+
+

सुदूरपश्चिममा निजी अस्पतालमा पनि कोरोना संक्रमितको उपचार हुने

जनक विष्ट जनक विष्ट
२०७८ वैशाख १७ गते १५:३१

१७ वैशाख, धनगढी । कोरोना भाइरस (कोभिड-१९) संक्रमितको उपचार गर्न सुदूरपश्चिम प्रदेशका सामुदायिक तथा निजी अस्पताल पनि तयार भएका छन् ।

कैलालीको अत्तरियामा रहेको सुदूरपश्चिम सामुदायिक अस्पतालसहितका अन्य १० निजी अस्पताल र प्रदेशको सामाजिक विकास मन्त्रालयबीच शुक्रबार कोरोना संक्रमितको उपचार गर्न सहमति भएको हो । निजी अस्पताल संघ सुदूरपश्चिमका अध्यक्ष जनकराज जोशीले प्रदेश सरकारसँगको सम्झौताअनुसार धनगढीका १० अस्पतालले ५ देखि १० शय्यासम्मको कोभिड वार्ड स्थापना गरेर संक्रमितको उपचार गर्ने जानकारी दिए ।

५० शय्याको स्वीकृति पाएका अत्तरियाको पद्यमा अस्पताल र धनगढीस्थित नवजीवन अस्पतालले १०/१० तथा १५ देखि २५ शय्यासम्मका अस्पतालले ५/५ शय्याको कोभिड वार्ड सञ्चालन गर्ने सहमति भएको जोशीले बताए ।

उनका अनुसार धनगढीको कैलाली अस्पताल, माया मेट्रो अस्पताल, निसर्ग अस्पताल, सीपी हस्पिटल, केजी हस्पिटल, नोभा अस्पताल, सारथी अस्पताल र ओम आशा अस्पतालले ५/५ शय्याको कोभिड वार्ड सञ्चालन गरेर संक्रमितको उपचार गर्नेछन् । १० वटा निजी अस्पतालले ६० शय्या बराबरको कोभिड वार्ड सञ्चालन गर्दा अत्तरियाको सुदूरपश्चिम सामुदायिक अस्पतालले भने ४० बेडको वार्ड स्थापना गर्ने सहमति मन्त्रालयसँग भएको छ ।

सामाजिक विकास मन्त्रालयका अस्पताल विकास तथा चिकित्सा महाशाखा प्रमुख डाक्टर जगदिश जोशीले सामुदायिक अस्पतालको ४० बेड समेत गरेर मन्त्रालयसँगको सम्झौताअनुसार निजी अस्पतालले तत्काल एक सय बेडको कोभिड वार्ड स्थापना गर्ने जानकारी दिए । भविष्यमा आवश्यकताका आधारमा बेड बढाउँदै लैजाने विकल्प समेत रहेको डाक्टर जोशी बताउँछन् ।

संक्रमितको उपचार खर्च प्रदेश सरकारले बेहोर्ने

सामाजिक विकास मन्त्रालयसँगको सम्झौताअनुसार कोभिड वार्ड स्थापना गर्न लागेका धनगढी र अत्तरियाका निजी अस्पतालमा उपचार गर्ने संक्रमितको खर्च भने सुदूरपश्चिम प्रदेश सरकारले बेहोर्नेछ ।

अस्पतालहरुसँग भएको सम्झौताअनुसार सामान्य संक्रमितको दैनिक तीन हजार पाँच सय रुपैयाँ, अक्सिजन सपोटमा राखिने संक्रमितको दैनिक सात हजार रुपैयाँ, आईसीयूमा भर्ना हुने संक्रमितको १० हजार रुपैयाँ र भेन्टिलेटरमा भर्ना हुनेको दैनिक १५ हजार रुपैयाँका प्रदेश सरकारले खर्च बेहोर्ने सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए ।

क्याबिन लगायतका अतिरिक्त सेवा लिने संक्रमितले भने तोकिएको बाहेकका शीर्षकको खर्च आफैंले सम्बन्धित अस्पताललाई तिर्नुपर्ने कार्कीले बताए ।

संक्रमितको उपचारमा सहजता हुने विश्वास

धनगढीको सेती प्रादेशिक अस्पताल मातहतको कोभिड अस्पताल र कञ्चनपुरको महाकाली अस्पताल कोरोना संक्रमितले भरिभराउ भएका बेला सामुदायिक र निजी अस्पताल पनि सेवा दिन राजी भएपछि उपचारमा सहजता हुने विश्वास गरिएको छ ।

सामाजिक मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले बेड अभावका कारण कोरोना संक्रमितको उपचारमा समस्या भइरहेका बेला गरिएको यो सम्झौताले सहज हुने बताए । उनले अब सेती अस्पतालको कोभिड अस्थायी अस्पताललाई गम्भीर प्रकृतिका संक्रमितको मात्र उपचार गराउने विकल्प समेत भएकाले सोहीअनुसार व्यवस्थापन गरिने जानकारी दिए ।

धनगढीमा गत वर्ष स्थापना गरिएको ५५ शैयाको कोभिड अस्थायी अस्पतालमा अहिले ६० जना उपचाररत छन् भने सेती प्रादेशिक अस्पतालको ईमरजेन्सी वार्ड पनि संक्रमित र सम्भावित संक्रमितले भरिएपछि ग्यालरीमा राखेर उपचार भइरहेको छ ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?