Comments Add Comment

गण्डकीको मुख्यमन्त्री कांग्रेसलाई दिन माओवादी केन्द्र तयार

नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपाली

१ वैशाख, पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्री नेपाली कांग्रेसलाई दिन माओवादी केन्द्र सहमत भएको छ । कांग्रेसबाट कृष्णचन्द्र नेपाली पोख्रेल मुख्यमन्त्री बन्ने सम्भावना छ ।

राष्ट्रिय जनमोर्चाले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध आउने अविश्वासको प्रस्तावमा समर्थन गर्ने घोषणा गरेसँगै नयाँ सरकार गठनका लागि बहुमत सुनिश्चित भएको छ ।

अब गण्डकी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकार हटाएर कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको संयुक्त सरकार बनाउन गणीतीय रुपमा सम्भव भएको छ । स्रोतका अनुसार नयाँ सरकार बनाउँदा मुख्यमन्त्री कांग्रेसले लिने सहमति जुटेको छ ।

मुख्यमन्त्रीमा कांग्रेस र माओवादी केन्द्र दुबैको दाबी थियो । तर कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार साँझ भएको भेटमा गण्डकीको मुख्यमन्त्रीबारे टुंगो लगाएको गण्डकी प्रदेशका एक सांसदले जानकारी दिए ।

उनका अनुसार अब एक/दुई दिनमा नै मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुनेछ ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा बहुमतका लागि ३१ जना प्रदेशसभा सदस्य चाहिन्छ । मुख्यमन्त्री गुरुङको दल नेकपा एमालेसँग २७ सांसद छ । दोस्रो ठूलो दल कांग्रेसका १५ प्रदेशसभा सदस्य छन् भने माओवादी केन्द्रका १२ । माओवादीबाट निर्वाचित नेत्रनाथ अधिकारी सभामुख छन्,  उनले सरकार गठनमा मत दिने छैनन् ।

राष्ट्रिय जनमोर्चाका तीन र जनता समाजवादीका दुई प्रदेशसभा सदस्य छन् ।

माओवादी केन्द्रका दुई मन्त्रीले राजीनाना दिएसँगै मुख्यमन्त्री गुरुङले बहुमत सुरक्षित गर्न राष्ट्रिय जनमोर्चालाई सरकारमा सहभागी गराउने प्रयत्न गरेका थिए ।

तर जनमोर्चाले अविश्वासको प्रस्तावको पक्षमा उभिने निर्णय गरेपछि गुरुङ नेतृत्वको सरकार ढल्ने र कांग्रेसको नेतृत्व नयाँ सरकार बन्ने निश्चित जस्तै भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment