
२ जेठ, काठमाडौं । चीनले अनुदानमा दिएको अक्सिजन सिलिण्डरका केही थान सांसदको घरमा भेटिएको भन्दै सामाजिक सन्जालमा पोष्ट गरिएको एक भिडियो अहिले भाइरल छ । भिडियोमा निलो रंगका सिलिण्डरहरु भुइँतलाको भर्याङसँगै राखिएको देखिन्छ ।
जनताले अक्सिजन सिलिण्डर नपाएर अस्पतालमा ज्यान गुमाइरहेको बेला सांसदले घरमा अक्सिजन सिलिण्डर थुपारेको भन्दै आक्रोश व्यक्त गरेको आवाज सो भिडियोमा सुनिन्छ ।
एक व्यक्ति भन्छन्, ‘सिलिण्डर देखियो घरमा लुकाएर राखेको छ ।’
अर्का व्यक्तिको आवाज सुनिन्छ– को छ यो घरमा ? यो सिलिण्डर कसको हो ?
‘यो त चाइना सरकारले दिएको, माननीय सांसदले ल्याएको रहेछ,’ अलि झर्किएको भावमा अर्का व्यक्ति भन्छन्, ‘यो त चाइना सरकारले दिएको सिलिण्डर होइन र ?’
भिडियोमा फेरि आवाज सुनिन्छ, ‘बानेश्वरलाई खबर गर्नुस् र यसलाई जफत गर्नुस् ।’
अक्सिजन सिलिन्डर कता हराउँछन ?
चाईना सरकारले दिएको अक्सिजन सिलिन्डर आउने बित्तिकै को माननियले घरमा लगेर थनक्याका हुन ?
नाम सर्बजनिक होस @NepalPoliceHQ
यो माहामारीमा यस्तो बुद्धि ?
यस्तैलाई हो टुडिंखेलमा ल्याएर नाक डाडी भाचिने गरि घुमाएर राउण्ड किक हान्नुपर्ने । pic.twitter.com/rnKA2kkobJ— Abhishek Raj Singh (@seeuabhishek) May 16, 2021
‘जनताको लागि राज्यको सम्पत्ति लुटें’
करिब एक मिनेटको भिडियोमा सुनिएको आवाज हो यो । यो भिडियो सार्वजनिक भएसँगै आक्रोशपूर्ण प्रतिक्रिया आएका छन् । भूकम्प पीडितका लागि ल्याइएको त्रिपाल सांसदहरुले लगेको घटनासँग पनि यसलाई कतिपयले तुलना गरेका छन् । उनीहरुले अक्सिजन सिलिण्डर घरमा राखेको सांसदको नाम सार्वजनिक गर्न भन्दै स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका छन् ।
अक्सिजन सिलिण्डर घरमा भेटिएको घटनामा मुछिएकी सांसद हुन् गंगा चौधरी । उनी दाङकी एमालेकी सांसद हुन् । उनले भनिन्, ‘राज्यले दिएको सम्पत्ति जनताको लागि लुटें । यो मेरो लागि होइन, लमही अस्पतालको लागि हो ।’
उनले आफ्नो व्यक्तिगत प्रयोजनका लागि नभई दाङको लमहीस्थित आइसोलेसन सेन्टरको लागि पाँच थान अक्सिजन सिलिण्डर घरमा ल्याएर राखेको बताइन् । उनले भनिन्, ‘दाङको लमहीस्थित कोभिड आइसोलेसन सेन्टरका लागि जम्मा गरेका अक्सिजन सिलिण्डर हुन् । ती सिलिण्डर लिएर म अहिले दाङ आइसकेको छु ।’ उनले अस्पतालको माग फारम, स्वास्थ्य विभागले दिएको भर्पाइ लगायतका सबै कागजपत्र आफूसँग रहेको बताइन् ।
सरकारको बदनाम गराउने प्रयास असफल भयो: चौधरी
सांसदले अक्सिजन सिलिण्डर घरमा ल्याएर राखेको सूचना पाएको भन्दै केही युवाहरु काठमाडौंको शान्तिनगरस्थित उनको डेरामा पुगेका थिए । सांसद चौधरीले ज्ञानेन्द्र शाही लगायतका युवा आफ्नो घरमा आएको र आफूले अस्पतालको लागि भनेर सबै कागजपत्र देखाएपछि उनीहरु फर्किएको बताइन् ।
चौधरीले भनिन्, ‘कसले सूचना दिएछ कुन्नी, उनीहरु होहल्ला गर्दै थिए, ठ्याक्कै म पुगेर सबै प्रमाण देखाएँ । त्यसपछि उनीहरु आफैं लज्जित भएर फर्किए, ज्ञानेन्द्र शाहीलगायत ।’
उनले सरकारलाई बदनाम गराउनका लागि यो सब भएको दाबी गरिन् । ‘कांग्रेस लगायतले नेपाल सरकारलाई बदनाम गराउनका लागि त्यो गर्न खोजेका थिए, तर असफल भए,’ उनले भनिन् ।
अन्य जिल्लाहरुमा जस्तै दाङमा पनि कोरोना संक्रमणको भयावह अवस्था रहेको भन्दै उनले अक्सिजन सिलिण्डरको जोहो गर्न आफूले प्रयास गरिरहेको बताइन् ।
प्रतिक्रिया 4