
२ भदौ, पोखरा । गण्डकी प्रदेशसभामा माधवकुमार नेपाल पक्षका भनेर चिनिएका सांसद ईन्द्रलाल सापकाटाले पार्टी एकताको सम्भावना हुँदाहुँदै नयाँ दल गर्नु उचित नभएको बताएका छन् ।
विगतमा केपी शर्मा ओलीले संसद विघटन गर्दा त्यसको विपक्षमा उभिएको भए पनि पार्टी नै फोरेर नयाँ दर्ता गर्न माधव नेपालले हतार गरेको सापकोटाको भनाइ थियो ।
नेकपा एमाले बागलुङका अध्यक्षसमेत रहेका सापकोटाले पार्टी फुटाउन सजिलो हुने गरी अध्यादेश ल्याउनु अपराध भएको बताए । उनले नेता नेपालले हतारमा पार्टी दर्ता गराउँदा धेरैले उनलाई साथ दिन नसक्ने अवस्था आउन सक्ने बताए ।
‘हिजो ओलीको विपक्षमा उभिएकै हो । त्यो कदम गलत थियो भनेकै हो । त्यो फेरि पनि भनिन्छ,’ सापकोटाले भने, नेपालका राजनीतिक दलहरु क्षणिक स्वार्थका निम्ति जे पनि गर्ने भए ।’
नेकपा एमाले पार्टीको विभाजन आजको आवश्यकता नभएको सापकोटाले बताए । ‘माधवकुमार नेपालसहितको एमाले एकताको हामीले आवाज उठाउँदै आएका हौं । यसमा फुटेर जानेमात्रै दोषी भन्न मिल्दैन । पार्टीभित्र रहनेमा पनि समस्या छ,’ सापकोटाले भने, ‘तर त्यसका निम्ति विभाजनै रोजिहाल्नु पनि ठिक होइन ।’
पार्टी फुटाउन ल्याइएको अध्यादेशले लोकतन्त्रलाई नै कमजोर बनाउने र पार्टी फुटाएर गइहाल्ने कुराले पनि कसैलाई फाइदा नहुने उनको भनाइ थियो ।
‘पार्टी विभाजनै गरेर जान बेठीक हुन्छ भन्ने हो,’ सापकोटाले भने, ‘आफूसँगै रहेका भोलिको पार्टी नेतृत्व गर्न सक्ने दोस्रो पुस्ताका नेतालाई पनि अप्ठेरो पर्न सक्ने र साथ नपाउन सक्ने परिस्थितिलाई नेता नेपालले बुझ्न सकेनन् कि भन्ने लाग्छ ।’
नेपाल समूहको बाहुल्यता रहेको बागलुङ जिल्ला कमिटीमा सापकोटालाई दुबै समूहले अध्यक्ष बनाएका थिए । पार्टीको आन्तरिक विवादकै कारण बागलुङमा एमाले बैठक बस्न सकिरहेको थिएन ।
पृथ्वीसुब्बा गुरुङ गण्डकी प्रदेश सरकारको नेतृत्वमा हुँदा सापकोटाले फ्लोर क्रस नगरे पनि संसदमा ओलीको कदमको विरोध गर्दै आएका थिए ।
प्रतिक्रिया 4