Comments Add Comment

महालक्ष्मीमा लिङ्गो उठाएसँगै बिस्काः जात्रा शुरु, मध्यपुरथिमिमा चार दिन बिदा

फाइल तस्वीर

३१ चैत, काठमाडौं । नयाँ वर्षको अवसरमा मध्यपुरथिमि नगरपालिकाले चार दिन सार्वजनिक बिदा दिएको छ ।

नयाँ वर्षमा यहाँ मनाइने ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको बिस्काः अर्थात् बिस्केट जात्रा स्थानीयवासीले मंगलबारदेखि भव्य रूपमा मनाउने भएपछि नगरपालिकाले पहिलोपटक चार दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

नगरपालिकाले विगतका वर्षमा वैशाख १ गते नयाँ वर्षको अवसरमा मात्रै बिदा दिंदै आए पनि गत वर्ष वैशाख १ र २ गते सार्वजनिक बिदा दिएको थियो । नगरपालिकाले यस वर्ष भने चैत ३१ गतेदेखि वैशाख ३ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए ।

‘हरेक नयाँ वर्षमा मध्यपुरथिमिमा भव्य रूपमा बिस्केट जात्रा मनाइन्छ, यहाँका स्थानीय बासिन्दाका लागि यो ठूलो चाडपर्व हो, यहाँ वैशाख २ गते ३२ खट जात्रा भव्य रूपमा सिन्दुर खेलेर मनाइन्छ, बोडेमा जिब्रो छेडेर ऐतिहासिक जात्रा मनाइन्छ,’ उनले भने, ‘बिदाको अभावमा यहाँका बासिन्दाले आफ्नै चाड पनि राम्रोसँग मनाउन नसक्ने अवस्था रहेकाले यस वर्षदेखि नगरपालिकाले चार दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।’

बिस्केट जात्रालाई विशेषगरी भक्तपुर जिल्लाभरका नेवार समुदायले ठूलो चाडका रूपमा मनाउने गर्दछन् । मठमन्दिरमा बलि पूजा गर्ने, विदेशमा रहेका आफन्त पनि बिस्केट जात्रा मनाउन घर आउने र आफ्ना सबै नातेदार, आफन्तलाई बोलाएर भोज खुवाएर नौ दिन आठ रातसम्म भव्य रूपमा मनाउने गरिन्छ ।

मंगलबार मध्यपुरथिमिको बोडेस्थित महालक्ष्मी मन्दिर अगाडि लिङ्गो उठाइएको छ । मध्यपुरथिमि नगरपालिकाका प्रमुख श्रेष्ठसहितको सहभागितामा स्थानीयवासीले लिङ्गो उठाएका हुन् । तान्त्रिक विधि पूरा गरी बिहान स्थानीयवासीले लिङ्गो उठाएपछि थिमि क्षेत्रको जात्रा एवं पर्व विधिवत रूपमा शुरु हुने, मठमन्दिरमा मेला लाग्ने र भोज शुरु हुने परम्परा छ ।

महालक्ष्मी मन्दिर अगाडि लिङ्गो उठाएर जिब्रो छेड्ने जात्राको साइत गरिएको हो । यस मन्दिर अगाडि लिङ्गो उठाएपछि जिब्रो छेड्ने जात्रा पनि शुरु भएको मानिन्छ ।

मध्यपुरथिमिमा बिस्केट जात्राको अवसरमा सिन्दुर जात्रा, विष्णुवीर जात्रा, रात्रिको चान्हेसिया जात्रा, सिद्धिकाली जात्रालगायतका जात्रा एवं पर्वहरु स्थानीयवासीले भव्य रूपमा मनाउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment