महत्वपूर्ण सदस्य थिइन् ।

१४ महीनाअघि घुँडामा चोट लागेपछि उत्कृष्ट लयमा रहेको करिअर के होला भन्ने थियो । तर उनले चोट नलागेको भए पनि भलिबलबाट बिदा त हुनुपथ्र्यो भनेर आफूलाई दह्रो बनाइन् र कोर्टमा उत्कृष्ट पुनरागमन गर्न सफल भएकी छन् ।

अब पाँच वर्ष खेल्ने उनको योजना छ । ‘फिजियोले धेरै वर्ष खेल्न सक्दिनौै भन्नुभएको छ । मेरो पनि धेरै खेल्ने योजना थिएन’ उनले भनिन्, ‘पाँच वर्ष खेल्ने योजना छ ।’

‘त्यसपछि पनि भलिबलबाट टाढा रहन सक्दिनँ’, कुराकानीको बिट मार्दै प्रतिभाले भनिन् ।

प्रतिभा माली भलिबल
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

वेबस्टोरिज

6 Stories
धेरै सपना देख्नु राम्रो होइन, किन ?

धेरै सपना देख्नु राम्रो होइन, किन ?

- अनलाइनखबर २०८१ असोज १० गते १८:१६
7 Stories
तपाईं ‘हाफ नेपाली’ हो ? भन्ने प्रश्नमा अदितीको यस्तो जवाफ

तपाईं ‘हाफ नेपाली’ हो ? भन्ने प्रश्नमा अदितीको यस्तो जवाफ

- अनलाइनखबर २०८१ असोज १० गते १७:५३
3 Stories
तीन तरिका, कसरी चिन्ने शुद्ध मह ?

तीन तरिका, कसरी चिन्ने शुद्ध मह ?

- अनलाइनखबर २०८१ असोज १० गते १७:३२
5 Stories
गर्भावस्थामा शारीरिक सम्बन्ध कति सुरक्षित ?

गर्भावस्थामा शारीरिक सम्बन्ध कति सुरक्षित ?

- अनलाइनखबर २०८१ असोज १० गते १७:२४
6 Stories
मकैको च्याख्ला उत्तम कि चामल ?

मकैको च्याख्ला उत्तम कि चामल ?

- अनलाइनखबर २०८१ असोज १० गते १४:४१