
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ढिलै सही एमबीबीएस पठनपाठन हुने भएको छ । कर्णालीवासीको सपना र धेरै अग्रजको मिहिनेत पूरा हुँदा कर्णालीवासी खुशी छन् । यो ऐतिहासिक उपलब्धिको कारण सिटामोलको अभाव हुने कर्णालीमा चिकित्सक उत्पादन हुनेछन्, स्वास्थ्य सेवाको उपलब्धता बढेसँगै समग्र देशकै स्वास्थ्य सूचकाङ्कमा सुधार हुनेछ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापनाको उद्देश्य, त्यसको अवस्थिति, यसले हेर्न सक्ने कार्यक्षेत्र र यसले सम्पन्न गरेको विगतको कामको आधारमा भन्ने हो भने यो संस्था पिछडिएको क्षेत्रको स्वास्थ्य स्थिति मजबूत बनाउने मानकको रूपमा स्थापित भएको छ । यसलाई सिंगो देशको स्वास्थ्य स्थितिमा प्रत्यक्ष सकारात्मक असर पार्न सक्ने प्रमुख संस्था मान्न हिच्किचाउनुहुँदैन । किनकि यो पिछडिएका १३ जिल्लाको स्वास्थ्य क्षेत्र हेर्ने एक मात्र विशिष्टीकृत संस्था हो ।
अहिले म यस प्रतिष्ठानको उपकुलपतिको भूमिकामा संस्थाको नेतृत्व गर्न आएको छु । मलाई चुनौतीका पहाडका विषयमा राम्रोसँग अवगत छ । साथसाथै अवसरहरू पनि धेरै देखेको छु । प्रतिष्ठानलाई यो ठाउँसम्म ल्याउन प्रत्यक्ष रूपमा शुरुआती चरणदेखि नै सहभागी भएका कारण म चुनौती सामना गर्ने हिम्मतको साथ नेतृत्वमा आएको हुँ ।
यो प्रतिष्ठान फरक भूगोल भएको कारण मात्र फरक छैन, यो सञ्चालनको सोच पनि फरक छ । आधारभूतदेखि विशिष्टीकृत र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै एमबीबीएस, एमडी, एमएस, जनस्वास्थ्य र नर्सिङ लगायतका चिकित्सा र एलाइड साइन्सका कोर्सहरू मार्फत चिकित्सा सेवा र शिक्षाको पहुँच बढाई अन्तर्राष्ट्रियस्तरको अनुसन्धान प्रणाली विकास गर्ने प्रतिष्ठानको लक्ष्य छ । यो लक्ष्यको अहिले हामी प्रारम्भिक चरणमा छौं, यसको प्रतिफल प्राप्त गर्न केही समय लाग्छ, हामी प्रतीक्षा गरेर थाकेका छैनौं ।
कर्णाली क्षेत्रका समग्र १३ वटा जिल्लालाई एउटा मोडलको रूपमा विकास गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई देशको सबैभन्दा उत्कृष्ट प्रतिष्ठानमध्येको एकको रूपमा स्थापित गर्नु आगामी चार वर्षको तत्कालीन र मध्यकालीन लक्ष्य हुनेछ । म यही लक्ष्य पूरा गर्न पहल गरिरहेको छु । प्रतिष्ठानको सम्पूर्ण टिमको एकमात्र मिसन यही छ ।
धेरै सबल पक्षका बाबजूद हामीसँग केही अप्ठ्यारा पनि छन् । स्वास्थ्य चेतनाको अभावको कारण बिरामीको संख्या तुलनात्मक रूपमा न्यून छ भने भौगोलिक विकटताका कारण आकस्मिक स्वास्थ्य सामग्री ओसारपसारमा समस्या छ । गुणस्तरीय जनशक्तिलाई प्रतिष्ठानमा टिकाइराख्न मुश्किल हुने अर्को चुनौती छ ।
रुढिवादी, अशिक्षा र अभावले ग्रसित सामाजिक परिवेशमा स्वास्थ्य जनचेतना जगाउनु गम्भीर चुनौती भए तापनि पिछडिएको क्षेत्रमा स्वास्थ्यको एउटा मोड स्थापना गर्न सकिने अवसर भने जीवित नै छ । किनकि रारा, शे-फोक्सुन्डो ताल, कैलाश मानसरोवरको प्रवेशद्वार आदि अत्यन्त मनोरम प्राकृतिक सौन्दर्यले भरिपूर्ण कर्णाली प्रदेशमा अवस्थित प्रतिष्ठान ‘हेल्थ टुरिज्म’का लागि गन्तव्य बनाउन सकिन्छ ।
कर्णालीमा स्वास्थ्य सेवाको उपलब्धता र पहुँच नभएकै कारण देशको मानव विकास सूचकाङ्क सुधार हुनसकेको छैन । देशकै सूचकाङ्क सुधार गर्न प्रतिष्ठानले हेर्ने १३ वटै जिल्लामा प्रतिष्ठान मार्फत निजी, सामुदायिक र सरकारी सहकार्यमा विशेषज्ञ चिकित्सक परिचालित गर्नेछ ।
पिछडिएको स्वास्थ्य क्षेत्रमा इमर्जेन्सी अपरेशन/प्रसूति लगायतका सेवा विस्तार गरेर स्वास्थ्य क्षेत्रमा रहेका स्वास्थ्य सूचकांक जस्तैः बाल मृत्युदर, मातृमृत्युदर, पाँच वर्षमुनिको मृत्युदर आदि कम गरी राष्ट्रिय रूपमा योगदान दिन सकिने हाम्रो योजना हो ।
समग्र रूपमा कर्णालीलाई स्वास्थ्य क्षेत्रमा विकसितमध्येको एक क्षेत्रको रूपमा विकास गर्दै यसका माध्यमबाट यसअन्तर्गतको नागरिकहरू स्वस्थ, उत्पादनशील, जिम्मेवार र सुखी बनाउने दीर्घकालीन लक्ष्य छ । त्यो लक्ष्य पूरा गर्ने आधार हामीसँग छ । नेपाल सरकारको कार्ययोजना मुताविक ३०० बेडको अस्पताललाई ५०० बेडको विशिष्टीकृत अस्पतालमा स्तरोन्नति गर्नका लागि पहल भइरहेको छ, त्यसो हुँदा सेवाको उपलब्धता र विविधता दुवै बढ्दै जान्छ ।
कर्णाली भेगमा भौगोलिक विकटताका कारण तुरुन्तै बिरामी अस्पताल पुग्न नसक्ने हुँदा प्रतिष्ठान मार्फत टेलिमेडिसिन सेवा प्रभावकारी रूपमा लागू गर्छौं । यसैक्रममा वाषिर्क कार्ययोजनामा निश्चित बजेट छुट्याई कर्णालीका प्रत्येक जिल्ला अस्पताल र स्थानीय अस्पतालहरूलाई टेलिमेडिसिनका माध्यमबाट आगामी एक वर्षमा प्रतिष्ठानसँग जोड्ने काम शुरू भइसकेको छ ।
यसै वर्ष हाम्रै सक्रियतामा कासलाई सात वटा विभिन्न रोगहरूको निःशुल्क उपचारका लागि पहिलो पटक सूचीकृत गरेको छ । नर्सिङ तथा सामाजिक सुरक्षा विभागले सूचीकृत गरेका रोगको कार्यविधिअनुसार प्रभावकारी ढंगले निःशुल्क उपचारको व्यवस्था हुन्छ । त्यसो हुँदा यहाँका नागरिकहरू स्वास्थ्यको सेवा लिन आकषिर्त हुने विश्वास छ ।
यहाँका अधिकांश बिरामी गरीबीको रेखामुनि रहेको हुँदा प्रतिष्ठानको शिक्षण अस्पतालमा पाँच महीना अगाडि स्थापना भएको सामाजिक सेवा इकाईलाई थप सशक्त बनाउँदैछौं । ६० वर्षभन्दा माथिका बिरामीहरूलाई नेपाल सरकारले गरेको निर्देशन बमोजिम ‘जेडियाष्ट्रिक वार्ड’ स्थापना गरी निःशुल्क उपचार शुरु गर्दैछौं ।
कुपोषण कर्णालीमा व्याप्त छ । यसै महीनामा स्थापना भएको पोषण पुनर्स्थापना केन्द्र (एनआरएच)लाई थप व्यवस्थित बनाउँदै कर्णाली प्रदेशभरिका कुपोषित बालिकाको प्रदेशभरि स्क्रिनिङ क्याम्प गरेर कास एनआरएचमा ल्याएर उपचार गर्ने प्रणालीको विकासको लागि हामी काम गर्दैछौं ।
कर्णाली प्रतिष्ठानमा सेवा क्षेत्रलाई प्रमुख अंगका रूपमा लिन सकिन्छ । विगतमा पनि कर्णालीका प्रत्येक जिल्ला र बाजुरा जिल्लामा प्रतिष्ठानले आफ्ना विशेषज्ञ परिचालन गरेर सेवा दिइरहेको थियो । हाल पनि मुगु जिल्ला अस्पतालमा आफ्नै एमडीजीपी विशेषज्ञ मार्फत सेवा परिचालन गरिएको छ भने कालिकोट जिल्लामा महीनामा दुई चोटि विशेषज्ञ क्याम्प गरिंदै आएको छ । अब प्रत्येक १३ वटा जिल्लालाई प्रतिष्ठान मार्फत एमडीजीपी, नर्स, एनेस्थेसिया अस्सिटेन्टसहितको समूह बनाएर चिकित्सक तथा स्वास्थ्यकर्मी परिचालन गर्नेछौं ।
दैलेख, कालिकोट, अछाम, हुम्ला र बाजुराको केन्द्रमा रहेको ‘राकम कर्णाली’मा १०० बेडको अस्पताल स्थापनाको लागि ३६ रोपनी जग्गा प्राप्तिको काम अगाडि बढिसकेको छ । जुम्लामा बिरामीहरू न्यून हुँदा मेडिकल एजुकेशनमा असर पर्ने सम्भावनालाई मध्यनजर गरी दैलेखस्थित राकम कर्णालीमा प्रतिष्ठानको अस्पताल सञ्चालन गर्ने योजना छ ।
हाम्रो आकलनमा राकम कर्णालीमा प्रतिदिन ७०० देखि १००० बिरामी शुरुआती अवस्थामै आउन सक्ने देखिन्छ । करीब ७ लाख जनसंख्या ओगट्ने यस क्षेत्रमा प्रतिष्ठानको अस्पतालले पूर्ण रूपमा काम गर्न सकेको खण्डमा प्रतिष्ठानले दीर्घकालीन रूपमै एमबीबीएस, एमडी, एमएस मात्र नभई डीएम, एमसीचए, पीएचडी लगायतका कार्यक्रम शुरु गर्न सक्नेछ ।
सम्भावना, अवसर र चुनौती उत्तिकै रहेको प्रतिष्ठान अहिले शुरुआती चरणमा छ । हामी योजना बनाउँदै काम गर्दै गइरहेका छौं । हाम्रो अहिलेको मिहिनेतले प्रतिष्ठान एकदिन अब्बल संस्थाको रूपमा दर्ज हुनेछ, हामी अब्बल बन्ने बाटोमा छौं ।
(डा.रावल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति हुन् ।)
प्रतिक्रिया 4