+
+

जीवन यात्रा कि जात्रा ?

सुरेश बिडारी सुरेश बिडारी
२०७८ वैशाख १७ गते १८:४४

‘शास्त्रमा लेख्न मात्रै छुट्या हो, जीवन जात्रा हो ।’

नेपाली फिल्म ‘जात्रै जात्रा’ को यो गीत चोटिलो लाग्छ । यसका रचनाकार अर्जुन भट्टराई र संगीतकार कालीप्रसाद बाँस्कोटा हुन् । विपिन कार्की लगायत कलाकारको अभिनयले फिल्मलाई पनि रमाइलै बनाएको छ ।

रामकृष्ण ढकालले गाएको अर्को गीत छ–

यात्रा रहेछ जिन्दगी एक्लै म हिंडिदिन्छु… ।

खासमा जीवन जात्रा हो कि यात्रा ? या दुवै हो ? जे भए पनि जीवन सहज होस्, रमाइलोसँग बितोस् । यत्ति भए पुग्दैन त ?

तर, तारादेवीले गाएको अर्को गीतले भन्छ–

सोचे जस्तो हुन्न जीवन,

जस्तो भोग्यो उस्तै हुन्छ

देखे जस्तो हुन्न जीवन… ।

गीतहरूले जे भने पनि यात्रा विनाको जीवनको कल्पना गर्न सकिन्न । अघिल्लो वर्ष कोरोना महामारीले हामीलाई लामो समय घरमै थुन्यो । कतिलाई क्वारेन्टिन, आइसोलेसन, आईसीयू, भेन्टिलेटरमा हुल्यो । दुर्भाग्यवश, आईसीयू वा भेन्टिलेटरबाट फर्कन नसक्नेको संख्या पनि ठूलै रह्यो ।

एक वर्षपछि फेरि कोराना भाइरसको नयाँ भेरियन्टले दुनियाँलाई त्राहिमाम् बनाएको छ । सरकारले निषेधाज्ञा जारी गर्दा नागरिकले ढुक्क मान्नुपर्ने अवस्था आएको छ । नेपाल टेलिकमको डायल टोनले हरेक पटक भन्छ– ‘कोरोनाको नयाँ भेरियन्ट सहितको संक्रमण तीव्र गतिले बढिरहेकाले अत्यावश्यक नभई घर बाहिर ननिस्कौं…. ।’

वीरगञ्जमा नयाँ भेरियन्टको कोरोना संक्रमण समुदायमै फैलिसकेको समाचार म आफैंले लेखें । तर, यस्तो बेला यात्रा गर्नैपर्ने परिस्थिति उत्पन्न भयो । पत्रकारितामा स्नातक दोस्रो वर्षको विद्यार्थी भएकोले परीक्षा दिन काठमाडौं जानैपर्ने बाध्यता आइलाग्यो ।

चैतको अन्तिम साताबाट संक्रमण बढेकाले परीक्षा रोकिन्छ भन्ने लागेको थियो, तर रोकिएन । त्यसका लागि वीरगन्जमा टाटा सुमो समाएँ । काठमाडौंमा आफन्तको भाडाको कोठामा बस्नुपर्ने थियो । थोरै मात्र लापरबाही हुँदा त्यहाँ पनि संक्रमण हुन सक्थ्यो । जोगिएकै छु भन्दाभन्दै पोहोर भाइरसले भेटेर १४ दिन आइसोलेसनमा बसेको बिर्सने कुरै भएन ।

मेरो परीक्षा वैशाख १३ र १७ गते थियो, सरकारले १२ गते बेलुका सबै परीक्षा स्थगित गर्‍यो । तर, त्रिभुवन विश्वविद्यालयले त्यसलाई मानेन, भोलिपल्टको परीक्षा लिइछोड्यो । दिउँसो ठिक १ बजे प्रश्नपत्र नपाउँदा सरकारले त्रिविलाई रोकेछ कि के हो ? भन्ने पनि भयो । जे होस्, परीक्षा भयो, तर हलबाट बाहिरिंदा सरकारले काठमाडौंमा १६ गतेदेखि दुई साता निषेधाज्ञा जारी गरेको पनि थाहा भयो । बाँकी परीक्षाको कुुरै हरायो । अब काठमाडौं बसे उपाय नास्ति हुने भएकोले वीरगञ्ज जान सीधै कलंकीतिर हान्निएँ, तर गाडी पाए पो !

काउन्टर–काउन्टर चहारेपछि बल्ल ‘भिस्वा टाइगर’ बसमा ड्राइभरको पछाडि क्याबिनमा एउटा सिट पाएँ । बस आउन ढिलो हुँदा जान पाइन्न कि क्या हो भन्ने डर पनि लागिरह्यो । जताततै काठमाडौं छाड्न हतारिएकाहरूको भीड, कुरो उही कोरोनाको ।

एक जनाले भने, ‘कोरोना भन्ने भाइरस छ कि छैन, तर मुसलमानको पर्व आउँदा लकडाउन गरिहाल्छन् । भारतमा त झन् मुसलमानका लागि छुट्टै खोप वितरण गररहेका छन् रे !’

अर्कोले जवाफ दिए, ‘जसलाई परेको छ, जसको आफन्त मरेका छन् उसलाई थाहा छ कोरोना । रह्यो सुईको कुरा, सुई त सबै एकै हो । मानिसको सोच र व्यवहार गलत छ ।’

बस नआउँदासम्मको समय विताउनुथियो, म पनि गफमा सामेल भएँ । ५० वर्षीय अब्दुल कलाम बिहारको बेतिया जिल्ला, सिक्टा थाना अन्तर्गत शिकारपुरका बासिन्दा रहेछन् । बिहेबारीको सिजनमा वर्षेनि कोट सिलाउन काठमाडौं आउँदा रहेछन् । उनको दैनिक ज्याला रु.१५०० रहेछ ।

१६ वैशाखदेखि काठमाडौंमा निषेधाज्ञा लाग्ने जानकारी उनले १३ गते साँझ पाएका रहेछन् । ‘१५ दिन अघि आएको थिएँ’ उनले भने, ‘बस्ने भए बस भनेका थिए, तर परिवारसँग बसेर नूनरोटी खान नै ठीक लाग्यो ।’

पहिला दुलाहाले मात्र कोट लगाउने गरेकोमा अचेल घरभरिकाले कोट सिलाउने हुँदा उनको पेशा चम्किएको रहेछ । तर, कोरोनाभाइरसले घरव्यवहार चलाउनै नसक्ने अवस्थामा पुर्‍याउन लागेको कलाम दाइले बताए ।

उनले पनि पत्रकार र पत्रकारिताबारे सोधे । मैले सेवा–सुविधा सहित सबै कुरा यथार्थ बताउँदा सुन्ने सबै छक्क परे । कुरा गर्दागर्दै बस आएको सुनेर हामी हतारहतार केही परसम्म पुग्यौं । बसमा फरक–फरक सिट परेका कारण हाम्रो गफगाफको खेलो सकियो ।

नौ बजेपछि धादिङतिर टिपर खुल्ने समय हुने रहेछ, नागढुंगा कटेपछि हाम्रो बस जाममा पर्‍यो । ‘साढे सात बजे काठमाडौंबाट छोडेको भए यतिबेला नौबिसे गएर खाना खाइसकिन्थ्यो’, ड्राइभर दाइ आफैं फत्फताए ।

उनी एक हातले फोन कानमा राखेर बात मार्दै अर्को हातले स्टेयरिङ सम्हाल्दै मज्जाले बस चलाउँदा रहेछन् । केविनमा सुत्नेलाई बेलाबेला कराउन र झ्यालबाट थुक्न पनि भ्याइरहेका थिए ।

‘गाडी चलाउँदा फोन नचलाउनुस् न’ भन्नै लागेको थिएँ, झट्ट मनमा आयो– यो घामटलाई यो कुरा यसअघि नै दशौं जनाले सम्झाइसकेको हुनुपर्छ । अनि चुप लागें ।

परीक्षा सकिनासाथ खाजा नखाई हिंडेको, जोडले भोक लागिरहेको थियो । बसमा पानी र भुजिया बाँड्दा रहेछन्, तर भुजिया पछाडितिरै सकिएछ । आधा बोत्तल पानी उदरस्थ गरेर राहत भएको महसूस गर्न खोजें ।

त्यही बेला एकजनाले क्याविनमै चुरोट सल्काए । ‘कम्तीमा यस्तो ठाउँमा त चुरोट नखानुस् न’ भनेको उनले वास्तै गरेनन् । ड्राइभरले नै लाइटर दिएर चुरोट सल्काएको मलाई किन टेर्थे !

सवा १० बजे बस नौबिसेको भेरी होटल अगाडि रोकियो । होटलबाट भइरहेको खाना खान आउने आह्वानले बिर्सेको भोकलाई ह्वात्त जगाइदियो । भीड यति थियो कि मुश्किलले हात धोएँ । त्यसपछि बस्ने सिट पाउन उस्तै हम्मे पर्‍यो ।

राजमार्गको यात्रामा मलाई खाना खान मन लाग्दैन । शाकाहारीलाई गरिने व्यवहार त्यसको मुख्य कारण हो । आफूलाई मन नलागे पनि भोकको लागि रोटी अर्डर गरेको ल्याउनै ढिलो गरे । बालश्रमिकले बल्ल–बल्ल ल्याउन त ल्याए, तर मासु सहित । त्यसलाई फिर्ता गरेर सादा ल्याउन लगाएको, न तरकारी गतिलो छ न त अचार ।

आफूले बाल श्रम विरुद्ध लेखेको समाचारहरू सम्झँदै र घरीघरी उता कुनाको टेबलमा चलिरहेको चालक दलका सदस्यहरूको खातिरदारी नियाल्दै मुश्किलले तीनवटा रोटी तरकारी खाएँ ।

काउन्टरमा पैसा तिर्न गएको १८० रुपैयाँ रे ! होटलमा मूल्य सूची पनि थिएन । सोधें, ‘तीनवटा रोटी र एक कचौरा सादा तरकारीको कसरी यत्रो पैसा ?’

काउन्टरका दाइले मतिर हेर्दै नहेरी जवाफ फर्काए, ‘तीसवटा खाए पनि यही हो, तीन वटा खाए पनि उही हो ।’

धादिङका प्रमुख जिल्ला अधिकारीलाई यो होटलमा ल्याउन पाए क्या गज्जब हुन्थ्यो भन्ने सोच्दै गाडी भए ठाउँतिर लागेको ‘भिस्वा टाइगर’ त गायब छ । आफ्नो गरिखाने साधन ल्यापटप सिट छेउमा जोगाएर राखेको थिएँ । त्यसको के हालत हुनेहोला अब !

रातको समय छ, जाउँ कता जाउँ, कसरी जाउँ ? अर्को गाडीले लैजाने संभावना निकै कम छ । त्यतिकैमा भेरी होटलकै दाइ कराउँदै आए, ‘भिस्वा टाइगरको कोही यात्रु छुटेको छ ?’

निकै पर पुगेपछि म छुटेको थाहा पाएर अर्को गाडीमा चढाएर पठाउन भनेका रहेछन् । उनैले अर्को गाडीमा चढाए । गाडीमा खुट्टो अड्याउने ठाउँ थिएन । बर्नरमा दुईजना पातला भाइ रहेछन्, यसो अडिने ठाउँ पाएँ । एकजना त बेस्सरी खोक्दै पनि थिए ।

कष्टप्रद यात्रा चितवन, खैरहनीको साइचोकसम्म चल्यो । चिया खान रोकिएको भिस्वा टाइगरलाई एन्जल डिलक्सले त्यहीं भेट्यो । मलाई किन छोड्यौ भनेर गुनासो गर्नुको कुनै अर्थ थिएन, आफ्नो ल्यापटप सुरक्षित रहेकोमा धन्य मान्दै वीरगञ्जसम्मको यात्रा गरें ।

बिहान सवा पाँच बजे बसले गन्तव्यमा ल्याएर छोड्यो । मनमा एउटा प्रश्न भने उठिरह्यो– वास्तवमा जीवन यात्रा हो कि जात्रा ?

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?