+
+

कांग्रेस महाधिवेशन भदौ १६ बाट

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २९ गते १८:०३

२९ जेठ, काठमाडौं । नेपाली कांग्रेसले १४औं महाधिवेशनको मिति ९ दिन पर सार्ने भएको छ । क्रियाशील सदस्यता नै टुंगो लगाउन नसकेपछि शनिबार बसेको कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकमा महाधिवेशनको पूर्व निर्धारित कार्यतालिका संशोधन गर्ने निर्णय गरेको छ ।

पूर्वनिर्धारित कार्यतालिकाअनुसार असार ५ बाट वडा तहको अधिवेशन सुरु भएर भदौ ७ देखि १० गतेसम्म महाधिवेशन हुनुपर्ने हो । तर अहिलेसम्म क्रियाशील सदस्यता टुंगो लगाउन सकेको छैन ।

पार्टीको केन्द्रीय डेटा सिस्टममा करिव ८ लाख क्रियाशीलको विवरण आएको छ । तर कतिपय जिल्लाबाट आउन बाँकी छ । आएका क्रियाशील सदस्यको विवरण सार्वजनिक गरेर उजुरी आहृवान गर्नुपर्छ । यसरी आएका उजुरी छानविन गर्न रमेश लेखकको नेतृत्वमा क्रियाशील छानविन समिति बनेको छ ।

शनिबारको बैठकमा महामन्त्रीले पेश गरेको संशोधित कार्यतालिकामा क्रियाशील सदस्यता छानविनको म्याद २० असारसम्म थप गर्ने उल्लेख छ । यो अवधिमा बाँकी रहेको क्रियाशील सदस्यता वितरण तथा नवीकरणका साथै छानविन सक्ने सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।

२४ जेठभित्र समितिको प्रतिवेदन केन्द्रीय कार्यसमितिबाट अनुमोदन गरिनेछ भने साउन ६ गते वडा तहको अधिवेशन हुनेछ ।

गाउँ र नगरपालिका अधिवेशन साउन ११ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन १६ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तथा एक प्रतिनिधिसभा क्षेत्र भएका जिल्लाको अधिवेशन साउन २० गते हुने प्रस्ताव गरिएको छ । त्यस्तै एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाहरूमा साउन २४ गते जिल्ला अधिवेशन हुनेछ भने  प्रदेश अधिवेशन २०७८ भदौ १ र २ गते हुनेछ ।

केन्द्रीय महाधिवेशन भने भदौ १६ देखि १९ गतेसम्म गर्ने महामन्त्रीको प्रस्ताव रहेको सहमहामन्त्री महतले बताए ।

कांग्रेसको वर्तमान कार्यसमितिले सुरुको चार वर्ष र विधानअनुसार थप गरेको एक वर्ष म्याद फागुन २०७७ मा गुजारिसकेको छ । संविधानिक व्यवस्था अनुसार लिन पाउने थप ६ महिना यही भदौ २३ मा सकिँदैछ । त्यसैले जसरी पनि महाधिवेशन गरेर पार्टीको वैधानिकता जोगाउनुपर्ने दबावमा कांग्रेस छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?