
२६ जेठ, पोखरा । गण्डकी प्रदेश सभा सांसद प्रभा कोइराला करिब १० जना लिएर बुधबार प्रदेश सभा भवन प्रांगणमा पुगिन् र, कोभिशिल्ड खोप लगाएर पठाइन् ।
‘एक जना न्यौपाने बाबु हो, अर्को मेरो ठूलो ममी हो । विदेश जान अब १० दिनमात्रै बाँकी रहेछ,’ आफूले दुवै डोज लगाइसकेकी सांसद कोइरालाले भनिन्, ‘दिवासिरी मल्ल कोइराला हो एक जना, सुवास अधिकारीलाई औषधि धेरै खानुपर्ने भएर मिलाएको हो । उनीहरु मेरो कार्यकर्ता हुन् ।’
प्रदेश सभा सचिवालयको पहलमा दोस्रो डोज लगाउन बाँकी सांसद र स्वकीय सचिव, चालकलाई खोप बन्दोबस्त गरिएको थियो । तर सांसदले परिवारका सदस्य, आफन्त र कार्यकर्तालाई खोप दिलाएका छन् ।
नेपाली कांग्रेस सांसद मेखलाल श्रेष्ठ खोप लगाउन आउनेलाई लाइन लगाउनेदेखि कार्ड दिलाउनेसम्म सबै काम आफैं गरिरहेका थिए ।
माओवादी केन्द्रका सांसद रामजी बरालले माओवादी प्रदेश अध्यक्ष हितराज पाण्डेसहित ५ जना कार्यकर्ताको नाम टिपाएका थिए । कांग्रेस सांसद कोपिला बोहोराले आफ्नै परिवारकी गीता बोहोरा र निरुता बोहोराको नाम टिपाउँदै खोप दिलाइन् । सांसद इन्द्रधारा विष्टले स्वकिय सचिवको नाममा श्रीमतीलाई खोप दिलाए ।
सांसद डोबाटे विक, कुमार खड्का, धनञ्जय दवाडी, दीपक चर्तीमगर, दीपक कोइराला, मायानाथ अधिकारी मीना गुरुङ, महेन्द्रबहादुर थकाली, गायत्री गुरुङ, विनोद केसी, चन्द्रबहादुर बुढा, पियारी थापा, धनमाया लामा पोखरेल लगायतले परिवारका सदस्यलाई खोप दिलाए ।
दोस्रो डोज लगाइसकेका सांसदले पनि आफन्त र कार्यकर्तालाई खोप दिलाए । अधिकांश सांसदले श्रीमती, छोरा, भाइ, सालासालीलाई स्वकिय सचिव बनाएका छन् । कतिपय सांसदले स्वकिय सचिव र हुँदै नभएको ड्राइभरको नाममा आफन्त र कार्यकर्तालाई कोरोना खोप दिलाएका छन् ।
‘मैले नाम टिपाएको त कोही आफन्त र परिवारका थिएनन्, सबै पार्टीका नेता र कार्यकर्तामात्र थिए’ सांसद रामजी बराल भन्छन्, ‘धेरै माननीयमा परिवारका सदस्यलाई खोप लगाउन लोभ गर्नुभयो ।’
सांसद मात्र होइन, प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीले श्रीमती र छोरीलाई कोरोना खोप दिलाएको पाइएको छ ।
प्रदेश सभा सचिवालयका अनुसार २६ जनाबाहेक सबै सांसदले यसअघि नै दोस्रो डोज खोज लगाइसकेका थिए । २६ जना सांसद, तिनका स्वकिय, चालक र कर्मचारी गरी ५६ जनालाई खोप लगाउन नाम टिपाइएको थियो ।
तर, बुधबार ८७ जनाले खोप लगाए, जसमा पहिलो पटक खोप लगाउनेको संख्या ४२ छ ।
जिल्ला जनस्वास्थ्य प्रमुख बाबुराम पौडेलका अनुसार लक्षित वर्गलाई छुट्याइएको खोपबाट सांसदहरुलाई व्यवस्था गरिएको बताए । कोरोनाका बिरामी हेर्न खटिएका र खोप लगाउन छुटेका स्वास्थ्यकर्मीका लागि दोस्रो डोजका लागि आएको खोपबाट सांसदलाई पनि दिइएको थियो । तर त्यसको दुरुपयोग भएको छ ।
पहिलो डोज लगाएका चार सांसदमध्ये खिमविक्रम शाही र लक्ष्मी सुनारले बुधबार लगाए । सांसद पियारी थापा र हरिशरण आचार्यले अझै लगाएका छैनन् । हालै कोरोनामुक्त भएका कारण खोप नलगाएका हुन् ।
दोस्रो डोज नलगाएका सांसदहरूले पनि लगाए । धेरैले चाहिँ परिवारका सदस्य, आफन्त र कार्यकर्तालाई खोप दिलाए ।
‘५५/६० जना होलान् भन्ने थियो, तर ८५ जनाले खोप लगाउँदा पनि दबाब बढेपछि खोप लिन जान्छौं भनेर हिँड्नुपर्यो,’ एक स्वास्थ्यकर्मीले बताए । दोस्रो डोज कोभिसिल्ड नभएर अर्कै लगाउनुपर्ने अवस्था आउने स्वास्थ्यकर्मीले बताएका थिए । तर दलका कार्यकर्ता र सांसदका आफन्तहरु मानेनन् । दोस्रो डोज कहिले आउने पत्तो छैन, कोभिशिल्डको पहिलो डोज किन लगाउनुहुन्छ ? भन्दा पनि नमानेको जनस्वास्थ्य कार्यालयका तथ्यांक अधिकृत विष्णुप्रसाद पौडेलले बताए ।
अनि सचिवलाई सांसदले झपारे…
संसद सचिवालय अगाडि खोप लगाउन सांसदहरुले बोलाएका आफन्त र कार्यकर्ताको भीडभाड कायमै थियो ।
कास्कीबाट निर्वाचित प्रदेश सभा सांसद कृष्ण थापालाई त्यो दृश्य चित्त बुझेन र प्रदेश सभा सचिव हरिराज पोखरेलसँग आक्रोस पोख्न पुगे । खोप लगाउने नाममा गाईजात्रा भएको थापाले बताए । ‘सांसदका छोराछोरीले खोप लगाउने हो यहाँ ? हाम्रा छोराछोरी छैनन् ? के भन्छन् मान्छेले ?’ सांसद थापाले सचिव पोखरेललाई प्रश्न गरे ।
सांसदले जबर्जस्ती गरेर यति पनि गर्न सक्नुहुन्न भनेको सचिव पोखरेलको जवाफ थियो ।
‘नियमानुसार हुन्न भन्न सक्नुहुन्न ? सांसद थापाले झपारे, ‘मानिसहरु यत्तिकै आएर बसेको होइन, लिएर आएको हो । त्यति पनि थाहा छैन हामीलाई ? यस्तो बेइज्जेत पनि गर्न हुन्छ ?’
प्रतिक्रिया 4