+
+

गण्डकीका मुख्यमन्त्रीले पर्सि विश्वासको मत लिने, त्यसपछि मन्त्रालय बाँडफाँट

अमृत सुवेदी अमृत सुवेदी
२०७८ असार २ गते १४:५२

२ जेठ, पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन् । असार ४ गते नै विश्वासको मत लिएर मन्त्रालय बाडफाँट टुंग्याउने र प्रदेशसभामा बजेट छलफल अघि बढाउने पोखरेलको तयारी छ । जेठ २९ गते मुख्यमन्त्री नियुक्त भएका उनलाई विश्वासको मत लिन एक महिना समय भए पनि मन्त्रालय बाँडफाँटअघि नै विश्वासको मत लिएर ढुक्क हुन खोजेका हुन् ।

‘४ गते नै विश्वासको मत लिएर मात्र बजेटमाथि छलफल र मन्त्रालय बाँडफाँटको टुंगो लाग्ने भएको छ,’ सरकारका प्रवक्तासमेत रहेका मन्त्री कुमार खड्काले भने, ‘यसका लागि प्रदेशसभा सचिवालयमा सूचना दर्ता भइसकेको छ ।’

नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका नेता पोखरेल नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र एक स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् । गठबन्धनमा रहेको दलमध्ये राष्ट्रिय जनमोर्चाले सरकारमा सहभागी नहुने तर गुण र दोषको आधारमा समर्थन र विरोध गर्ने बताएको छ । अरु दलभित्र भने मन्त्री र मन्त्रालयका विषयमा विवाद छ ।

हाल विना विभागीय मन्त्री रहेका कांग्रेसका कुमार खड्का र जनता समाजवादी पार्टीका हरिशरण आचार्यले आर्थिक मामिला तथा योजना मन्त्रालय ताकेका छन् । आचार्यले आर्थिक मामिला नपाए भौतिक पूर्वाधार मन्त्रालय चाहिने अडान राखेका छन्, भौतिक पूर्वाधारमा नै स्वतन्त्र सांसद दीपक मनाङेको दाबी छ ।

मन्त्रालयको बाँडफाँटका कारण विवाद हुन सक्ने भएकाले त्यसअघि नै विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री पोखरेल छन् ।

प्रदेशका ११ मन्त्रालयमध्ये कांग्रेस र माओवादीलाई ४/४, जनता समाजवादीलाई २ र एक स्वतन्त्र मनाङे गरी ११ मन्त्रालय बाँडफाँट हुने एक नेताले बताए ।

को–को आकांक्षी ?

प्रदेश सरकारमा कांग्रेसका मणिभद्र शर्मा, भागवतप्रकाश मल्ल, मेखलाल श्रेष्ठ, डोबाटे विक, ओमकला गौतम लगायत मन्त्रीका लागि आकांक्षी छन् । कुमार खड्काले मन्त्रीको शपथ लिएपछि कास्कीका सांसद बिन्दुकुमार थापाको सरकारमा जाने सम्भावना टरेको कांग्रेसकै सांसदले बताएका छन् ।

माओवादीमा सभामुखबाहेकका ११ जना सांसदमा सबै जना आकांक्षी हुन् । धेरै जनाको आकांक्षा भएकै कारण २९ गते मधु अधिकारी गुरुङलाई मात्र शपथ लिन पठाइएको एक सांसदले बताए ।

कास्कीमा अहिले अर्थ तथा विकास समिति सभापति रहेका दीपक कोइराला र रामजी बरालबीच मन्त्री बन्न प्रतिस्पर्धा छ । सचेतक गायत्री गुरुङ पनि मन्त्रीको आकांक्षी छिन् । हरिबहादुर चुमान, लेखबहादुर थापा यसअघि नै मन्त्री भएकाले यसपटक अरुलाई पालो दिने भनिएको छ ।

आशा कोइराला यसअघि नै संघीय सरकारको मन्त्री भइसकेकी हुन् । स्याङ्जाका दीपक घर्तीमगर पनि मन्त्रीका लागि लबिङ गरिरहेका छन् । साविक धौलागिरीबाट चन्द्र बुढा, विनोद केसी र दीपा रोकामध्ये एक जना मन्त्री हुने अनुमान छ । माओवादीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सुझाव लिएर मन्त्री छान्ने बताएको छ ।

जनता समाजवादी पार्टीबाट हरिशरण आचार्य र धनमाया लामा पोखरेलले एकै दिन सपथ खाने बताएका थिए । तर, २९ गते आचार्यलाई मात्र शपथ खुवाइएको भन्दै सांसद पोखरेलले असन्तुष्टि जनाएकी छन् ।

जसपाले सबै लिखित सहमति गरेर मात्र सरकारमा जाने अडान लिएको थियो । अन्तिममा आचार्यले कुनै सहमति नगरी मन्त्रीको सपथ खाएको भन्दै लामाले आपत्ति जनाउँदै आएकी छन् ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?