+
+

डाक्टरकै अक्सिजन उद्योग हुँदा सरकारीमा बनेन प्लान्ट

अमृत सुवेदी अमृत सुवेदी
२०७८ वैशाख ३१ गते १७:३६

३१ वैशाख, पोखरा । पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई २०७२ सालमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गरियो । स्वास्थ्य विज्ञानको क्षेत्रमा उच्चस्तरीय अध्ययन, अनुसन्धान र दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले स्थापित प्रतिष्ठानको पहिलो उपकुलपति प्रा. डा. बुद्धिबहादुर थापा बने ।

प्रतिष्ठानले २०७३ सालमा बनाएको एक्सन प्लानमा दुई सय सिलिन्डर अक्सिजन उत्पादन हुने गरी प्लान्ट बनाउने उल्लेख गरियो । त्यसका लागि ६४ लाख रुपैयाँ बजेट पनि छुट्याइयो ।

क्षेत्रीय अस्पतालमा डा. थापा मेडिकल सुपरिटेन्डेन्ट हुँदा नै बुद्ध फाउण्डेसनमार्फत अस्पतालमा अक्सिजन प्लान्ट बनाउन बजेटको व्यवस्था भएको थियो । तर, क्षेत्रीय अस्पताल प्रतिष्ठानमा रुपान्तरिक भएर पदाधिकारी आएपछि पनि प्लान्टको योजना अगाडि बढ्न सकेन ।

२०७४ सालसम्म अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट रहेका डा. श्रीकृष्ण श्रेष्ठ भन्छन्, ‘अस्पतालमा अक्सिजन प्लान्ट बनाउने योजना त दशकअघिकै हो । तर, म मेसु हुँदा बजेटकै निश्चित भएर योजना अगाडि बढेको हो । तर, कार्यान्वयन चाहिँ भएन ।’

अक्सिजन प्लान्ट नबन्नुमा प्रतिष्ठानकै उपकुलपति, डिन र चिकित्सकको व्यापारिक स्वार्थ देखिएको छ । उपकुलपति प्रा. डा. वुद्धिबहादुर थापा, डिन नरेन्द्र गुरुङ, डा. वसन्त ताम्राकार, डा. आनन्द श्रेष्ठ, डा. प्रदीप घिमिरे, डा. मुकुन्द आचार्य, डा. माधवबाबु तिवारीलगायतले लगानी गरी २०६८ सालमा पोखरा अक्सिजन उद्योग खोलेका थिए ।

उपकुलपति थापाको हालैमात्र कार्यकाल सकिएको छ भने नरेन्द्र गुरुङ अहिले पनि प्रतिष्ठानका डिन नै छन् । उद्योग सञ्चालक अरु केही डाक्टर पनि प्रतिष्ठानबाट सेवानिवृत्त भइसकेका छन् ।

बजेटको व्यवस्था भएर पनि अक्सिजन प्लान्ट अघि बढ्न नसक्नुमा उपकुलपति, डिनकै स्वार्थ रहेको प्रतिष्ठानका एक चिकित्सक बताउँछन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ती चिकित्सककै लगानी भएको कम्पनीले अक्सिजन आपूर्ति गर्ने गरी सम्झौता गरिएको छ ।

कोरोना संक्रमण तीव्र रुपमा बढेसँगै उक्त उद्योगबाट प्रतिदिन दुई सय सिलिन्डर प्रतिष्ठानमा आपूर्ति भइरहेको छ । पोखरा अक्सिजन उद्योगका सञ्चालक लालकृष्ण शर्मा भट्टराईले प्रतिष्ठानमा प्रतिसिलिन्डर १ सय ७० रुपैयाँमा आपूर्ति गरिरहेको बताउँछन् ।

‘अस्पतालका २७ जना सञ्चालक छौं । त्यसमा धेरैजसो लगानीकर्ता डाक्टरहरु हुनुहुन्छ । प्रतिष्ठानका डिन नरेन्द्र सर पनि सञ्चालक त हो तर सक्रिय हुनुहुन्छ । लगानीकर्ता चिकित्सक अहिले प्रतिष्ठानबाट धेरैले अवकाश लिइसक्नुभएको छ,’ सञ्चालक लालकृष्ण शर्मा भट्टराईले भने, ‘लगानी गरे पनि चिकित्सकको कुनै स्वार्थ छैन ।’

 

अक्सिजन प्लान्ट नबन्नुमा प्रतिष्ठानकै उपकुलपति, डिन र चिकित्सकको व्यापारिक स्वार्थ देखिएको छ । उपकुलपति प्रा. डा. वुद्धिबहादुर थापा, डिन नरेन्द्र गुरुङ, डा. वसन्त ताम्राकार, डा. आनन्द श्रेष्ठ, डा. प्रदीप घिमिरे, डा. मुकुन्द आचार्य, डा. माधवबाबु तिवारीलगायतले लगानी गरी २०६८ सालमा पोखरा अक्सिजन उद्योग खोलेका थिए ।

अस्पतालमा किन बनेन अक्सिजन प्लान्ट ?

सहरी विकास तथा भवन निर्माण विभागको संघीय योजना कार्यान्वयन इकाइले प्रतिष्ठानको एउटा भवन प्रबलीकरण (रेट्रोफिटिङ) गदिने अक्सिजन प्लान्ट पनि राखिदिने भनी करिब ५४ करोड रुपैयाँ विनियोजन गरेको छ ।

सो भवन रेट्रोफिटिङ र अक्सिजन प्लान्ट राख्न निर्माण कम्पनी बिकोई, रौताहा र पिके जेभीसँग सम्झौता पनि भइसकेको छ ।

भवन रेट्रोफिटिङ अन्तर्गत नै अक्सिजन प्लान्ट बनाइदिने सम्झौता भएपछि अस्पतालमा पहिले नै बजेट भएकाले अर्को प्लान्ट पनि बनाउन प्रस्ताव गरिएको थियो । उपकुलपति डा. थापाले एउटा प्लान्ट भए पुग्ने भएकाले अर्को बनाउन जरुरी नभएको भन्दै बैठकमा प्रस्ताव अस्वीकार गरेको प्रतिष्ठानका एक चिकित्सकले जानकारी दिए ।

निवर्तमान कुलपति डा. बुद्धिबहादुर थापाले अक्सिजन प्लान्ट बनाउन आफू क्षेत्रीय अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट हुँदाखेरि नै बुद्ध फाउण्डेनमार्फत बजेट आएको तर भवन रेट्रोफिटिङको योजनामा अक्जिसन प्लान्ट पनि परेकाले दोहोरो पर्न नदिएको बताए ।

‘निजीमा लगानी भएका कारणले प्रतिष्ठानमा प्लान्ट नबनाएको होइन, रेट्रोफिटिङमार्फत बनाउने योजना त कायमै छ,’ डा थापाले भने, ‘मन्त्रालयले पनि अक्सिजन प्लान्टका लागि बजेट दिन्छु नभनेको होइन तर रेट्रोफिटिङमार्फत प्लान्ट बन्ने भएपछि आवश्यक देखिदैन ।’

डा. थापाले अस्पतालमा अक्सिजन प्लान्ट नबन्दै पोखरा अक्सिजन उद्योग खुलिसकेको र अहिले त्यसै उद्योगले गण्डकी प्रदेशको माग धानेको बताए । ‘अहिले पोखरा अक्सिजन उद्योग हुँदैनथ्यो भने कुन हालत हुन्थ्यो होला ? बरु धन्यवाद पो दिनुपर्छ,’ डा. थापाले भने, ‘प्रतिष्ठानमा प्लान्ट बनाउने सम्झौता भइसकेपछि मैले अवकाश लिएँ, अहिले पक्कै काम भइरहेकै होला ।’

तत्कालिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र अहिले गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान यस क्षेत्रकै ठूलो अस्पताल हो । यस अस्पतालमा आफ्नै प्लान्ट हुनुपर्नेमा कतिपय चिकित्सककै स्वार्थमा योजना अघि नबढेको त्यहाँ कार्यरत कर्मचारीहरु बताउँछन् ।

हाल ३ सय ७० बेड रहेको र ५ सय बेड बनाउने योजना स्वीकृत भइसकेको प्रतिष्ठानमा अहिले कोरोना संक्रमित बिरामीका लागि ५० बेड छुट्टाइएको छ । ‘कोभिडजस्तो माहामारी आउनुभन्दा पहिल्यै अस्पतालमा प्लान्ट बनिसक्नुपर्ने हो तर काम सरकारीमा गर्ने र ध्यान निजीमा दिने चिकित्सक र पदाधिकारीका कारण बनेन,’ सामाजिक विकास मन्त्रालयका एक कर्मचारीले भने ।

२०७७ साल असार २८ मा सहरी विकास तथा भवन निर्माण विभागले निर्माण व्यवसायीसँग गरेको सम्झौताअनुसार भवनको काम सकिएपछि बल्ल अक्सिजन प्लान्ट राख्ने हो । तर, दोस्रो लहरको कोरोनाको जोखिम बढेपछि अरु काम छाडेर भए पनि प्लान्ट निर्माण गरिदिन आग्रह गरिएको सहरी विकास तथा भवन निर्माण, संघीय योजना कार्यान्वयन इकाइ कास्कीका प्रमुख झपट थापाले जानकारी दिए ।

तर निर्माण कम्पनीले ६ महिनाअघि काम नसक्ने भनी सहरी विकास तथा भवन निर्माण विभागलाई पत्र नै लेखेको छ । कोभिड माहमारीका कारण सबैतिर ठप्प रहेको र डेनमार्कदेखि उपकरण ल्याउनुपर्ने हुनाले ढिला हुने प्रमुख थापाले बताए ।

हाल गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५० र प्रदेशको संक्रामक तथा सरुवा रोग अस्पतालमा ५० कै हाराहारीमा कोरोना भाइरसका गम्भीर बिरामी छन् ।

पोखराका मणिपाल शिक्षण, गण्डकी मेडिकल कलेज, चरक मेमोरियल, मेडिप्लस हस्पिटललगायतले कोरोनाका बिरामीको उपचार गरिरहेका छन् ।

अक्सिजनको माग धान्न कठिन

गण्डकी प्रदेशमा पोखरामा पोखरा र कालीगण्डकी नामका दुई अक्सिजन उद्योग छन् । यी उद्योगले दैनिक १३ सय सिलिण्डर अक्सिजन उत्पादन गरिरहेको छ । तर, कतिपय अस्पतालले सिलिन्डर स्टक राखिदिँदा समस्या आएको पोखरा अक्सिजन प्रालिका लालकृष्ण शर्मा बताउँछन् ।

‘२ उद्यागले अक्सिजनको माग धान्न सक्छ तर धेरैले स्टक राखिदिए । गण्डकीलाई नै माग पुर्‍याउनु छ । सिलिन्डरको अभाव होला, अक्सिजन अभाव हुन्न,’ उनले भने ।

अहिले अक्सिजनको अभावले पोखराका निजी अस्पतालले उद्योगमा २-३ दिनसम्म कुरेर अक्सिजन सिलिन्डरको जोहो गरिरहेका छन् ।

‘अब अस्पतालले धान्न सक्ने अवस्था छैन । जुनसुकै बेला हात उठाउनुपर्ने बेला आउँदैछ । २ दिनदेखि अक्सिजन उद्योगमा धर्ना दिएर बल्ल केही सिलिन्डर हात पारें,’ पोखराको मेडिप्लस अस्पतालका दिवश कुँवरले भने, ‘५० जना कोभिडका बिरामी छन् । सबैलाई अक्सिजन दिनुपर्छ । दैनिक ५० वटा जति सिलिन्डर चाहिन्छ तर साह्रै आपत्मा छौं ।’

कोरोनाको बिरामी उपचार गर्ने चरक मेमोरियलका निर्देशक कपिल पोखरेलले पनि अक्सिजन पाउन निकै सकस भएको बताउँछन् । चरकमा ७४ जना कोरोनामा बिरामीको उपचार भइरहेको छ र सबैलाई हाइफ्लो अक्सिजन लगाउनुपर्ने अवस्था छ ।

‘अक्सिजनको चरम अभाव छ । रुपन्देहीमा एकैदिन अक्सिजन नपाएर ११ जनाको ज्यान गुमाएजस्तो यहाँ पनि त्यो अवस्था आउनसक्छ,’ पोखरेलले भने ।

पोखरा गण्डकी मेडिकल कलेजका प्रमुख प्रशासकीय अधिकृत कृष्ण घिमिरे अब पोखरामा पनि अक्सिजन अभावले संकट पैदा हुँदै गइरहेको बताउँछन् । अक्सिजन सिलिण्डर सरकारी अस्पतालले नै कब्जा गरिदिँदा निजी अस्पताल बञ्चित भएको आरोप उनीहरुको छ । तर, प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्य भन्छन्, ‘हामीले अझै अक्सिजनको अभाव खेपिरहेका छौं ।’

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?