+
+
विचार :

जैविक राजनीति : अबको निर्विकल्प मार्ग

मोहन तिम्सिना मोहन तिम्सिना
२०७८ भदौ १० गते १४:३७

पाठक महानुभावले ‘जैविक खाना’, ‘जैविक कृषि’, ‘जैविक औषधि’, आदि त सुन्नुभएको होला । तर ‘जैविक राजनीति’ पक्कै पहिलोपल्ट सुन्दै हुनुहुन्छ । त्यसैले शुरुआतमै जिज्ञासा हुन सक्छ, जैविक राजनीति भनेको के हो ?

साधारण विषयबाट कुरा शुरू गरौं । हाम्रो खेत विकृत बन्दा हामीले ‘जैविक कृषि’ रोज्यौं । खाना विकृत बन्दा ‘जैविक खाना’ रोज्यौं । औषधि विकृत बन्दा ‘जैविक औषधि’ रोज्यौं । यसो गर्दा हामीबीच कुनै विवाद पैदा भएको छैन । जैविक अभियानलाई हामीले हाम्रो स्वास्थ्य रक्षा गर्ने निर्विकल्प उपाय मानेका छौं ।

आज हाम्रो राजनीति विकृत भएको छ । जसका कारण हाम्रो प्रकृति र ‘सामाजिक स्वास्थ्य’ दुवै खराब भएको छ । हाम्रो ग्रह र मानव जाति नै संकटले घेरिएको छ । अब हामीलाई ‘जैविक कृषि’, ‘जैविक खाना’, ‘जैविक औषधि’ मात्र भएर पुगेन, राजनीति पनि ‘जैविक’ नै चाहियो । जसले हाम्रो ग्रह र ‘सामाजिक स्वास्थ्य’ को रक्षा गर्न सकोस् । जसले आजको वैश्विक संकटको समाधान दिन सकोस् ।

तर फेरि जिज्ञासा उठ्न सक्छ– राजनीति पनि जैविक हुन्छ र ? कसरी राजनीतिलाई जैविक बनाउने ? निश्चय नै राजनीति पनि जैविक हुन्छ । बनाउन सकिन्छ ।
यो विषयमा प्रवेश गर्न सर्वप्रथम ‘शास्त्रीय विज्ञान’ र ‘आधुनिक विज्ञान’ बीचको भेद बुझ्न जरूरी छ । ‘आधुनिक विज्ञान’ र ‘ऋषि ज्ञान’ बीचको सम्बन्ध बुझ्न जरूरी छ । तर यो छोटो आलेखमा यी सबै विषय प्रस्तुत गर्न सम्भव छैन । यद्यपि ‘जैविक राजनीति’ को आधारभूत रूपरेखाबारे संक्षिप्त चर्चा गरिनेछ ।

अवधारणा

यहाँ शुरूआतमै ‘जैविक राजनीति’ भनेको पर्यावरण मुद्दामा केन्द्रित राजनीति होला भन्ने भ्रम पैदा हुन सक्छ । त्यसैले शुरुआतमै स्पष्ट गरौं– ‘जैविक राजनीति’ एक बृहत् अवधारणा हो । जसमा प्रकृति, जीवन, समाज, अर्थतन्त्र, स्वास्थ्य र राजनीतिका वास्तविक वा मौलिक नियमहरूको अनुसरण गरिन्छ ।

‘जैविक’ शब्दले सामान्यतया हरेक वस्तुको मौलिक स्वभावतर्फ संकेत गर्दछ । हामी प्रकृति, जीवन र समाजका नियमलाई जति गहिराइमा बोध गर्दछौं, त्यति नै जैविक बन्दछौं । जति जैविक बन्दछौं, त्यति नै हाम्रा क्रियाकलाप सही दिशातर्फ लक्षित हुनेछन् ।

शास्त्रीय विचारधाराहरूले प्रकृति, जीवन र समाजका मौलिक स्वभाव बुझ्न सकेनन् । त्यसैले आज राजनीतिमा समस्या पैदा भयो । यहाँ शास्त्रीय जीवनधारा भन्नाले उदारवादी, समाजवादी, राष्ट्रवादी, कल्याणवादी र यिनीहरूको मिश्रणका अन्य धाराहरू नै हुन् । जो रूपगत दृष्टिले विरोधी जस्ता लागे पनि सारमा एउटै र ‘अजैविक’ छन् ।

पद्धतिगत दृष्टिकोणले हेर्दा शास्त्रीय राजनीतिले जम्मा चारवटा कुरा सिकायो । पहिलो, समाजलाई ‘यन्त्र’ र दलहरूलाई ‘यन्त्र–सञ्चालक’ को बिम्बमा हेर्न सिकायो । दलले ‘समाज–यन्त्र’ लाई आफ्नो सोच अनुसार चलाउन र बिग्रिए ठोकठाक गरेर ठीक पार्न सक्छ भन्ने मानियो । अर्थात्, राजनीतिलाई समाजको ‘निर्देशक’ को स्थान दिइयो ।

दोस्रो, वैचारिक विभाजन सिकायो । समाजमा पनि यन्त्रमा जस्तै ‘आधारभूत पार्टपुर्जा’ खोजियो । यसक्रममा जम्मा चार खाले ‘पार्टपुर्जा’ भेटिए– ‘व्यक्ति’, ‘वर्ग’, ‘जाति’ र ‘नेतृत्व’ । यही चारखाले ‘पार्टपुर्जा’का आधारमा समाजलाई चारवटा कित्तामा वैचारिक विभाजन गरियो ।

तेस्रो, समाजको गतिलाई गणितीय दृष्टिले हेर्न सिकायो । एकल रेखीय परिपथका आधारमा इतिहास र भविष्यको प्रक्षेपण गर्न सिकायो । कसैले आदिम युग–अर्ध सभ्य युग–सभ्य युगको तीनखण्डे एकल परिपथ खडा गरे । कसैले आदिम साम्यवाद-दास युग-सामन्ती युग-पूँजीवादी युग, समाजवादी युग-साम्यवादी युगको ६ खण्डे परिपथ खडा गरे ।

चौथो, राजनीतिलाई भविष्यमुखी बनाउन सिकायो । कर्म वर्तमानमा गर, फल भविष्यमा मिल्नेछ । यसरी ‘कर्म’ र ‘कर्मफल’, ‘प्रक्रिया’ र ‘गन्तव्य’ बीचमा भेद गर्न सिकायो । भविष्यमा कुनै न कुनै दिन ‘गन्तव्य’ आउनेछ । त्यसपछि सबै समस्या स्वतः समाधान हुनेछ भनियो ।

माथिका शास्त्रीय प्रस्थापना अजैविक छन्, त्यसैले समाजमा लागू हुन सक्दैनन् । यही कारण शास्त्रीय राजनीतिमा सिद्धान्त र व्यवहारको विरोधाभास पैदा भइरहन्छ । जैविक राजनीतिले माथिको अवधारणालाई निम्नानुसार खण्डन गर्दछ-

पहिलो: समाजलाई ‘जिउँदो सञ्जाल’ बिम्बमा हेर्नुपर्दछ । समाज पनि ‘जीवन’ हो, जीवनलाई ‘रचनात्मक डिस्टर्ब’ सम्म गर्न सकिन्छ, ‘निर्देशन’ गर्न सकिन्न । राजनीतिक दलहरू ‘निर्देशक’ होइन, ‘सहजकर्ता’ हुन् ।

दोस्रो: स्वतन्त्रता, सामाजिक न्याय, पहिचान र सुशासनमध्ये कुनै प्रधान र गौण हुँदैनन् । सबैखाले मानिसलाई यो चारै सुविधा जरूरी छ । राजनीतिले यी चारै चिजको सन्तुलन मिलाउनुपर्छ । यसको अर्थ राज्य र राजनीतिमा वैचारिक विभाजन जरूरी छैन, केवल कार्य सम्पादन परिणाम (किफायतीपना र प्रभावकारिता) को प्रतिस्पर्धामा आधारित ‘बहुदल’ जरूरी छ ।

तेस्रो: समाजको गति ‘फूलको माला उने जस्तो’ हुँदैन । बरु ‘नदी बगे जस्तो’ हुन्छ । हामी भविष्यको समाजका लागि ‘प्रक्रिया’ को न्यूनतम मापदण्ड त तोक्न सक्छौं, तर ‘संरचना’ किटान गर्न सक्दैनौं । समाजको गति अगणितीय र गैर एकलरेखीय हुन्छ । त्यसैले तीन खण्डे वा ६ खण्डे प्रस्थापना केवल यान्त्रिक बुद्धिको उपज हो । समाजलाई गणितीय दृष्टिकोणले हेर्नुहुँदैन ।

चौथो: कर्म पनि वर्तमानमा र फल पनि वर्तमानमा । कर्म र कर्मफलमा कुनै भेद छैन । प्रक्रिया र गन्तव्यमा कुनै भेद छैन । राजनीति केवल ‘प्रक्रिया’ हो, यसको ‘गन्तव्य’ हुँदैन, वा राजनीतिका लागि असल ‘प्रक्रिया’ नै ‘गन्तव्य’ हो । जैविक राजनीतिका माध्यमबाट ‘जैविक समाज’ निर्माण गर्नु ‘प्रक्रिया’ र ‘गन्तव्य’ दुवै हो । त्यसैले राजनीतिमा तथाकथित वामपन्थ वा दक्षिणपन्थ वा अग्रपन्थ वा पश्चपन्थ गलत कुरा हो । राजनीति वर्तमानमुखी हुनुपर्दछ ।

यो जीवनधाराको अलग्गै ‘प्याराडाइम’ पनि हो । किनकि यसको विश्व दृष्टिकोण शास्त्रीय परम्परा भन्दा अलग र मौलिक छ । यो भविष्यको ‘स्वर्ग’ को कामना होइन, वर्तमानको यथार्थमा जिउने सोच हो । यो व्यक्तिदेखि ब्रह्माण्डसम्मको मौलिक गुण–धर्मलाई बुझेर समाजको निर्माण गर्ने सोच हो ।

जीवन मूल्य

जीवन मूल्यको कोणबाट हेर्दा शास्त्रीय राजनीतिले भौतिक सुख (धन सुख, पद सुख र शरीर सुख) प्राप्ति नै वैयक्तिक जीवनको लक्ष्य हो भन्ने सिकायो । असीमित ‘आर्थिक वृद्धि’ गरेर समृद्ध बन्नु नै राज्यको लक्ष्य हो भन्ने सिकायो । विकास, समृद्धि र मुक्तिका भौतिक मानक तयार गरियो ।

भौतिक सुख प्राप्त भएपछि मनुष्यका अन्य समस्या स्वतः समाधान भएर जान्छन् भनियो । राजनीतिले मुक्ति÷स्वतन्त्रता दिन सक्छ भनेर घोषणा गरियो । भौतिक सुख भोगको अवसरलाई नै मुक्ति/स्वतन्त्रता मानियो ।

शास्त्रीय राजनीति माथिको जीवन मूल्य अजैविक र विध्वंसक छ । यस्तै जीवन मूल्यले शास्त्रीय दल भित्र धन आसक्ति, पद आसक्ति र शरीर आसक्ति, पाखण्डी र विक्षिप्त पात्रहरू जन्मिए । यही कारण यी दल भित्र अहंकारको टकराव ज्यादा भयो ।

राज्यहरूबीच युद्ध, हस्तक्षेपदेखि असीमित ‘आर्थिक वृद्धि’ को खतरनाक होडबाजी पैदा भयो । समाजमा धनी र गरीबको खाडल बढ्यो । जैविक राजनीतिले यस प्रकारको जीवन मूल्यको निम्नानुसार खण्डन गर्दछ–

भौतिक सुखको प्राप्तिलाई जीवनको ‘साधन’ र आत्मिक सुख प्राप्तिलाई ‘लक्ष्य’ मान्नुपर्दछ । हरेक व्यक्तिका लागि गुण–धर्म अनुसारको कर्म मात्र आत्मिक सुखको स्रोत हो । त्यसैले व्यक्तिले गुण–धर्म अनुसारको कर्ममा नै जीवनको सार्थकता खोज्नुपर्दछ ।

मुक्ति÷स्वतन्त्रता वैयक्तिक अनुभूति हो, यसलाई भौतिक मानकमा नाप्न सकिन्न । यो राज्य र राजनीतिले दिन सक्दैन । यसका लागि व्यक्ति आफैं जिम्मेवार हुन्छ । चार पुरुषार्थ (अर्थ, धर्म, काम, मोक्ष अर्थात् मुक्ति) प्राप्तितर्फको सम्यक् प्रयासले मात्र मुक्ति हासिल हुन्छ ।

राज्यको कुनै लक्ष्य वा गन्तव्य हुँदैन । राज्यले नागरिकहरूको आवश्यकता (अधिकार) र सामाजिक सम्बन्ध (न्याय) को व्यवस्थापनमा सीमित हुनुपर्दछ । सीमित पृथ्वीमा असीमित ‘आर्थिक वृद्धि’ अप्राकृतिक सोच हो । राज्यले ‘गुणात्मक आर्थिक वृद्धि’ र ‘अपरिग्रह’ को मूल्य आत्मसात् गर्नुपर्दछ । नागरिकहरूको स्वास्थ्य र सन्तुष्टि नै विकास र समृद्धिको मानक हुनुपर्दछ । यही जीवन मूल्य तथा सामाजिक मूल्यका आधारमा राजनीतिक प्रणालीलाई व्यवस्थित गर्नुपर्दछ ।

सामाजिक प्रविधि

शास्त्रीय राजनीतिको सामाजिक प्रविधिले निषेध, प्रतिस्पर्धा र संघर्ष सिकायो । सामाजिक द्वैतमध्ये ‘कुनै एकको निषेध गर, त्यही समाधान हो’ भनियो । परिणामतः कोही ‘व्यक्ति’ बचाउने, ‘समाज’ मेटाउने पक्षमा लागे । कोही ‘समाज’ बचाउने, ‘व्यक्ति’ मेटाउने पक्षमा ।

कोही ‘स्वजाति’ बचाउने, ‘परजाति’ मेटाउने पक्षमा लागे त कोही ‘नैतिक नेतृत्व’ बचाउने ‘अनैतिक नेतृत्व’ मेटाउने पक्षमा । सबैले ‘प्रकृतिसँग संघर्ष’, सामाजिक संघर्ष र ‘प्रकृतिसँगको विजय’ द्वारा लक्ष्यमा पुगिने दाबी गरे ।

जैविक राजनीतिका माध्यमबाट ‘जैविक समाज’ निर्माण गर्नु ‘प्रक्रिया’ र ‘गन्तव्य’ दुवै हो । त्यसैले राजनीतिमा तथाकथित वामपन्थ वा दक्षिणपन्थ वा अग्रपन्थ वा पश्चपन्थ गलत कुरा हो । राजनीति वर्तमानमुखी हुनु पर्दछ ।

शास्त्रीय राजनीतिको यो तरिका अजैविक थियो । जसका कारण आज विश्वमा पाँच प्रकारका संकट पैदा भएका छन्-भू-राजनीतिक संकट, आर्थिक संकट, सामाजिक संकट, पर्यावरणीय संकट र प्राविधिक संकट । जैविक राजनीतिले माथिका शास्त्रीय धारणालाई निम्नानुसार खण्डन गर्दछ ।

श्रम र पूँजी, व्यक्ति र समाज, राष्ट्रियता र अन्तर्राष्ट्रियता, सदाचार र भ्रष्टाचार, लोकतन्त्र र अधिनायकत्व, सम्झौता र संघर्ष, एकात्मकता र संघात्मकता लगायत सबै मानसिक÷सामाजिक अवयवहरू परिपूरक छन् । यसमध्ये कुनै एकले अर्कोको निषेध गर्न सक्दैन ।

यी अवयवहरू जहिल्यै गुण र दोषसहित नै हुन्छन्, गतिशील हुन्छन् । त्यसैले कहिल्यै निरपेक्ष सही वा गलत हुन सक्दैनन् । यिनीहरूको निषेधको सट्टा सहकार्य र गतिशील सन्तुलन चाहिं जरूरी हुन्छ । आवश्यकता र परिवेश अनुसारको छनोट चाहिं जरूरी हुन्छ ।

हामीले जहिले पनि सामाजिक सम्बन्धलाई मित्रवत् सहकार्य (सम्झौता) र शत्रुवत् सहकार्य (संघर्ष) को अवस्था भन्दा माथि ‘प्राकृतिक सहकार्य’ को तहमा उठाउने प्रयत्न गर्नुपर्दछ । प्रकृतिसँग संघर्ष होइन, सहकार्यको नीति अपनाउनुपर्दछ ।

अन्त्यमा, ‘जैविक राजनीति’ सिंगो विश्वका लागि निर्विकल्प मार्ग हो । किनकि यो आधुनिक विज्ञानको ‘सूक्ष्म सत्य’ मा आधारित छ । यो जीवनधाराको अलग्गै ‘प्याराडाइम’ पनि हो । किनकि यसको विश्व–दृष्टिकोण शास्त्रीय परम्परा भन्दा अलग र मौलिक छ । यो भविष्यको ‘स्वर्ग’ को कामना होइन, वर्तमानको यथार्थमा जिउने सोच हो । यो व्यक्तिदेखि ब्रह्माण्डसम्मको मौलिक गुण–धर्मलाई बुझेर समाजको निर्माण गर्ने सोच हो ।

पाठक महानुभावहरूलाई पुनः जिज्ञासा हुन सक्छ– त्यसो भए जैविक राजनीतिले स्थापित गर्ने आदर्श समाजलाई के भन्ने ? यसलाई ‘जैविक समाज’-‘जैविक नेपाल’-‘जैविक विश्व’ भन्न सकिन्छ । जैविक राजनीतिका लागि यो ‘मार्ग’ र ‘गन्तव्य’ दुवै हो ।

लेखकको बारेमा
मोहन तिम्सिना

लेखक वैकल्पिक विचार र जैविक दर्शनको विषयमा कलम चलाउँछन् । उनको नियमित स्तम्भ 'मन्थन' प्रकाशित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?