Comments Add Comment

कांग्रेसको बहिस्कारपछि काठमाडौंको नगरसभा दुई दिनका लागि स्थगित

सर्वसम्मत रुपमा नीति कार्यक्रम र बजेट पास हुन्छ : मेयर शाक्य

४ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक गरेको आर्थिक बर्ष २०७८/२०७९को नीति तथा कार्यक्रममाथिको छलफल आइतबारसम्मका लागि स्थगन भएको छ ।  असार ३ गते काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नवौं नगरसभाको पहिलो वैठकमा नीति-तथा कार्यक्रम सार्वजनिक गरेको थियो ।

तर, उपमेयरसहित काँग्रेस निकटका जनप्रतिनिधिले नीति-तथा कार्यक्रमबारे केही अध्ययन गर्न दुई दिनको समय माग गरेपछि प्रमुख शाक्यले आजको छलफलमा दुई दिनका लागि स्थगन गरेको जानकारी दिए ।

काठमाडौँ महानगरपालिकाको नवौं अधिवेशन हिजो बिहीबारबाट सुरु भयो । ‘हिजोको बैठकमा नेपाली कांग्रेसका तर्फबाट उपमेयरलगायत धेरैजसो साथीहरु अनुपस्थित रहनुभयो,’ शाक्यले भने, ‘मैले हिजो नै उपमेयरलगायत अन्य साथीहरुसँग पनि छलफल गरेँ ।  आज बिहान पनि उपमेयरलगायतका नेपाली काँग्रेसबाट निर्वाचित वडाध्यक्षहरुसँग छलफल भयो । उहाँहरुले नीति-तथा कार्यक्रम अध्ययन गर्न दुई दिनको समय माग गर्नुभयो । त्यही अनुसार आज बैठक बसेर आइतबार ११ बजे सभागृहमै नीति-तथा कार्यक्रममाथिको छलफल गर्ने गरी नवौं अधिवेशन स्थगन गरिएको छ ।’

प्रमुख शाक्यले असार १० गते बजेट ल्याउनैपर्ने कानुनी बाध्यतालाई समेत ध्यानमा राखेर नेपाली कांग्रेसका तर्फका जनप्रतिनिधिसँग सघन छलफल गरेको बताए ।

‘विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि सर्वसहमतिले नीति-कार्यक्रम र बजेट पारित गर्ने गरी अघि बढ्छौँ,’ उनले भने, ‘विगतका वर्षमा पनि हामी सर्वसहमतिमा अघि बढेको छौँ । मलाई विश्वास छ । यो वर्ष पनि त्यस्तै हुन्छ । नीति-तथा कार्यक्रममा त्यस्तो असहमति राख्नुपर्ने केही छैन । अझ सघन अध्ययन गरेर जान पाए राम्रो भन्ने उहाँहरुको सझुावलाई सारकात्मक रुपमा लिएको छुु ।’

नगरसभामा पेस भएको नीति तथा कार्यक्रमलाई अझ परिपक्व बनाउन उहाँहरुबाट गहकिलो सुझाव आउने अपेक्षा लिएको पनि उनले बताए ।

‘बजेट पेस गर्ने उपमेयरले नै हो, मैले त्यो विषयमा पनि उहाँहरुलाई जानकारी गराएको छु ।  बजेट तर्जुमा समितिको संयोजक नै उपमेयर हुने भएकाले त्यो विषयमा उहाँहरु जानकार हुनुहुन्छ भन्ने ठानेको छु,’ शाक्यले भने, ‘हामी १० गते बजेट पेश गर्छौ । त्यसपछि पनि लामो समय व्यापक छलफल गरेर बजेट पास गर्छौ ।’

शाक्यले नीति तथा कार्यक्रममा १ सय बेडको ‘काठमाडौँ महानगर विशेष अस्पताल’ स्थापना गर्ने, विद्युतीय सवारी करमा शतप्रतिशत छुट दिने, कोभिड-१९ को महामारीबाट प्रभावित करदातालाई विशेष छुट/सहुलियत दिने, महानगरवासीलाई ‘नागरिक स्वास्थ्य विमा कार्यक्रम’, ‘एक वडा एक नमूना विद्यालय कार्यक्रम’ सहरी स्वाथ्य क्लिनिकबाट विशेषज्ञ चिकित्सकसहितको निःशुल्क सेवा जस्ता महत्वपूर्ण कार्यक्रम ल्याएको जानकारी पनि दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment