
८ भदौ, काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले २०७६ चैतदेखि २०७७ असारसम्मको अवधिमा १० अर्ब ७६ करोड रुपैयाँ आम्दानी गुमाएको छ । कोरोना महामारी नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण आर्थिक वर्ष २०७६/७७ को चैतदेखि नेपालमा अन्तर्राष्ट्रिय उडान प्रभावित भएको थियो ।
जसले गर्दा सरकारी स्वामित्वको राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको आम्दानीमा असर गरेको हो । १० चैतपछि असार मसान्त २०७७ सम्म चार्टर्ड उडान बाहेकका नियमित उडान बन्द भएका थिए । नेपाल एयरलाइन्सले कोभिड-१९ को प्रभावबारे अर्थ मन्त्रालयलाई बुझाएको प्रतिवेदनमा यसबारे उल्लेख छ ।
यो अवधिमा कुल १० अर्ब ७६ करोड ५२ लाख रुपैयाँ आम्दानी गुमेको नेपाल एयरलाइन्सले जनाएको छ । महामारीका कारण सेवा बन्द हुनु, देशभित्र र बाहिरका यात्रुले अग्रिम रुपमा लिएका टिकट वापतको रकम फिर्ता गर्नुपरेको र ग्राउण्ड हृयान्डलिङ वापतको राजस्व समेत गुमेको नेपाल एयरलाइन्सको भनाइ छ । असारपछि भने गन्तब्य अनुसार नियमित उडान क्रमशः खुकुलो बन्दै गएको थियो ।
प्राधिकरणको आम्दानी ७१ प्रतिशतले कम
आर्थिक वर्ष २०७६/७७ को अन्तिम चार महिनामा नेपाल नागरिक उड्डयन प्राधिकरणको आम्दानीमा समेत ठूलो गिरावट आएको छ । महामारीका कारण सबै हवाई उडान बन्द भएका कारण आम्दानी गुमेको हो ।
आव २०७५/७६ को वाषिर्क प्रगतिको तुलनामा भने सो वर्ष प्राधिकरणको आम्दानीमा १५.५३ प्रतिशतको कमी आएको हो । नेपाल नागरि उड्डयन प्राधिकरणले सो वर्ष राखेका अधिकांश लक्ष्य भेटाउन सकेन ।
यसमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य समेत पछाडि धकेलिएको छ । पोखरा विमानस्थलको काम १० जुलाई २०२० मा सक्ने लक्ष्य थियो ।
यसलाई धकेलेर जुलाई २०२१ सम्म सारिएको थियो । तर, यो समयसमेत घर्किसकेको छ । उता, गौतमबुद्ध विमानस्थलसमेत तोकिएको अवधिमा निर्माण पूरा नभएका कारण सञ्चालनमा आउन सकेन ।
पर्यटन क्षेत्रमा मासिक १० अर्बको क्षति
कोरोना महामारीपछि पर्यटन क्षेत्रले भने मासिक १० अर्बको क्षति बेहोर्नुपरेको छ । नेपाल पर्यटन बोर्डले तयार पारेको प्रतिवेदन अनुसार पर्यटन उद्योगले कोरोना भाइरसको महामारीका बीच मासिक १० अर्ब रुपैयाँको क्षति बेहार्नु परेको हो ।
यसमा हवाई, पदयात्रा, होटेल, यातायातसहितका क्षेत्रमा भएको क्षति हो । पर्यटन उद्योगमा १५ खर्ब रुपैयाँ बराबरको लगानी रहेको अनुमान नेपाल पर्यटन बोर्डले गरेको छ ।
पर्यटन उद्योगमा काम गरिरहेका ११ लाख मानिसले रोजगारी गुमाउनु परेको तथ्यांक समेत बोर्डले जनाएको छ । पर्यटन क्षेत्रको यो नोक्सानीको असर दीर्घकालसम्म पर्ने महालेखाको विश्लेषण रहेको छ ।
भ्रमण वर्षको ३० करोड ३९ लाख खेर गयो
नेपाल सरकारले सन् २०२० लाई भ्रमण वर्ष घोषणा गरेको थियो । तर, कोरोना महामारीका कारण भ्रमण वर्षमा भएको खर्च भने खेर गएको छ । प्रचार-प्रसार, उद्घाटन, वैदेशिक भ्रमण, पर्यटन खेल इभेन्ट, अन्तर्राष्ट्रिय सम्मेलन गोष्ठी, मानव संशाधनलगायतमा भएको खर्च गरि कुल ३० करोड ३९ लाख ८८ हजार रुपैयाँ खर्च भएको छ ।
यो खर्चको उपयोगिता नभएका कारण रकम खेर गएको छ । सरकारले वार्षिक २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सो वर्ष भ्रमण वर्ष घोषणा गरेको थियो ।
पुसमा धुमधामसहित घोषणा भएको भ्रमण वर्षका कार्यक्रम तीन महिना पनि चल्न सकेनन् । जसले गर्दा पर्यटक आगमनमा यो कार्यक्रमले उल्लेख्य प्रभाव छाड्न सकेन ।
चैत २०७६ पछि पर्यटक आगमनमा परेको प्रभाव
वर्ष | अप्रिल | मे | जुन | जुलाई |
सन् २०१८ | ९८६५० | ६८८२५ | ६५१५९ | ७३२८१ |
सन् २०१९ | १०९३९९ | ७८३२९ | ७८८८३ | ७०९१६ |
सन् २०२० | १४ | ३१ | १०२ | १९६ |
अघिल्लो वर्षको तुलनामा वृद्धिदर(प्रतिशत) | -१०० | -१०० | -१०० | -९९.७ |
प्रतिक्रिया 4