+
+

अमेरिकी दूतावासले भर्चुअल रुपमा गाईजात्रा महोत्सव गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ६ गते १६:१२

६ भदौ, काठमाडौं । काठमाडौंस्थित अमेरिकी राजदूतावासले यस वर्षको गाईजात्रा महोत्सव भर्चुअल माध्यमबाट गर्ने भएको छ ।

‘एलजीबीटीक्यूआई प्लस’ गौरवका रूपमा अमेरिकी राजदूत र्‍यान्डी बेरी, अभियन्ता तथा मानवअधिकारकर्मी एन्जल लामा, लेखक निरञ्जन कुँवर र चर्चित लोकगायक प्रकाश सपुतका साथ भर्चुअल रुपमा गाईजात्रा महोत्सव गर्ने दूतावासले जनाएको छ ।

पूर्व मिस नेपाल तथा सञ्चारकर्मी माल्भिका सुब्बाले सञ्चालन गर्ने उक्त कार्यक्रमको अमेरिकी दूतावासको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरिनेछ ।

गाईजात्रा पर्व परम्परागत रूपमा वर्ष दिनभित्र दिवंगत भएका आफन्तको सम्झनामा मनाइन्छ । २०६१ सालदेखि नेपालमा स्थानीय ‘एलजीबीटीक्यूआई प्लस’ समुदायले यस पर्वलाई आफ्नो गौरवको उत्सव मनाउने अवसरको रूपमा समेत उपयोग गर्दै आइरहेको छ । यसले समानता, स्वतन्त्रता र न्यायको खोजीमा लागिपरेका नेपालभरका एलजीबीटीक्यूआई प्लस व्यक्तिहरुप्रतिको अमेरिकी सरकारको प्रतिबद्धतालाई पुनर्पुष्टि गर्ने दूतावासले जनाएको छ । त्यस अवसरमा हुने छलफल नेपालमा एलजीबीटीक्यूआई प्लस अधिकारको वर्तमान अवस्था, गाईजात्रा र गौरवको सम्बन्ध, नेपाल र विश्वव्यापी रूपमा एलजीबीटीक्यूआई प्लस व्यक्तिहरूविरुद्ध जारी हिंसा र भेदभावमा केन्द्रित हुनेछ ।

नेपालमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको हकहितका लागि जागरूकता बढाउनका लागि गर्नुपर्ने कामको बारेमा पनि छलफल हुने दूतावासले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?