Comments Add Comment

प्राज्ञहरुले देखेको विश्वविद्यालय सपना

प्रस्तावित नेपाल विश्वविद्यालयको गुरुयोजनाको स्केच । स्रोत : विश्वविद्यालयकै वेबसाइट

इनारभित्रबाट देखाइने आकाशको सानो टुक्रा होइन, पहाडको टुप्पोबाट संसारलाई सूक्ष्म ढंगले विश्लेषण गर्न सक्ने शिक्षाको खाँचो छ । यसको अभावपूर्ति गर्नुपर्ने हो विश्वविद्यालयहरूले । तर नेपालमा अहिले भएका विश्वविद्यालयलाई जति सुधार गरे पनि यो अवस्था निर्माण हुने नदेखिएपछि प्राज्ञहरू यस्तै विद्यालय स्थापनाका लागि कस्सिएका छन् ।

युनिभर्सिटी अफ म्यासाचुसेट्सबाट वातावरण विज्ञानमा विद्यावारिधि डा. उत्तमबाबु श्रेष्ठ गत साता नवलपरासीको गैंडाकोटमा भेटिए । हार्वर्ड युनिभर्सिटी, युनिभर्सिटी अफ म्यासाचुसेट्स, युनिभर्सिटी अफ मेन अमेरिकाका साथै टेक्निकल युनिभर्सिटी अफ म्युनिख जर्मनीलगायत सातवटा विश्वविद्यालयमा प्राध्यापन र अनुसन्धानमा संलग्न श्रेष्ठसँगै थिए सार्वजनिक नीति तथा पूर्वाधार विज्ञ डा. सूर्यराज आचार्य ।

गैंडाकोट नगरपालिकाका १८ वडाका प्रतिनिधि, स्थानीय बुद्धिजीवी र नागरिक अगुवाबीच प्रस्तावित नेपाल विश्वविद्यालय स्थापनाको छलफल चलिरहेको थियो । छलफलको नेतृत्व प्रस्तावित नेपाल विश्वविद्यालयका परिकल्पनाकार प्रा. डा. अर्जुन कार्कीले गरेका थिए ।

थाइल्याण्डको एशियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी) बाट स्रोत व्यवस्थापनमा स्नातकोत्तर आचार्यले जापानको टोकियो विश्वविद्यालयबाट ‘पूर्वाधार र क्षेत्रीय विकास’मा विद्यावारिधि गरेका छन् । आचार्य नेपाल फर्किनुअघि जापानको भौतिक पूर्वाधार मन्त्रालयसँग सम्बद्ध ‘पोलिसी थिङ्क ट्याङ्क’ मा वरिष्ठ अनुसन्धानकर्ता र टोकियो विश्वविद्यालयमा अतिथि प्राध्यापकका रूपमा कार्यरत थिए ।

४० वर्ष त्रिभुवन विश्वविद्यालयमा पढाएका चैतन्य मिश्र विश्वविद्यालयले गुणस्तर सुधार्न नसकेको देखेर चिन्तित थिए । केही नयाँ गर्ने सोचिरहेका बेला डा. कार्कीले उनलाई भिन्न अवधारणासहितको विश्वविद्यालयको परिकल्पना सुनाए । नेत्र चिकित्सक डा. सन्दुक रुइत, मुटु शल्यचिकित्सक डा. भगवान कोइराला, डा. देवेन्द्रराज पाण्डे र पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले पनि उक्त परिकल्पना मन पराए ।

समाज अध्येता प्रत्यूष वन्त, क्यानडामा पढेर नेपाल फर्किएका इन्जिनियर प्रमोद ढकालदेखि चिकित्सक अनुप सुवेदी पनि अभियानमा छन् । केदारभक्त माथेमा, शिक्षाविद् डा. अमिना सिंह, डा. दोभान राई, भौतिकशास्त्री डा. असिम ढकाल र वैज्ञानिक वसन्त गिरीलगायत विज्ञ पनि यो अभियानका हिस्सा हुन् । यो अभियानमा नेपाली मूलका र विदेशी प्राध्यापकसमेत जोडिने क्रम जारी रहेको डा. कार्की सुनाउँछन् ।

प्राध्यापक तथा अधिवक्ता डा. विपिन अधिकारी पनि विश्वविद्यालय निर्माणको अभियानमा जोडिएका छन् । काठमाडौं युनिभर्सिटी स्कूल अफ लको डीनको जिम्मेवारी सम्हालिसकेका उनले संवैधानिक कानूनमा विद्यावारिधि गरेका छन् । नेपालको शिक्षा प्रणाली क्रमबद्ध रूपमा विकास नभएको चिन्ता उनको छ ।

नेपालको संविधान निर्माणमा भूमिका खेलेका अधिकारीले संवैधानिक कानूनको विषयमा २२ वटा पुस्तक लेखेका छन् ।

विश्वस्तरको विश्वविद्यालयबाट विद्यावारिधि गरेका प्राज्ञहरूलाई विश्वविद्यालय कस्तो हुनुपर्छ, त्यहाँबाट उत्पादित जनशक्तिले राष्ट्रलाई कस्तो योगदान दिन्छन्, उनीहरूको विचार, दृष्टिकोण र व्यवहार कुन अर्थमा फरक हुन्छ भन्ने ज्ञान हुन्छ ।

डा. कार्कीका अनुसार हाम्रो देशको विश्वविद्यालयको बेथितिले त्यस्ता प्राज्ञहरूलाई निराश पारेको छ । यस्ता बेथिति देख्दादेख्दै नदेखे झैं गर्नु भनेको आफ्नो समाज र पछिल्लो पुस्तालाई नै धोका दिनु हो भन्ने सामूहिक ठहरले नै विश्वविद्यालयको परिकल्पना भएको हो ।

‘युवा पुस्ता गलत मूल्यमान्यताबाट ग्रसित भएकाले उनीहरूले योगदान गर्ने त परै जाओस् आफैं दुःख पाउने परिस्थिति भएकाले यो अवस्था सुधार गर्न कोही न कोही आउनै पर्छ भनेर हामी आएका हौं’, कार्की विश्वविद्यालय परिकल्पनाको पृष्ठभूमि सुनाउँछन् ।
           

***

डा. कार्कीका अनुसार बौद्धिकहरूको टीम जुटेर विश्वविद्यालय अवधारणाको विषयमा पटक-पटक छलफल गरेपछि जग्गा खोज्ने काम शुरू भयो । उनीहरूको अभियान थाहा पाएका केही राजनीतिज्ञले आफ्नो ठाउँमा जग्गा उपलब्ध गराइदिने प्रस्ताव समेत गरे । तर, प्राज्ञहरूको टीमले प्रस्ताव स्वीकार गरेन । त्यहीबेला नवलपरासी जिल्लाको गैंडाकोट नगरपालिकाले प्राविधिक विद्यालय स्थापना गर्न पहल गरिरहेको कार्कीको टीमले थाहा पायो । त्यो २०७४ सालको कुरा हो ।

प्रस्तावित नेपाल विश्वविद्यालयबारे परामर्श गोष्ठीमा छलफल गर्दै सहभागीहरु ।

गैंडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलका अनुसार यो सपना त्यहाँका स्थानीयले २०७२ सालमा देखेका थिए । विश्वविद्यालय पढेका तर बेरोजगारहरू बढेपछि सीपमूलक शिक्षा दिन प्राविधिक विद्यालय स्थापना गर्ने गैंडाकोट नगरपालिकाले तयारी गरेको थियो । तर छलफलको क्रममा प्राविधिक विद्यालय होइन विश्वविद्यालय नै स्थापना गर्ने सोच विकसित भयो । त्यसको लागि स्थानीय जनप्रतिनिधि सम्मिलित कार्यदल बनाएर सम्भाव्यता अध्ययन नै शुरू गरिएको थियो । सो विश्वविद्यालयको सम्भाव्यता अध्ययनको प्रतिवेदन हस्तान्तरण समारोहमा गैंडाकोटका नगरप्रमुख पौडेल र डा. कार्कीको पहिलो भेट भएको थियो ।

‘डा. कार्कीलगायत प्राज्ञहरू नयाँ विश्वविद्यालय बनाउने योजनामा हुनुहुँदोरहेछ, हाम्रो योजना सुनाएपछि सहकार्य गरेर अघि बढ्ने निष्कर्ष निस्क्यो । त्यसपछि उहाँहरू कानूनी प्रक्रिया मिलाउन लागिरहनुभएको छ, हामी जग्गा निर्क्योल गर्न लागिरहेका छौं’, नगरप्रमुख पौडेल विश्वविद्यालयको शुरुआतदेखि अहिलेसम्मको विकासक्रम सुनाउँछन् ।

उद्देश्य र सोच एउटै भएकाले सहकार्य सम्भव भएको कार्की बताउँछन् । ‘संयोग र सोच यस्तो मिल्यो कि न उहाँहरूले हामीलाई खोज्दै आउनुपर्‍यो, न हामी नै उहाँहरूलाई खोज्दै गएका थियौं’, कार्की भन्छन् ।

‘फेरि अर्को विश्वविद्यालयको आवश्यकता किन पर्‍यो त ?’

विसंगतिपूर्ण शिक्षा प्रणालीको विकल्प भित्री मनैबाट महसूस गरेर विश्वविद्यालय निर्माण अभियानमा जोडिएको बताउँदै आचार्य भन्छन्, ‘पुरानो विश्वविद्यालयलाई विसङ्गत राजनीतिले गिजोलिसक्यो, अब सामान्य प्रयासले त्यहाँ सोचेजस्तो सुधार सम्भव नहुने भएकाले उच्चकोटिको नयाँ विश्वविद्यालयको आवश्यकता छ ।’

देशलाई चाहिने जनशक्ति समाज र संस्कृति बुझेको हुनुपर्छ । अहिलेको शिक्षा प्रणालीले निश्चित विषयको मात्र ज्ञान दिने भएकाले

प्रस्तावित नेपाल विश्वविद्यालयले विकास र राष्ट्रका समस्या समाधानको लागि सभ्य बहस गर्न सक्ने आलोचनात्मक चेतसहितका विज्ञ जनशक्ति उत्पादन गर्नेछ

नेपालका अधिकांश प्रणाली असफल भएको पूर्वाधारविज्ञ आचार्यको भनाइ छ । विद्यमान विश्वविद्यालयले आलोचनात्मक चेत भएका जनशक्ति उत्पादन नगरेका कारण नेतृत्व तहमा भएका मानिसले राम्रो परिणाम दिन नसकेको आचार्य बताउँछन् । उनको विचारमा विश्वविद्यालयले उत्पादन गरेका जनशक्तिले विकासको योजना बनाउँदा होस् या कुनै ऐन कानून बन्दै गर्दा बहस गरेर निचोड दिन सक्नुपर्छ । उच्चस्तरीय बौद्धिक वर्ग र विज्ञता भएको जनशक्ति तयार पार्ने प्रस्तावित नेपाल विश्वविद्यालयको अवधारणा रहेको उनको भनाइ छ ।

आचार्य यतिबेला विश्वविद्यालयको लागि पाठ्यक्रम बनाउने र अन्तर्राष्ट्रिय विश्वविद्यालयका प्राज्ञहरूसँग सम्पर्क बढाउने काम गरिरहेका छन् । प्राज्ञहरूको एउटा टोलीले नेपालको राजनीति, विकास र समाजमा देखिएको ‘ग्याप’ लाई मेटाउने विषयवस्तु राखेर पाठ्यक्रम तयार गरिरहेको छ । डा. आचार्य भन्छन्, ‘हाम्रो विश्वविद्यालयले विकास र राष्ट्रका समस्या समाधानको लागि सभ्य बहस गर्न सक्ने आलोचनात्मक चेतसहितका विज्ञ जनशक्ति उत्पादन गर्नेछ ।’

पठनपाठन उत्कृष्ट नभएको अवस्थामा उत्कृष्ट विद्यार्थी उत्पादन गर्न नसकिने प्राध्यापक मिश्रको अनुभव छ । शिक्षाको गुणस्तर छिमेकी मुलुकको भन्दा कमजोर हुँदै गइरहेकाले एउटा उच्चकोटिको विश्वविद्यालयको आवश्यकता उनले देखेका हुन् । उनका अनुसार छिमेकी मुलुक शक्तिशाली बन्दै जाँदा सानो मुलुकलाई अनेक विधि र माध्यमबाट थिचोमिचो गर्ने क्रम बढ्छ । त्यस्तो अवस्थामा अध्ययन अनुसन्धानबाट खारिएका आलोचनात्मक चेत भएका जनशक्तिले मात्रै वस्तुगत बहसबाट समस्या समाधान गर्न देशलाई सहयोग गर्नेछन् । अहिले राजनीतिज्ञहरूमा नै सभ्य बहसको चेत नभएकाले विभिन्न विषयमा छिमेकी देशहरूले थिचोमिचो गरिरहेको उनी दाबी गर्छन् ।

‘हाम्रो बौद्धिक धरातल कमजोर भयो भने विदेशीका अनेक स्वार्थ बुझ्न र विश्लेषण गरेर त्यसलाई रोक्न हामी असमर्थ हुन्छौं’, मिश्र नयाँ विश्वविद्यालयको औचित्य प्रष्ट्याउँछन् ।

कुनै एउटा विषयविज्ञ भएर जुनसुकै क्षेत्रमा काम गरे पनि उसलाई समाज, इतिहास, राजनीति र अर्थतन्त्रको बारेमा थाहा हुनुपर्ने मिश्रको निचोड छ । चैतन्य मिश्रको बुझाइमा इनारभित्रबाट आकाशको सानो टुक्रा देखाएर संसार यही हो भन्ने हाम्रो शिक्षा प्रणालीको ठूलो कमजोरी हो । अबको शिक्षाले पहाडको टुप्पोमा पुर्‍याएर चील झैँ हावामा कावा खाँदै समग्र पाटो हेरेर सूक्ष्म विश्लेषण गर्न सक्ने क्षमता विकास गर्न सक्नुपर्छ । उनका अनुसार नेपाल विश्वविद्यालयमा चार वर्षमध्ये दुई वर्ष जे विषय पढ्न आएको हो त्यही पढाउने र बाँकी दुई वर्ष विभिन्न क्षेत्रमा गएर काम गर्न आवश्यक र उपयोगी ज्ञान दिइनेछ ।

वातावरणविज्ञ डा. उत्तमबाबु श्रेष्ठ हाम्रो विश्वविद्यालयले अनुसन्धान विना कोरा सिद्धान्त मात्र पढाएकाले गुणस्तरीय ज्ञान उत्पादन नभएको गुनासो गर्छन् । यो अभियानमा लागेका व्यक्तिहरू अब्बल र निष्कलंक छवि भएकाले उनी अभियानमा जोडिएको सुनाउँछन् ।

अब कुनै पनि क्षेत्रको नेतृत्व गर्ने मानिस एउटा विषयको विज्ञको साथै अन्य विषयको जानकार हुनुपर्छ । समाजमा देखिएका समस्याहरू एक अर्को विषयमा जेलिएका हुने भएकाले पनि शिक्षा बहुआयामिक हुनुपर्ने श्रेष्ठको धारणा छ ।

श्रेष्ठको कुरामा सहमति जनाउँदै मिश्र प्रष्ट्याउँछन्, ‘जस्तो कि कोभिड-१९ उत्पत्तिको कारण खोतल्नुपर्‍यो भने त एउटा विषयविज्ञताले मात्र पुग्दैन । विश्वको इतिहास, पर्यावरणदेखि लिएर विज्ञान र समाजको ज्ञान हुनु आवश्यक छ ।’ ‘हाम्रो पढाइ सुगारटाइ मात्र भयो, हाम्रो शिक्षा प्रणालीकै कारण हामी सूचना विश्लेषण गरेर लेख्न सक्दैनौं । परीक्षा पास गर्नको लागि पढ्ने जमात बढेकाले शिक्षा प्रणाली ध्वस्त भयो’, मिश्र भन्छन् ।

***

आफ्नो पेसामा रमाइरहेको चिकित्सक विश्वविद्यालयको परिकल्पनाकार बन्नुपर्ने अवस्था किन आइलाग्यो त ?

केही समययता डा. कार्कीले यो प्रश्नको जवाफ दिइरहनुपरेको छ । उनी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति भएको समयमा चिकित्सक उत्पादन गर्ने प्रक्रियामा सरिक थिए । त्यो बेला उनले विद्यार्थीले प्राविधिक ज्ञान हासिल गरे पनि परिपक्व नभएको महसूस गरे । शिक्षाले विद्यार्थीलाई स्वस्थ संस्कार नदिएको अनुभूति भयो । त्यसपछि उनीभित्र शिक्षाको नमिलेको जग मिलाउन केही गर्नुपर्छ भन्ने भावना पलायो । त्यही सोच नै विश्वविद्यालय निर्माणको पृष्ठभूमि रहेको कार्की सुनाउँछन् ।

‘मेरो जस्तो सोच अरू धेरै प्राज्ञको पनि रहेछ, एक चरणको भेटघाट तथा छलफलबाट नै थुप्रै साथी यो अभियानमा सहभागी हुन तयार हुनुभयो’, डा. कार्की भन्छन् ।

विभिन्न देशका चर्चित विश्वविद्यालय र त्यहाँका प्राध्यापकहरूसँग छलफल गरेर गहन सोच, विचार उद्देश्यसहित अभियान शुरू भएको वातावरण विज्ञ श्रेष्ठ बताउँछन् ।

नेपालको शिक्षा प्रणालीले भाषा, धर्म, भूगोल, संस्कृति, साहित्य, संगीत जस्ता विषयलाई धेरै महत्व नदिएको प्रा.डा. अधिकारी बताउँछन् । बहुजातीय, बहुभाषी, आफ्नै धर्म-संस्कृति र फरक भौगोलिकता भएको देशमा यस्ता विषयवस्तु नपढाउँदा विकास र मौलिकतामा असर परेको उनको भनाइ छ । उनका अनुसार राजनीति भन्दा पर, नेपाल सरकारको विश्वास भएको तर बेग्लै बोर्ड अफ ट्रष्टीले यो विश्वविद्यालय सञ्चालन गर्नेछ ।

अहिले नेपाली विश्वविद्यालयहरूमा साँघुरो तहको सिकाइ मात्रै हुने भएकाले उदार किसिमको बौद्धिकता उत्पादन भएको छैन । यो विश्वविद्यालय स्वदेशी भाषा, संस्कृति, भूगोल, इतिहास, धर्म र परम्परा बुझेको जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित जन्मिएको हो

‘अर्थशास्त्र र भूगोल जस्ता देश बनाउन अति महत्वपूर्ण विषयहरू गतिलोसँग पढाइएन । त्यसैले विश्वविद्यालयको आवश्यकता भएको हो’, प्रा. अधिकारी सुनाउँछन् ।

नेपाल विश्वविद्यालयले विदेशी विश्वविद्यालयमा काम गरिरहेका नेपाली मूलका प्राध्यापकलाई देश फर्कन बाटो खोल्ने पूर्वाधारविज्ञ डा. आचार्य बताउँछन् । ‘विदेशमा राम्रो विश्वविद्यालयमा काम गरेर जीवनयापन गरिरहेका प्राज्ञहरू यहाँ राम्रो रोजगारी पाउने भएपछि सजिलै फर्कन्छन्’, आचार्य दाबी गर्छन् ।

सरकारी विश्वविद्यालय नमूना र अनुकरणीय हुन नसकेको अवस्थामा नेपाल विश्वविद्यालय त्यसको प्रतिक्रिया स्वरुपको परिकल्पना भएको आचार्यको तर्क छ । उनका अनुसार अहिले नेपाली विश्वविद्यालयहरूमा साँघुरो तहको सिकाइ मात्रै हुने भएकाले उदार किसिमको बौद्धिकता उत्पादन भएको छैन । यो विश्वविद्यालय स्वदेशको भाषा, संस्कृति, भूगोल, इतिहास, धर्म र परम्परा बुझेको जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित जन्मिएको हो ।

पुल्चोकको इञ्जिनियरिङ क्याम्पसबाट स्नातक र अमेरिकाको वरसेस्टर पोलिटेक्निक इन्स्टिटच्युटबाट कम्प्युटर साइन्समा विद्यावारिधि डा. दोभान राईले समाजशास्त्रमा स्नातकोत्तर पनि गरेकी छिन् । उनी पुल्चोक इञ्जिनियरिङ कलेज पढ्दै गर्दा देशमा माओवादी द्वन्द्व थियो तर त्यसको वस्तुगत पृष्ठभूमि दोभानलगायत धेरै विद्यार्थीलाई थाहा थिएन । त्यो समयमा कलेजले देशमा भइरहेको अवस्थाको ज्ञान नदिएको देख्दा उनलाई शिक्षा प्रणालीमा केही कमजोरी छ भन्ने महसूस भइरहेको थियो । विभिन्न विषय र फरक उमेर समूहका विज्ञहरू लिबरल आर्टलाई प्राथमिकता दिएर विश्वविद्यालय निर्माण अभियानमा लागेकाले आफू पनि हिस्सा बनेको उनी सुनाउँछिन् ।

‘अब प्रविधि पढ्ने विद्यार्थीले पनि समाज विज्ञान या अर्थ-राजनीति पनि पढ्नुपर्छ, समाज विज्ञान पढ्नेले पनि विज्ञान प्रविधि बुझ्नुपर्छ’, राई आफ्नो निष्कर्ष सुनाउँछिन् ।

युनिभर्सिटी अफ टेक्नोलोजीबाट शिक्षा विषयमा विद्यावारिधि गरेकी डा. अमिना सिंह शिक्षा रोजगार केन्द्रित  भएकाले शिक्षित बेरोजगार शब्द धेरै चर्चामा आएको बताउँछिन् । शिक्षा प्रणालीकै कारण विद्यार्थी पनि ज्ञानभन्दा प्रमाणपत्रमा बढी ध्यान दिन थालेको उनको बुझाइ छ । नेपालमा आलोचनात्मक ज्ञान उत्पादन गर्ने परिपाटी नहुँदा शिक्षा निराशलाग्दो भएको उनको भनाइ छ ।

‘विश्वविद्यालयभित्रै पनि अनेकथरी पूर्वाग्रह देखिन्छ, एकथरी ज्ञानलाई मात्रै ज्ञान मानेर वैधानिकता दिने र अर्कोथरी विचारलाई नसुन्ने चलन छ’, उनी शिक्षा प्रणालीमा भएको कमजोरी कोट्याउँछिन् ।

फिलिपिन्सको एङ्गलेस विश्वविद्यालयबाट व्यवस्थापनमा विद्यावारिधि डा. राजेन्द्र घिसिङ ललितपुरको जेम्स स्कूल स्थापनाको परिकल्पनाकार सदस्य हुन् । पछिल्लो चार वर्षयता उनी काठमाडौं वल्र्ड स्कूलमा आवद्ध थिए । उनले निजी शिक्षा क्षेत्रमा साढे दुई दशक काम गर्दा लगानीकर्ताले शिक्षामा लगानी गर्नुको उद्देश्य पैसा कमाउने मात्र देखे । सो कुराले उनलाई पहिलेदेखि नै सार्वजनिक शिक्षामा केही गर्नुपर्छ भन्ने लागेको थियो । यहीबेला उनको भेट प्रस्तावित नेपाल विश्वविद्यालयको योजनाकार डा. कार्कीसँग भयो । अवधारणा मन परेपछि आफू अभियानमा जोडिएको डा. घिसिङ सुनाउँछन् ।

‘देशका ७५ प्रतिशत विद्यार्थी सार्वजनिक विश्वविद्यालयमा पढ्छन् भने हामी किन विश्वविद्यालय सुधार्न नलाग्ने भनेर यता जोडिएका हौं, अब पनि शिक्षामा सुधार आएन भने हाम्रो २० वर्षपछिको समाज कता जाला ?’ उनी अभियानमा जोडिनुको कारण सुनाउँछन् ।

विश्वविद्यालयमा ठूल्ठूला अनुसन्धानका काम हुनुपर्ने भौतिकशास्त्री डा. असिम ढकाल बताउँछन् । प्रस्तावित विश्वविद्यालयको अवधारणा र अनुसन्धानमा अब्बल व्यक्ति जोडिएकाले आफू पनि यसको हिस्सा बनेको उनको भनाइ छ ।

***

प्रस्तावित नेपाल विश्वविद्यालय नवलपरासीको गैँडाकोट नगरपालिकामा निर्माण गर्न प्रस्ताव गरिएको छ । यसका लागि जग्गा उपलब्ध गराउने जिम्मा गैंडाकोट नगरपालिकाले लिएको छ । गैंडाकोट नगरपालिकाका नगरप्रमुख पौडेलका अनुसार जग्गा निक्र्योल गर्न बनाइएको समितिले जग्गा हेरेर कानूनी प्रक्रिया पूरा गर्दैछ । र, डा. कार्कीको टीम विश्वविद्यालय निर्माणको लागि कानूनी प्रक्रिया पूरा गर्न लागिरहेको छ । विश्वविद्यालय सञ्चालनको लागि विकास समिति गठनको काम अन्तिम चरणमा पुगेको कार्की बताउँछन् ।

गत साता नवलपरासीको गैंडाकोटमा स्थानीय तहका प्रमुख र केन्द्रका प्राज्ञहरूबीच तेस्रो छलफल सम्पन्न भएको हो । गत कात्तिकमा विश्वविद्यालय अवधारणाको विषयमा सोही ठाउँमा भएको छलफलले निकालेको निष्कर्षबाट निर्माण भएको अवधारणा-पत्र मन्त्रिपरिषद्मा पेश भइसकेको छ । उक्त अवधारणापत्र मन्त्रिपरिषद्बाट पास भएपछि विश्वविद्यालय निर्माणले कानूनी बाटो खुल्ने डा. कार्की बताउँछन् ।

छलफल कार्यक्रममा उपस्थित जसरी उत्साहित थिए त्यसरी नै चिन्तित पनि । चिन्ता थियो, ‘हाम्रो ठाउँमा विश्वविद्यालय बन्ने त भयो तर हाम्रा छोराछोरी पढ्न सक्ने सहुलियतको हुन्छ कि हुँदैन ?’

नगरपालिकाका प्रतिनिधिको जिज्ञासामा पूर्वधारविज्ञ आचार्यले थपेका थिए, ‘यो विश्वविद्यालय नाफा कमाउने उद्देश्य लिएर स्थापना भइरहेको होइन, अन्य विश्वविद्यालयमा देखिने समस्या यहाँ देखिन्न ।’

फेरि जनप्रतिनिधिले जिज्ञासा राखे, ‘अन्य विश्वविद्यालयभन्दा यो अरू के के अर्थमा फरक हुन्छ ?’

‘यो सार्वजनिक र स्वायत्त हुन्छ, नाफा कमाउने उद्देश्यले सञ्चालन गर्न लागिएको हैन । मुख्य कुरो त के हो भने यसले अन्य कलेजलाई सम्बन्धन नदिने भएकाले व्यापारिक स्वार्थबाट मुक्त रहन्छ’, आचार्यले जवाफ दिए।

विश्वविद्यालय निर्माणको लागि स्थानीय तह, प्रदेश सरकार र केन्द्र सरकारले सहयोग गर्ने डा. कार्कीले जानकारी गराए ।

नगरप्रमुख पौडेलले थपे, ‘विश्वविद्यालय हाम्रो सपना र सोच हो, पूरा गर्न जुनसुकै सहयोग गर्न तयार छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment