
१२ साउन, काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्व पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्थविद् डा. पौडेललाई उपाध्यक्ष नियुक्त गरेको सरकारका प्रवक्ता, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
आयोगको सदस्यमा रामकुमार फुयाँल र दिलबहादुर गुरूङ नियुक्त भएका छन् । डा. पौडेल कांग्रेस तथा फुयाँल र गुरूङ माओवादी केन्द्रको सिफारिसमा आयोगमा नियुक्त भएका हुन् ।
फुयाँल र लिम्बू दुबै अघिल्लो योजना आयोगमा पनि सदस्य थिए । नेकपा विभाजनसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले दुबैलाई हटाएका थिए ।
को हुन् पौडेल ?
युवा अर्थशास्त्री विश्व पौडेलसँग अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को आर्थिक सल्लाहकारको रुपमा काम गरेको अनुभव छ । पौडेल काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका ‘एसोसिएट प्रोफेसर’ हुन् ।
उनीसँग यसअघि एक निजी बैंकमा निर्देशकका रुपमा काम गरेको अनुभव छ । डा. स्वर्णिम वाग्ले योजना आयोगको उपाध्यक्ष हुँदा उनले योजना आयोगको आर्थिक सल्लाहकारका रुपमा काम गरेका थिए ।
अमेरिकाको युनिभर्सिटी अफ क्लालिफोर्नियाबाट उनले विद्यावारिधि उपाधि प्राप्त गरेका पौडलका आर्थिक विषयमा थुप्रै लेख तथा शोधहरु प्रकाशित छन् ।
अर्थतन्त्र पुनरुद्धार प्राथमिकतामा : पौडेल
नियुक्तिपछि अनलाइनखबरसँग संक्षिप्त कुराकानी गर्दै डा. पौडेलले कोरोना महामारीका कारण चुनौतीको समय भएकाले त्यसलाई आत्मसात गरेर काम गर्ने बताए । ‘गठनबन्धन सरकार छ, महामारीको समय छ, योजनाहरुको पुनरावलोकन गर्नुपर्ने छ,’ उनले भने,’चुनौतीको यस्तो समयमा पनि प्रधानमन्त्री र गठबन्धनका नेताहरुले मलाई आशा र विश्वास गर्नुभएको छ, यसलाई म निराशामा परिणत हुन दिन्न ।’
उनले कोरोनाले प्रभावित भएको अर्थतन्त्रलाई चलायमान गराउन भूमिका खेल्ने बताए । डा. पौडेलले युवालाई पनि विश्वास गर्दै दिइएको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने प्रयत्न गरिने उनले बताए ।
गण्डकी र लुम्बिनीमा नयाँ प्रदेश प्रमुख
मंगलबारकै मन्त्रिपरिषद् बैठकले गण्डकी र लुम्बिनीमा नयाँ प्रदेश प्रमुख नियुक्तिका लागि सिफारिस गरेको छ । गण्डकीमा पृथ्वीमान सिंह गुरुङ र लुम्बिनीमा अमिक शेरचनलाई नियुक्तिका लागि सिफारिस गरेको हो ।
सरकारले गण्डकीकी प्रदेश प्रमुख सीता पौडेल र लुम्बिनीका प्रदेश प्रमुख धर्मनाथ यादवलाई बर्खास्त गरेर नयाँ प्रदेश प्रमुख सिफारिस गरेको हो ।
प्रतिक्रिया 4