Comments Add Comment

माइक्रोसफ्टले किन्दैछ एप्पलको सिरी बनाउने कम्पनी, इतिहासकै दोश्रो ठूलो सम्झौता

१ वैशाख, काठमाडौँ । अमेरिकी कम्पनी माइक्रोसफ्टले आफ्नो इतिहासकै दोश्रो ठूलो खरिद सम्झौता गर्दैछ । माइक्रोसफ्टले १९ अर्ब ७० करोड डलरमा नुआन्स कम्युनिकेसन्स कम्पनी खरिद गर्ने भएको हो । एप्पलको भ्वाइस रिकग्नीसन सफ्टवेयर निर्माण गर्ने कम्पनी नुआन्स खरिद गर्ने माइक्रोसफ्टको योजनालाई सन् २०१६ मा लिंक्डइन खरिद पछिको सबैभन्दा महंगो खरिद मानिएको छ ।

नुआन्स कम्युनिकेसन खरिद पश्चात् यसले स्वास्थ्य सेवा सम्बन्धी संस्थाहरुका लागि कम्पनीको सफ्टवेयर तथा आर्टिफिसियल इन्टेलिजेन्स क्षमतामा वृद्धि गर्ने माइक्रोसफ्टले जनाएको छ । पछिल्लो समय कोरोना भाइरस लकडाउनका बेला टेलिहेल्थ तथा रिमोट डक्टर भिजिट जस्ता प्रचलनहरु बढ्दै गएका छन् । यस्तो प्रचलनले महामारी साम्य भएपश्चात् पनि निरन्तरता पाउने अपेक्षा गरिएको छ ।

माइक्रोसफ्टका सिइओ सत्य नादेलाले एक वक्तव्यमा भनेका छन्, ‘नुआन्सले आपूर्तिको स्वास्थ्य सेवा विन्दुमा आर्टिफिसियल इन्टेलिजेन्सको तह प्रदान गर्नेछ । आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिको सबैभन्दा महत्वपूर्ण प्राथमिकता हो र यसको सर्वाधिक अत्यावश्यक प्रयोग चाहीँ स्वास्थ्य सेवामै हो ।’

माइक्रोसफ्टले नुआन्स खरिद गर्दा उक्त कम्पनीको तिर्न बाँकी ऋण समेत तिरिदिने गरी सम्झौता हुने र यहीँ वर्ष सन् २०२१ भित्रमा उक्त खरिदविक्री सम्झौताले पूर्णता पाउने बताइएको छ ।

के हो नुआन्स ?

अमेरिकाको म्यासच्युसेट्समा रहेको नुआन्स कम्युनिकेसन्स कम्पनी सन् १९९२ मा स्थापना भएको हो । विभिन्न २८ वटा देशमा शाखा रहेको यो कम्पनीमा १६ सय भन्दा धेरै कर्मचारीहरु कार्यरत छन् ।

आर्टिफिसियल इन्टेलिजेन्स अन्तर्गत बोली चिन्ने सफ्टवेयर अर्थात् स्पिच रिकग्नीसन प्रविधिको विकासमा यो कम्पनीलाई अग्रणी मानिन्छ । पछिल्लो समय नुआन्सले स्वास्थ्य सेवा उद्योगहरुलाई सफ्टवेयर उपलब्ध गराउने क्षेत्रमा आफ्नो ध्यान केन्द्रित गर्दै आएको छ । यसले रेडियोलोजी रिपोर्टलाई अटोमेसनमा लैजानुका साथै डाक्टरहरुले बोलेरै विरामीको रिपोर्ट तयार पारिदिन सक्दछन् ।

अहिले अमेरिकाका ८० प्रतिशत भन्दा धेरै अस्पतालहरु नुआन्सका ग्राहक बनिसकेको माइक्रोसफ्टका सिइओ नादेला बताउँछन् । त्यसैले नुआन्स खरिदले स्वास्थ्यसेवा उद्योगमा रहेको माइक्रोसफ्टको सम्भावित बजारको नाटकीय विस्तारमा सहयोग पूराउने अपेक्षा कम्पनीको छ ।

Nuance doctor imaging

नुआन्स कम्पनीका अधिकारीहरु पनि माइक्रोसफ्टसँगको मिलन पश्चात् कम्पनीका क्लाउडमा आधारित सेवाहरुलाई अझै व्यापक बनाउने र माइक्रोसफ्टको विश्वव्यापी उपस्थितिको फाइदा उठाउने बताउँछन् ।

स्मरण रहोस् माइक्रोसफ्ट र नुआन्सबीच चिकित्सा प्रशासनिक कार्यहरुलाई अटोमेसन गर्ने सम्बन्धमा सन् २०१९ मै साझेदारी सम्झौता भएको थियो । पछिल्लो खरिद बिक्रि सम्झौता सोही सम्झौताबाट विकशित भएको बताइएको छ ।

खरिद विक्री सम्झौतामा के छ ?

नुआन्स कम्पनीलाई आफुमा गाभ्नका लागि माइक्रोसफ्टले नुआन्सको प्रतिशेयरका लागि ५६ डलरका दरले तिर्नुपर्नेछ । यो भनेको नुआन्सको हालको शेयर मूल्य भन्दा २३ प्रतिशतले बढि हो ।

माइक्रोसफ्ट र नुआन्सबीचको खरिद बिक्रि सम्झौताको समाचार सार्वजनिक भएसँगै नुआन्स कम्पनीको शेयर मूल्यमा बढोत्तरी भएको तर माइक्रोसफ्टको शेयर मूल्यमा चाहीँ केही गिरावट आएको छ । खरिद बिक्रि योजनालाई दुबै कम्पनीका बोर्डहरुले स्वीकृति दिइएको बताइएको छ । बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment