+
+

अलविदा जेबी टुहुरे

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०७८ भदौ १० गते १९:०१

१० भदौ, काठमाडौं । बिहीबार निधन भएका जनगायक जेबी टुहुरेलाई नेकपा माओवादी केन्द्रले श्रद्धाञ्जली व्यक्त गरेको छ । टुहुरेको पार्थिव शरीरलाई माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो ।

टुहुरेको पार्थिव शरीरमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टीको झण्डा ओढाए । त्यस क्रममा सयौं सर्वसाधारण र माओवादी नेता कार्यकर्ताले उनलाई श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

भदौ १ गते दिउँसो काठमाडौंको कलंकीस्थित निजी निवासमा मष्तिष्क पक्षघात (स्ट्रोक) भएपछि टुहुरेको वयोधा अस्पतालको सीसीयूमा उपचार भइरहेको थियो । मधुमेह, फोक्सो र उच्च रक्तचापको समेत समस्या झेलिरहेका ७८ वर्षका टुहुरेको अप्रेसन गर्न असहज भएपछि औषधिको माध्यमबाट उपचार गरिएको थियो ।

२००१ साल कात्तिक १५ गते सुनसरीको धरानमा जन्मिएका टुहुरेले २०२४ सालदेखि गीत रेकर्ड गराउन थालेका थिए । उनले २०२५ सालमा पूर्व कोशी प्रान्तीय कमिटीमार्फत कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए ।

२०३४ सलमा रेकर्ड गराएको ‘आमा दिदीबहिनी हो कति बस्छौ दासी भई सुखको सधैं प्यासी बनेर’बोलको गीत चर्चित छ । टुहुरेले गीत संगीतका माध्यमबाट पञ्चायतविरुद्धको आन्दोलनमा जनचेतना जगाएका थिए ।

२०५२ देखि २०५९ सालसम्म राष्ट्रिय जनसाँस्कृतिक मञ्चको अध्यक्ष रहेका टुहुरे साँस्कृतिक संस्थानको अध्यक्ष भएका थिए । २०७० सालको संविधानसभा निर्वाचनमा उनी तत्कालिन एकीकृत नेकपा माओवादीको तर्फबाट संविधानसभा सदस्य भएका थिए । हाल टुहुरे नेकपा माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार रहेका थिए । उनको एक श्रीमती एक छोरा र चार छोरी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?