+
+

पर्यटक आगमन पुरानै लयमा फर्कन अझै दुई वर्ष लाग्ने

अच्युत पुरी अच्युत पुरी
२०७८ असार ४ गते ७:२०

३ असार, काठमाडौं । कोरोना भाइरसको महामारीका कारण अतिप्रभावित बनेको पर्यटन क्षेत्र सामान्य अवस्थामा फर्कने अझै दुई वर्ष लाग्ने भएको छ । सरकारले स्वयम्ले यस्तो प्रक्षेपण गरेको हो ।

राष्ट्रिय योजना आयोगले तयार पारेको मध्यमकालीन खर्च संरचनाको प्रक्षेपणअनुसार पर्यटक आगमन सन् २०१९ कै अवस्थामा फर्काउन अर्को दुई वर्ष लाग्ने छ ।

आर्थिक वर्ष अनुसार २०७६/७७ मा ११ लाख ९७ हजार जना रहेको पर्यटक आगमन चालु आर्थिक वर्ष २०७७/७९ मा पछिल्लो दुई दशकयताकै सबैभन्दा कम २ लाख ३० हजार जनामा झर्नेछ ।

आगामी आव २०७८/७९ मा यो संख्यामा सामान्य वृद्धि भई ५ लाख जना सम्म पुग्ने अनुमान सरकारले गरेको छ । त्यसपछिको आर्थिक वर्ष २०७९/८० मा मात्र पर्यटक आगमन ११ लाख रुपैयाँ पुग्ने भएको छ । यो संख्या आव २०७६/७७ मा आएको पर्यटक संख्या हाराहारी हो ।

१५ औं आवधिक योजनाको अन्तिम वर्ष आव २०८०/८१ मा भने वाषिर्क १५ लाख पर्यटक पुग्ने अनुमान गरिएको छ । सरकारले सन् २०२० मै वाषिर्क २० लाख पर्यटक भित्राउने लक्ष्य लिएको थियो । आगामी तीन वर्षमा समेत यो लक्ष्य भने पुरा नहुने स्वीकार सरकारले गरेको छ ।

उता, निजी क्षेत्र समेत अन्यौल कायम रहेका कारण तत्काल पर्यटन क्षेत्र कसरी अगाडी बढ्छ भन्ने नसक्ने अवस्थामा रहेको छ । होटेल संघ नेपाल -हान)का प्रथम उपाध्यक्ष विनायक शाह अहिले यो क्षेत्र कुहिरोभित्र हराएको काग जस्तै भएको बताउँछन् ।

‘हामी अब कसरी अगाडि बढ्ने हो, लक्ष्य भेटाउन के गर्ने भन्ने बारे स्पष्ट नै छैन,’ उनले अनलाइनखबरसँग भने, ‘कोभिड न्यून भएपछिको तयारी खै त ?

अन्तर्राष्ट्रिय पर्यटक आगमनको लक्ष्य

आव २०७६/७७ : ११ लाख ९७ हजार

आव २०७७/७८ : २ लाख ३० हजार

आव २०७८/७९ : ५ लाख

आव २०७९/८० : ११ लाख

आव २०८०/८१ : १५ लाख

स्पष्ट रणनीति छैन

नेपालमा विदेशी मुद्रा भित्राउने मूख्य माध्यम विदेशी पर्यटक मानिन्छन् । स्वयम् पर्यटकबाट हुने आम्दानी भन्दा बढी होटेल, हवाई यातायात, होमस्टे, पर्यटक यातायात र साहसिक पर्यटकीय गतिविधि र कृषिमा यो क्षेत्रले ठूलो योगदान गरेको छ ।

तर, सरकारसँग कोभिड महामारीका बीच सुरक्षित रुपमा पर्यटक ल्याउने वातावरण बनाउने सम्बन्धमा ठोस रणनीति भने छैन ।

आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकलाई एक महिना अवधिको पर्यटकीय भिषा निःशुल्क प्रदान गर्ने उल्लेख छ ।

तर, नेपाल आउन सहजिकरण गर्ने सम्बन्धमा सरकारले थप तयारी भने गरेको छैन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अधिकारीहरु अहिले महामारीको अवस्था हेरी स्वास्थ्य मन्त्रालयबाट प्राप्त हुने स्वास्थ्य प्रोटोकलमै आधारित भई पर्यटक आगमन सम्बन्धी नीति लिनुपर्ने भएकाले ठोस रणनीति नआएको बताउँछन् ।

बजेटले आन्तरिक पर्यटक प्रवर्द्धन गर्न लिएको सरकारी कर्मचारीको काज बिदालाई मात्र प्रभावकारी बनाउँदा समेत मुलुक भित्र पर्यटकीय गतिविधि भने अगाडी बढ्ने उनीहरुको भनाइ छ ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मी यो कार्यक्रमले पर्यटनलाई जिवित राख्न ठूलो योगदान पुग्ने बताउँछन् । विदेशी पर्यटक आगमन नबढेसम्म पर्यटन बोर्डको आम्दानी समेत बढ्दैन । केन्द्रको सिको गर्दै प्रदेश सरकारहरुले भने पर्यटन काज बिदालाई बजेटमा राखेका छन् ।

पर्यटन काज विदाले विदेशी पर्यटक नआएसम्मका लागि नेपाल भित्र पर्यटकीय गतिविधि कायम राख्न र व्यवसाय बचाउन योगदान पुग्ने नेपाल एसोसिएसन अफ टूर्स एण्ड ट्राभल एजेण्ट्स (नाट्टा)का अध्यक्ष अच्युत गुरागाइँ बताउँछन् ।

व्यवसायीहरुका अनुसार सरकारले कम्तिमा खोपको मात्रा पुरा गरेर  आउनेहरुलाई आगमन सहज गर्ने, क्वारेन्टिनका कडा प्रावधानलाई सहज बनाई परीक्षण बढाइ आगमन सहज बनाउने हो भने आगमन छिट्टै सामान्य हुने बताउँछन् ।

जोखिम कायम छ

मध्यमकालीन खर्च संरचनामार्फत सरकार स्वयम्ले स्पष्टसँग पर्यटनमा आगामी आवहरुका लागि तोकिएका लक्ष्य प्राप्तीमा चूनौती देखेको छ । उक्त प्रक्षेपणमा भनिएको छ, ‘कोभिड १९ बाट पर्यटन क्षेत्रमा परेको प्रतिकुल असरबाट पर्यटन क्षेत्रको पुनरुत्थान गर्न तथा पर्यटन क्षेत्रका कार्यक्रमको प्राथमिकीकरण गरि उपरोक्त अनुसारको कार्यक्रम कार्यान्वयन गर्न उपयुक्त वातावरणको निर्माण हुने छ ।’

अघि भनिएको छ,’आवश्यक वित्तीय तथा मानवीय स्रोत र विकासमैत्री वातावरण कायम रहने छ भन्ने अनुमान गरिएको छ । उक्त स्थिति नरहेमा वा कायम हुन नसके सरोकारवाला निकायको समन्वयात्मक प्रयास हुन नसके यस क्षेत्रको लक्षित उद्देश्य हासिल नहुने जोखिम रहन्छ ।’

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?