Comments Add Comment

कर्णालीका नवनियुक्त मन्त्रीलाई शपथ खुवाउने तयारी

५ वैशाख, काठमाडौं । कर्णाली प्रदेशका नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको सपथ खुवाउने तयारी गरिएको छ । आइतबार नै तीनजना मन्त्रीहरुलाई शपथ खुवाउने तयारी गरिएको हो ।

नन्दसिंह बुढा (डोल्पा), अमरबहादुर थापा (दैलेख) र कुर्मराज शाही (कालीकोट)लाई मन्त्री पदको शपथ गराउने तयारी गरिएको कर्णाली प्रदेश सरकारकी प्रवक्ता विमला केसीले जानकारी दिइन् । ‘हामीले हिजो नै प्रदेश प्रमुखलाई पत्र पठाएका छौं । उताबाट समय निश्चित गरेपछि साँझसम्ममा शपथ गराउने कुरा छ,’ उनले भनिन् ।

मुख्यमन्त्री शाहीले शनिबार नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारी, अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकास र कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नियुक्त गरेका थिए ।

नेकपा एमालेले मुख्यमन्त्री शाहीविरुद्ध दर्ता गराएको अविश्वासको प्रस्तावमा मत विभाजन हुँदा उनीहरुले पार्टीको ह्वीप उल्लंघन गर्दै फ्लोर क्रस गरेका थिए ।

अमरबहादुर र कुर्मराज पहिलोपटक मन्त्री बनेका हुन् भने नन्दसिंह पहिले पनि मन्त्री थिए । पहिले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका बुढालाई अहिले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ । पहिले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सम्हालेकी विमला केसीलाई भने आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

फ्लोर क्रस गरेका एमालेका अर्का सांसद प्रकाश ज्वाला भने मन्त्री बनेका छैनन् । उनलाई पनि उपयुक्त समयमा उपयुक्त जिम्मेवारी दिने मुख्यमन्त्री शाहीको तयारी छ ।

पार्टीको ह्वीप नमानेर माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका शाहीलाई साथ दिएको भन्दै एमालेले तीजनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निस्कासन गर्न सिफारिस गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment