Comments Add Comment

यी हुन् यो बर्षका हिट गीत

वि.सं २०७७ सालको आज अन्तिम दिन । कोरोनाका कारण यो बर्ष थुप्रै क्षेत्र थला परे । तर, लकडाउनपछि नेपाली सांगीतिक क्षेत्र भने चलमलायो । यो बर्ष ५ सय भन्दा बढी गीतहरु सार्वजनिक भए । तर, केही गीतले मात्र दर्शक तथा श्रोताको मन जिते । अधिकांश गीतमाथिको लगानी स्वाहा भयो भन्दा हुन्छ । हामीले, यहाँ युट्युब भ्यूज, बजारको चर्चा र स्तरीयताका आधारमा यो बर्षका उत्कृष्ट हिट गीत चयन गरेका छौं ।

यो वर्ष राजनराज सिवाकोटीको शब्द तथा संगीत रहेको ‘फुलबुट्टे सारी’बोलको गीत सर्वाधिक चर्चामा रह्यो । यस गीतको अनेक भर्सन निस्किए । पाँच महिना अगाडि सार्वजनिक ‘फुलबुट्टे सारी’ गीतको फिमेल भर्सनले युट्युबमा ४ करोड ८० लाख बढी भ्यूज पाएको छ । फिमेल भर्सनमा मिलन नेवारले स्वर दिएकी छन् भने पल शाह र मलिका महतले भिडियोमा अभिनय गरेका छन् ।

यो वर्ष चर्चामा रहेको अर्को गीत हो, ‘टाढा भएपनि’ । उर्गेन दोङको शब्द तथा संगीत र अस्मिता अधिकारीको स्वरमा सार्वजनिक ‘टाढा भएपनि’ले दुई महिनामा युट्युबमा २ करोड ५८ लाख भ्यूज पाएको छ । यो गीतको भिडियोमा पनि पल शाह र मलिका महतको अभिनय छ ।

लकडाउनको समयमा सार्वजनिक गीत ‘माया मारेर’ पनि दर्शकको मनमा बस्न सफल भयो । नरेश खातीको शब्द तथा संगीतमा, नरेश र समीक्षा अधिकारीको स्वर रहेको गीतले हालसम्म युट्युबमा १ करोड ७० लाख भ्यूज बटुलेको छ ।
यो वर्ष निकै चलेको अर्को गीत हो, ‘के माया लाग्छ र ?’ । हर्क साउदको शब्द, निशान भट्टराई र एलिना चौहानको स्वर रहेको गीतलाई स्रोता तथा दर्शकले निकै रुचाए । टिकटकमा समेत यो गीत निकै चर्चित बनेको थियो । यो गीतले युट्युबमा २ करोड बढी भ्यूज बटुलेको छ ।

चक्र बमको शब्द, संगीत र स्वरमा रहेको ‘ओए काजल’ पनि यो वर्षको चर्चित गीत हो । चक्र र गीता ढुंगानाको अभिनय रहेको गीतले २ करोड भ्यूज पाइसकेको छ ।

‘ए है माया’ बोलको गीत पनि यो वर्ष राम्रो चल्यो । सरोज ओलीको शब्द, दीपक शर्माको संगीत, मेलिना राई र सरोज ओलीको स्वरमा रहेको गीतले युट्युबमा २ करोड ६६ लाख भ्यूज पाएको छ । यसको भिडियोमा पल शाह, रियाशा दाहाल, सागर लम्साल, सुधिर श्रेष्ठको अभिनय छ ।

यो वर्ष चर्चामा रहेको अर्का गीत हो, ‘नबोली नबोली’ । प्रविन बेडवाल र समीक्षा अधिकारीको स्वरमा सार्वजनिक गीतले राम्रो चर्चा पाएको थियो । यस गीतमा शब्द तथा संगीत अर्जुन पोखरेलको छ । सुधिर श्रेष्ठ र गरिमा शर्मा अभिनित गीतको भिडियोको भ्यूज २ करोड नजिक छ ।

‘सोचे झै जिन्दगी रैनछ’ यो वर्षको अर्को हिट गीत हो । नेत्र अर्यालको शब्द, खेम सेञ्चुरीको संगीत, खेम र मधु क्षेत्रीको स्वर रहेको गीतले युट्युबमा १ करोड ४६ लाख बढी भ्यूज पाएको छ । यो गीतको भिडियोमा अञ्जली अधिकारी, ओबी रायमाझी, लोमश शर्मा, रुबिना अधिकारीको अभिनय छ ।

राष्ट्रकवि माधवप्रसाद घिमिरेको रचना, नारायण रायमाझीको संगीत, प्रविन बेडवाल र रचना रिमालको स्वरमा सार्वजनिक ‘उनको प्रीति’ बोलको गीतले पनि यसवर्ष राम्रो चर्चा पायो । गीतले हालसम्म १ करोड ७ लाख भ्यूज पाएको छ ।

‘देखेर तिमीलाई’ बोलको गीतलाई स्रोता÷दर्शकले उत्तिकै रुचाए । हर्क साउदको शब्द, सुजन चापागाँई र विद्या तिवारीको स्वर रहेको गीतको सबै पाटोलाई दर्शक तथा श्रोताले रुचाए । ८ महिना अगाडि सार्वजनिक यो गीतले युट्युबमा १ करोड ४३ लाख बढी भ्यूज पाएको छ ।

प्रकाश सपूत र अनिता चलाउनेको स्वरमा ‘फुटेका चुरा’बोलको गीतलाई पनि स्रोता तथा दर्शकले रुचाए । प्रकाशकै शब्द तथा संगीत रहेको गीतको भिडियोमा नम्रता श्रेष्ठ, प्रकाश सपूत, कविता नेपाली, अनिता चलाउने लगायतको अभिनय छ । गीतको भिडियोले युट्युबमा १ करोड ४ लाख बढी भ्यूज पाएको छ ।

प्रकाश सपूतको शब्द तथा संगीत, देवी घर्तीको स्वरमा ‘बदला बरीलै’ बोलको गीतले राम्रो चर्चा पायो । यसको अडियो र भिडियो दुबैलाई स्रोता तथा दर्शकले रुचाए । केकी अधिकारीको अभिनयमा सार्वजनिक भिडियोले युट्युबमा ८० लाख भ्यूज पाएको छ ।

दोहोरी गीत ‘पछ्यौरी लिसियो’लाई स्रोता तथा दर्शकले रुचाए । रविन लामीछानेको शब्द, अर्जुन सापकोटाको संगीत रहेको गीतमा समीक्षा अधिकारी, रविन लामिछाने र अर्जुन सापकोटाले स्वर दिएका छन् । युट्युबमा यो गीतले चार महिनामा १ करोड ८३ लाख बढी भ्यूज पाएको छ ।

यसवर्ष अर्को लोकदोहोरी गीत ‘झ्यालमा पर्दा छ’ले पनि राम्रो चर्चा पायो । नेत्र अर्यालको शब्द, खेम सेञ्चुरीको संगीतमा रहेको गीतलाई खेम र सुमन थापा मगरले गाएका छन् । सार्वजनिक भएको ६ महिनामा गीतको भिडियोले युट्युबमा १ करोड ४७ लाख बढी भ्यूज पाएको छ ।

पछिल्लो समय चर्चामा रहेको लोकदोहोरी गीत हो, ‘चौकादाउ’ । शान्तीश्री परियार र बाबुकृष्ण परियारको स्वर रहेको गीतलाई विजय चन्द दर्पणले रचना गरेका हुन् । गीतमा गायक बाबुकृष्णले नै संगीत भरेका छन् । सुनिल क्षेत्री र गीता ढुंगाना अभिनित गीतको भिडियोले सार्वजनिक भएको डेढ महिनामा १ करोड २२ लाख बढी भ्यूज पाएको छ ।

सरोज ओली र अस्मिता अधिकारीको स्वरमा रहेको ‘माया गरौंला’ बोलको गीतले पनि राम्रो चर्चा पायो । भिम विष्ट, जिवेश गुरुङ, एलिना चौहान र रचना रिमालको स्वर रहेको ‘मिनिरल वाटर’बोलको गीतलाई पनि स्रोता तथा दर्शकले रुचाए । यी दुबै गीतले युट्युबमा राम्रो भ्यूज पाए । त्यस्तै भ्यूज कम पाएपनि भूपू पाण्डे र मेलिना मैनालीको ‘छोटो छ जिन्दगी’ बोलको गीतको पनि चर्चा रह्यो । देबेन्द्र बब्लू र मेलिना राईको ‘म हाँसे हास्छेउ र ?’बोलको गीतलाई पनि स्रोता तथा दर्शकले रुचाए ।

यसवर्ष ‘रेलको बाटो’ बोलको गीत पनि चर्चामा रह्यो । कर्णालीको जनजिवनलाई उतार्ने प्रयास गरेको गीतले भ्यूज भने अपेक्षाकृत पाउन सकेको छैन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment