
२१ जेठ, काठमाडौं । कोरोना महामारीका बीच सर्वाधिक आरोहण अनुमति जारी भएको यो वर्षको वसन्त ऋतुको हिमाल आरोहण सकिएको छ ।
यो सिजनमा कुल १६ वटा हिमाल चढ्न ७४२ जना आरोहीले अनुमति लिएका थिए । यसमध्ये सगरमाथाका लागि मात्र ४ सय ८ जनाको आरोहण अनुमति जारी भएको थियो ।
यो एक सिजनमा जारी भएको अहिलेसम्मकै बढी थियो । पर्यटन विभागका अनुसार आरोहण अभियान सबै हिमालमा पुरा भएको छ । सगरमाथा आधार शिविरबाहेक सबै हिमालबाट आरोही फिर्ता भइसकेको विभागकी निर्देशक मिरा आचार्यले जानकारी दिइन् ।
‘सगरमाथाबाट केही आरोही र सहयोगी र्फकने क्रममा हुनुहुन्छ,’ उनले भनिन्, ‘अरु हिमालबाट सबैजसो फर्किसक्नु भयो ।’
काठमाडौं फर्किएपछि समेत होटेल क्वारेन्टिनमा बस्नुपर्ने प्रावधानका कारण कतिपय आरोही र उनीहरुका सहयोगी आधार शिविरबाट पदयात्रा गर्दै र्फकने क्रममा रहेको उनले जानकारी दिइन ।
पर्याप्त उडान नखुलेका कारण काठमाडौं आएपछि पनि यात्रुले आफ्नो मुलुक र्फकन पालो कुर्नुपर्ने छ ।
तथ्यांक विश्लेषण शुरु
यो वर्ष कति जनाले सफल आरोहण गरे भन्ने तथ्यांक आउन भने केही समय लाग्ने निर्देशक आचार्यले जानकारी दिइन् । यो वर्ष सफल आरोहण गरेका आरोहीको संख्या कम्पनीहरुले गर्ने बि्रफिङपछि मात्र निश्चित हुने उनको भनाइ छ ।
यो पटक अनलाइन डि-बि्रफिङ र त्यसपछि डि-बि्रफिङ गरिँदैछ । अनलाइन डि-बि्रफिङ नभरेमा आरोहण प्रमाणपत्र जारी हुँदैन । यस बेला आरोहण दलका सदस्य के-कुन माध्यमबाट के कसरी काठमाडौं आइपुगे भन्ने विवरण समेत राख्नुपर्छ ।
डि-बि्रफिङका दौरान पर्वतारोहणमा जाने दल सम्बद्ध एजेन्सीले आरोहणका गतिविधि समेटेर सफल/असफल आरोहीको विवरण सहितको प्रतिवेदन विभागमा पेश गर्नुपर्छ । त्यससमय सम्बन्धित दलको सम्पर्क अधिकृत अनिवार्य उपस्थित भई आफू खटिई गएको दलबारे विवरण समेत पेश गर्नुपर्ने गरी नियम बनाइएको छ ।
‘संख्या यकिन गर्न केही समय लाग्ने भयो,’ उनले भनिन्,’तर, महामारीको समयमा पनि सफलतापूर्वक सम्पन्न आरोहण अभियानले नेपालको पर्यटन क्षेत्रलाई भने सकारात्मक उर्जा दिएको छ ।’
४ जनाको मृत्यु
यो वर्ष सगरमाथामा कुल ४ जनाको मृत्यु भएको छ । सगरमाथामा औसतः ७ जनाको मृत्यु हुने गरेको रेकर्ड छ । पर्यटन विभागका अनुसार यो वर्ष दुई जना आरोही र दुई जना शेर्पाको निधन भएको छ ।
निधन भएकामध्ये एक जना शेर्पा दुर्घटनामा परेका थिए । दुई आरोही र एक सहयोगीको भने उचाईका कारण भएको समस्याले निधन भएको हो । मृत्यु हुनेमा एक जना अमेरिकी र एक जना स्वीस नागरिकको ज्यान गएको हो ।
कामीरिताको रेकर्ड
यो वर्ष कीर्तिमानी आरोही कामीरिता शेर्पा २५ औं पटक सगरमाचाको चुचुरोमा पुग्दै रेकर्ड राखेका छन् ।
उनले यो पटक सगरमाथामा आइसफल डाक्टरहरुको नेतृत्व गर्दै उनी चुचुरो पुगेका थिए । १३ मे १९९४ मा पहिलो पटक सगरमाथा चुचुरो चुमेका कामीरिताको नाममा ८ हजार मिटर अग्ला चुचुरोमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान समेत रहेको छ ।
छिटो सगरमाथा चढ्ने महिलाको कीर्तिमान
हङकङकी आरोही साङ यी हङले सगरमाथामा सबैभन्दा छिटो आरोहण गर्ने महिला आरोहीको कीर्तिमान राखेकी छिन् । उनले ८ जेठमा दिउँसो १ बजेर २० मिनेटमा सगरमाथाको आधार शिविरबाट उकालो लागेकी थिइन् ।
९ जेठ आइतबारको दिन दिउँसो ३ बजेर १० मिनेटमा चुचुरो पुगेकी थिएन् । यसअनुसार उनले २५ घण्टा ५० मिनेटमा चुचुरो चुम्न सफल भएकी छिन् । यसअघि नेपालकी आरोही फुन्जो झ्याङ्मु लामाको नाममा छिटो आरोहणको कीर्तिमान रहेको थियो ।
उनले १५ मे २०१८ मा ३९ घण्टा ६ मिनेटमा सगरमाथा चढेर छिटो चढ्ने कीर्तिमान राखेकी हुन् । पुरुषतर्फको कीर्तिमान भने पेम्बा दोर्जे शेर्पाको नाममा छ । उनले सन् २००४ मा राखेको ८ घण्टा १० मिनेटको रेकर्ड त्यसयता कसैले पनि तोड्न सकेको छैन ।
प्रतिक्रिया 4