+

के हो प्रशिक्षक अलमुताइरी र उपाध्यक्ष नेम्वाङको विवाद ?

२०७८ साउन  १० गते २१:३४ २०७८ साउन १० गते २१:३४
के हो प्रशिक्षक अलमुताइरी र उपाध्यक्ष नेम्वाङको विवाद ?

१० साउन, काठमाडौं । अबदुल्लाह अलमुताइरी मुख्य प्रशिक्षक भएपछि नेपालको खेलप्रति समर्थकहरु मात्र होइन, अखिल नेपाल फुटबल संघ (एन्फा) पनि सन्तुष्ट थियो । उनको कार्यकाल थप गर्न कतार फुटबल संघलाई आग्रह गरिसकेको थियो ।

तर अलमुताइरीले एकाएक राजीनामा दिन लागेको घोषणा गरे, त्यो पनि सामाजिक सञ्जालमार्फत । उनले आइतबार विहान फेसबुकमा लेखे, ‘प्रिय नेपाली फ्यान ….म राजीनामा दिन एन्फा जाँदैछु । र, मेरो राजीनामाको कारण वरिष्ठ उपाध्यक्ष हुन्, जसले पछिल्लो तीन साता धेरै नाटक गरेका छन् ।’

‘मलाई आशा छ, अब पंकज नेम्वाङ खुसी हुनेछन्,’ उनले अघि भनेका छन् ।

अलमुताइरीको यो घोषणाले फुटबल समर्थक मात्र होइन, एन्फा पदाधिकारीहरु समेत आश्चर्यमा परे । ‘हामी उनको कामप्रति सन्तुष्ट छौं र कार्यकाल थप गर्न लागेका छौं । एकाएक राजीनामा दिन्छु भन्नु हाम्रा लागि अप्रत्यासित थियो,’ एक पदाधिकारीले अनलाइनखबरसँग भने ।

अध्यक्ष कर्माछिरिङ शेर्पाले तत्काल मुख्य प्रशिक्षक अलमुताइरीलाई बोलाएर भेटेका छन् र उनको राजीनामा रोक्न प्रयास गरेका छन् । एन्फा कम्प्लेक्स पुगेका अलमुताइरीले आफू तनावमा रहेको जानकारी गराएको  र लिखित रूपमा राजीनामा पत्र नबुझाएको एन्फा प्रवक्ता किरण राईले जानकारी दिए ।

के हो अलमुताइरी र नेम्वाङको लफडा ?

चैतमा नेपालको मुख्य प्रशिक्षक नियुक्त भएका अलमुताइरी ‘खेलाडी मात्र होइन, सबैको सोच परिवर्तन गर्नुपर्छ’ भनिरहन्छन् । उनले धेरै अन्तर्वार्तामा यस्तै भनेका छन् ।

पछिल्लो पटक एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले त्यसमा आपत्ति जनाए । एक पदाधिकारीका अनुसार उनले अध्यक्ष कर्माछिरिङ शेर्पालाई सामाजिक सञ्जालमा ब्रदर भन्ने गरेकोमा समेत असन्तुष्टि जनाएका थिए ।

उनले एन्फा महासचिव इन्द्रमान तुलाधरलाई भेटेर मुख्य प्रशिक्षक अलमुताइरीलाई तत्काल स्पष्टीकरण सोध्न आग्रह गरेको पाइएको छ ।

नेम्वाङले पनि ‘खेलाडी मात्र होइन, खेलसँग सम्बन्धित पदाधिकारीहरुको पनि मानसिकता परिवर्तन हुनुपर्छ’ भन्ने अलमुताइरीको अभिव्यक्तिलाई लिएर आफूले स्पष्टीकरण लिनुपर्‍यो भनेर आफूले महाचिवलाई भनेको स्वीकार गरे । उनले भने, ‘महासचिवले एक दिनपछि मैले सोध्दा अबदेखि त्यस्तो हुँदैन भनेर भन्नुभयो । मैले त्यही विश्वास गरेँ । त्यो बाहेक उनीसँग मेरो केही छैन ।’

स्रोतका अनुसार महासचिवले प्रशिक्षक, म्याजेनर लगायतलाई बोलाएर छलफलसमेत गरेको पाइएको छ । त्यसक्रममा मुख्य प्रशिक्षक अलमुताइरीले आफूले कुनै व्यक्तिको भन्दा पनि खेलाडीसँगै सबैको सोच बदल्नुपर्छ मात्र भनेको बताए ।

साथै एन्फा अध्यक्षलाई अब सामाजिक सञ्जालमा सम्बोधन गर्दा ब्रदर मात्र नभनेर प्रेसिडेण्ड ब्रदर भन्ने वचन दिएका थिए । उनको यही वचन वरिष्ठ उपाध्यक्ष नेम्वाङलाई सुनाइएको थियो ।

यो बीचमा अर्को विवाद आयो, मुख्य प्रशिक्षक अलमुताइरीद्वारा पत्रकारमाथि दुर्व्यवहार ।

७ साउनमा एन्फा कार्यालय परिसरको सार्वजनिक स्थानमा धुमपान गरेको विषयमा प्रश्न गर्दा पत्रकारमाथि दुर्व्यवहार गरेको भन्दै नेपाल पत्रकार महासंघ र खेलकुद पत्रकार मञ्चले वक्तव्य नै निकालेर प्रशिक्षक अलमुताइरीमाथि कारबाही गर्न माग गरे ।

यसमा एन्फा वरिष्ठ उपाध्यक्ष नेम्वाङको भूमिकालाई लिएर मुख्य प्रशिक्षक अलमुताइरीले असन्तुष्टि जनाएका छन् । आइतबार एन्फा अध्यक्षसँग भएको छलफलमा पनि उनले नेम्वाङले आफ्नो विरोधमा आएका समाचारहरु शेयर तथा लाइक गर्ने गरेको गुनासो गरेका थिए ।

एक अधिकारी भन्छन्, ‘उहाँहरुबीच राम्रो सम्बन्ध रहेनछ !’ यद्यपि अध्यक्ष शेर्पाले तत्काल राजीनामा नदिन आग्रह गर्दै गरेका छन् र पर्सि पोखरा गएपछि थप छलफल गर्ने  आश्वासन दिएका छन् ।

एन्फाका वरिष्ठ उपाध्यक्ष नेम्वाङले भने यो घटनाबारे छानविन गर्न समिति गठन गर्नुपर्ने माग गरेका छन् । ‘छानविन गर्दा कोको दोषी देखिन्छ, उनीहरु कारबाहीको भागिदार हुनुपर्छ,’ आफूविरुद्ध षड्यन्त्र भएको भन्दै उनले भनेका छन्, ‘म दोषी देखिए भने फुटबल संघबाट राजीनामा दिन तयार छु ।’

अबदुल्लाह अलमुताइरी एन्फा खेलकुद पंकजविक्रम नेम्वाङ फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय