
१७ वैशाख, काठमाडौं । लुम्बिनी प्रदेशका चार प्रदेशसभा सदस्यलाई निष्कासन गर्ने पार्टीको निर्णयविरुद्ध जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर निर्वाचन आयोग पुगेका छन् ।
ठाकुरले २०७७ पुस ७ गतेपछि जनता समाजवादी पार्टीको कार्यकारिणी समितिको बैठक नै नबसेको र बैठक बोलाउन कुनै सूचना पनि जारी नगरिएको बताएका छन् ।
पार्टीको बैठक नै नबसेको बेला लुम्बिनी प्रदेशसभा सचिवालयले जसपाले सांसदलाई पदबाट निष्काशन गरेको भनी जारी गरेको सूचना प्रथम दृष्टिमै अवैध र गैरकानुनी भएको ठाकुरले जिकिर गरेका छन् ।
‘… सो अवैध एवं गैरकानुनी पत्रलाई आधार मानी त्यस निर्वाचन आयोगबाट कुनै पनि काम कारबाही अगाडि नबढाउन अनुरोध छ’ पत्रमा भनिएको छ ।
लुम्बिनी प्रदेश सरकारमा सहभागी भएका प्रदेसशभा सदस्यहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे जनता समाजवादी पार्टीबाट दलबाट निष्कासन गरेको पत्र आइपुगेको भनी बिहीबार लुम्बिनी प्रदेश सरकारले सूचना जारी गरेको थियो ।
प्रदेशसभा सचिवालयले निकालेको सूचनामा भने जसपा केन्द्रीय कार्यकारिणी समितिले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३२ को उपदफा (५) बमोजिम प्रदेशसभा सदस्य र पार्टी सदस्यबाट निष्कासन गरेको सूचना जसपा लुम्बिनी प्रदेश संसदीय दलले दिएको उल्लेख गरिएको छ ।
तर जसपाका दुईमध्ये एक अध्यक्ष ठाकुरले कार्यकारिणी समितिको बैठक नै नबोलाइएको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएका हुन् ।
हेर्नुहोस् पत्र
प्रतिक्रिया 4