काठमाडौं । चर्च ब्वाइज युनाइटेड शहीद स्मारक सी डिभिजन लिग फुटबलको च्याम्पियन बन्दै बी डिभिजनमा बढुवा भएको छ ।
यस्तै वीरगन्ज युनाइटेड दोस्रो र सामाजिक युवा क्लब तेस्रो हुँदै चर्च ब्वाइजसँग बी डिभिजनमा उक्लेका छन् ।
लिगअन्तर्गत सोमबार भएको सुपर सिक्सको अन्तिम लिग खेलमा झापा फुटबल क्लबलाई २-१ ले पराजित गर्दै चर्च ब्वाइजले उपाधि जितेको हो । चर्च ब्वाइजले १० अंक जोड्दै उपाधि जितेको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा चर्च ब्वाइजलाई जित दिलाउन रिजन माझी र सोम थापाले एक-एक गोल गरे । झापाका श्यामु मुर्मुले एक गोल फर्काए ।
चर्च ब्वाइजका रिजनले २०औं मिनेटमा सोमले २७ औं मिनेटमा गोल गरेका थिए । पहिलो हाफको इन्जुरी समयमा झापाका श्यामुले एक गोल फर्काए ।
झापालाई बी डिभिजनमा बढुवा हुन जित आवश्यक थियो । तर झापाले जित निकाल्न सकेन ।
यस्तै खालीबारी युथ क्लबलाई ३-१ ले पराजित गर्दै वीरगन्ज दोस्रो भयो । वीरगन्ज युनाइटेडको जितमा सन्दीप चौधरी, विवेक चौधरी र इमान लामाले गोल गरे । खालीबारीका चतुर्धन चौधरीले एक गोल फर्काए ।
अर्को खेलमा सामाजिक युवा क्लबले वीरगंज युथ एकेडेमीलाई १-० ले हरायो । सामाजिकको जितमा प्रविनकुमार खवासले निर्णायक गोल गरे ।
च्याम्पियन चर्च ब्वाइजले उपाधिसहित १० लाख प्राप्त गर्दा दोस्रो भएको वीरगन्ज युनाइटेडले ७ लाख र तेस्रो भएको सामाजिक युवा क्लबले ४ लाख रुपैयाँ हात पारेको छ ।
च्याम्पियन चर्च ब्वाइजका सनम राई उत्कृष्ट डिफेन्डर, चर्च ब्वाइजकै साइमान लिम्बु उत्कृष्ट मिडफिल्डर घोषित भए ।
वीरगन्ज युनाइटेडका दिल मनि चौधरी उत्कृष्ट गोलकिपर र वीरगन्ज युनाइटेडकै विवेक चौधरी उत्कृष्ट फरवार्ड चुनिए ।
सामाजिक युवा क्लबका सन्दिप खड्का उत्कृष्ट प्रशिक्षक बने । उनीहरु सबैले २५–२५ हजार रुपैयाँ प्राप्त गरे । फेयर प्ले पाएको झापाले ५० हजार रुपैयाँ प्राप्त गर्यो ।
प्रतिक्रिया 4