+
+

सर्वोच्चको फैसलाले प्रतिगमनको यात्रामा ‘ब्रेक’ लगाएको छः डा. भट्टराई

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २८ गते १४:२२

२८ असार, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा विघटनमा सर्वोच्चको पछिल्लो फैसलाले प्रतिगमनको यात्रामा ‘ब्रेक’ लगाएको प्रतिक्रिया दिएका छन् ।

सोमबार सर्वोच्चको फैसलालगत्तै अनलाइनखबरसँग कुरा गर्दै डा. भट्टराईले सर्वोच्चको फैसला सकरात्मक रहेको र यसले प्रतिगमनको यात्रामा ब्रेक लगाएको प्रतिक्रिया दिएका हुन् । सर्वोच्चको फैसलापछि पनि प्रतिगमनकारी शक्तिहरु फरक ढंगले षड्यन्त्रमा लागिरहने उनको निष्कर्ष छ ।

डा. भट्टराईसँग गरिएको संक्षिप्त कुराकानी-

संसद विघटनमा सर्वोच्चको फैसलाबारे यहाँको प्रतिक्रिया के छ ?

सर्वोच्चले स्वागतयोग्य फैसला गरेको छ । गत पुस ५ गतेबाट प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानविपरित गएर जनताबाट निर्वाचित प्रतिनिधिसभालाई पटकपट विघटन गर्ने जुन दुश्प्रयास भइरहेको थियो, त्यसलाई सर्वोच्चको पहिलो फैसलाले सच्याउने प्रयास गर्दागर्दै दोस्रोपटक पनि जुन हर्कत दोहोर्‍याए, यसमा सर्वोच्च अदालतले पुनः प्रधानमन्त्रीको निर्णय खारेज र संविधान अनुरुप नै वैकल्पिक सरकार बनाएर अगाडि बढ्ने जुन परमादेश जारी गरेको छ, यो सकरात्मक छ । यसले प्रतिगमनको यात्रामा ब्रेक लगाएको छ ।

अब तपाईंहरूले भन्ने गरेको प्रतिगमनको खतरा टर्‍यो ? 

प्रतिगमनकारी शक्तिहरुले जुन ढंगले सुनियोजित र बदनियतपूर्ण ढंगले हिजो जस्ता हत्कण्डाहरू अपनाइरहेका छन्, उनीहरुले यस्ता दुश्प्रयत्नहरू फरक ढंगले पुनः जारी राख्न सक्छन् । हामी सबैजना जनताबाट निर्वाचित संविधानसभाले बनाएको संविधानको जगेर्ना गर्ने र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै यसका कमिकमजोरीहरुलाई सच्याउने प्रयत्नमा रहेका जसपाजस्ता वैकल्पिक राजनीतिक शक्तिहरुले असाध्यै सतर्कतापूर्वक यसबाट पाठ सिकेर अगाडि बढ्नुपर्छ ।

यो फैसलाले फुटउन्मुख भएको जसपाको विवादमा कस्तो प्रभाव पार्ला ? 

कसरी जान्छ हेरौं । जसपाजस्तो एउटा वैकल्पिक राजनीतिक शक्तिलाई पनि फुटाउने र केही सत्तालोलुप व्यक्तिहरुलाई परिचालन गरेर वैकल्पिक शक्तिको घाँटी निमोठ्ने जुन प्रयत्न भइरहेको थियो, त्यसलाई पनि यो निर्णयले एउटा सकरात्मक दिशातर्फ अगाडि बढ्न पक्कै पनि प्रेरित गर्नेछ । हामी जसपाको तर्फबाट यो निर्णयको स्वागत गर्दछौं र सतर्कतापूर्वक संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै अगाडि बढ्छौं ।

आइतबार राति एमाले विवाद समाधानउन्मुख भएको खबर आयो । सर्वोच्चको यस्तो फैसला आयो । अब विपक्षी गठबन्धनको भविष्य कस्तो हुन्छ ?

केही मैले अघि पनि संकेत गरिसकेँ । प्रतिगमनकारी शक्तिले फेरि पनि विभिन्न ढंगले षड्यन्त्र जारी गर्न सक्छन् । जसपालाई फुटाउने जुन प्रयत्न भइरहेको छ र एमालेभित्रको अग्रगमन पक्षधर शक्तिहरू छन्, उनीहरुलाई भुत्ते र कमजोर पार्ने प्रयत्न भइरहेको छ । त्यसमा हामी सतर्क हुँदै पाँच दलीय गठबन्धनमा जोडिएका शक्तिहरु एकतावद्ध भएर प्रतिगमनलाई परास्त गर्ने दिशामा अगाडि बढ्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?