+
+

युवा क्रान्तिका सिपाही मात्रै कि उत्तराधिकारी पनि ?

मिङ्मा डन्डु शेर्पा मिङ्मा डन्डु शेर्पा
२०७८ भदौ १३ गते १५:०१

युवाहरू स्वभावैले सङ्घर्षशील र जुझारू हुन्छन् । क्रान्तिकारी जोशले भरिपूर्ण हुन्छन् । त्यो जोश र जुझारुपनलाई विचारले गति दियो भने युवापङ्क्तिले आफ्नो समाज, देश र मानवजगतलाई नै गति दिनसक्छ । क्रान्तिकारी विचारले खँदिलो बनेका युवाहरू देशको स्वाधीनताको रक्षा गर्ने मुख्य शक्ति हुन्छन् । परिवर्तनको सारथि पनि हुन्छन् । समयको मागअनुसार देशका युवादस्ता कहिले क्रान्तिका सिपाही हुन्छन् त कहिले क्रान्तिका उत्तराधिकारी ।

संसारका सबै क्रान्तिमा युवाको निर्णायक भूमिका थियो, छ र रहनेछ । त्यसैले लेनिन र माओ जस्ता संसारका सबै क्रान्तिकारी नेताले संगठित, विचारले परिपक्व र सु-संस्कृत युवादस्ता बनाउने कुरालाई उच्च महत्व दिएका थिए । नेपालको जनयुद्धमा पनि युवा पङ्क्तिको जुझारु र बलिदानीपूर्ण संघर्षको निर्णायक महत्व रहेको थियो ।

नेपाली क्रान्तिको उत्तराधिकारीका रूपमा अगाडि आएका युवादस्तालाई कसरी विचारले स्पातिला, सुसंस्कृत र संगठित गरेर पार्टी र देशलाई नै गति दिने रु यो प्रश्न अहिले मुख्य छ । पार्टी नेतृत्वको एउटा महत्वपूर्ण दायित्व नै यस्तै स्पातिलो युवा पुस्ताको तयारी हो ।

क्रान्ति भनेकै विगतलाई क्रमभङ्ग गर्दै नयाँ र सुन्दर भविष्यको परिकल्पनाबाट शुरु हुन्छ । विभिन्न परिस्थितिमा क्रान्तिका रूप पनि भिन्न–भिन्न हुन्छन् । आजका युवाले विगतको क्रान्तिकारी विरासतलाई जोगाउँदै नयाँ परिकल्पना अनुसारको नयाँ क्रान्तिको संवाहक हुनुपर्नेछ । क्रान्ति गुलाबको ओछ्यान होइन, यो आँधीहुरी र सम्पूर्ण प्रतिकूलतासँगको लडाईं हो । हामी युवादस्ताले नयाँ चरणको क्रान्तिको चुनौती उठाउनैपर्छ ।

युवा आन्दोलनको विकास क्रान्ति, क्रान्तिकारी पार्टी र देशको भविष्यसँग जोडिएको हुन्छ । सही विचारबाट मार्गनिर्देशित र सही बाटो पहिल्याएको युवा आन्दोलनले नै आफ्नो समयको जिम्मेवारी पूरा गर्न सक्छ । अन्याय, अत्याचार, विभेद, उत्पीडनले ग्रस्त समाजलाई न्याय, समानता र अधिकारको संघर्ष मार्फत बदल्ने आन्दोलनले नै युवा आन्दोलनको सही विकास गर्छ । समाजवादको सपना नै यस्तो आन्दोलनको चालक विचार हो । क्रान्तिकारी विचारको तेजले जाज्वल्यमान युवा आन्दोलनबाट देशले नयाँ सम्भावना र अगुवाहरू प्राप्त गर्छ । समाजले क्रान्तिका नयाँ सारथिहरू प्राप्त गर्छ ।

जनताको दुःखसुख, समाजको आरोह–अवरोहसँग एकाकार भएर हुर्कन्छन् युवा । सहीलाई समर्थन र गलतको विरोध गर्न युवा चुक्नुहुँदैन । आवश्यकतामा सहयोग र गल्तीमा आलोचनाको संस्कार भएन भने मुक्तिको गीत गाउने आन्दोलन बन्न सक्दैन ।

श्रमिक वर्गीय पार्टीको नेतृत्वबाट बाहिर रह्यो भने युवा आन्दोलन पनि दिशाहीन हुन्छ । क्रान्तिकारी विचारले दीक्षित, बलिदानी भावनाले भरिपूर्ण र परिवर्तनकारी जोशले युक्त युवादस्ता तयार गर्नु आजको आवश्यकता हो । यसो नगर्दा युवाहरू विभिन्न समूहमा विभाजित हुन्छन् । विभिन्न संस्थामा संलग्न भएर यथास्थितिमै रुमलिन्छन् ।

त्यसैले युवादस्तालाई शिक्षित, सैद्धान्तिक रूपमा परिपक्व र श्रमजीवी चेतनाले चल्ने पार्टीको मातहत गतिशील बनाउन जरुरी हुन्छ । सत्यको पक्षमा उभिने, साम्राज्यवादविरुद्ध संघर्ष गर्ने भावना भएको, स्वाधीनता र आत्मनिर्भरताका लागि लड्ने युवादस्ताले नै समाजवादतिर समाज र देशलाई डोर्‍याउन सक्छन् ।

समाजवादी आन्दोलन युवाहरूको व्यापक समूहलाई पार्टीभित्र एकताबद्ध गर्ने आन्दोलन पनि हो । युवाहरूलाई सङ्गठित हुन, विचारले सुसज्जित हुन, पार्टी गतिविधिमा क्रियाशील बन्न र सङ्गठन निर्माण एवम् विस्तारमा सक्रिय बन्न युवा आन्दोलनले भूमिका निर्वाह गर्छ ।

पार्टीको कार्यशैलीको अनुसरण र पार्टी अनुशासनले युवा आन्दोलनलाई सभ्य र भव्य बनाउँछ । युवापंक्तिलाई प्रतिक्रान्तिको साधन बन्न वा प्रतिक्रान्तिकारी शक्तिको दमनमा पर्न नदिन पार्टीले विचार, संगठन र कार्यदिशामा निरन्तर विकास गर्दै निर्देशित गरिरहनु आवश्यक छ ।

पार्टी ठूलो जहाज हो भने युवा आन्दोलन त्यसैको एक महत्वपूर्ण हिस्सा । त्यसैले पार्टीको कार्यदिशा र नीतिबारे स्पष्ट भएपछि मात्रै युवा आन्दोलनको गति र तेज उच्च हुन्छ । यथास्थितिवादी विचार समूहमा युवापंक्तिलाई विभाजित हुन दिनुहुँदैन । समाजवादी विचारसहित ठूलो युवापंक्तिलाई एकताबद्ध पारेपछि मात्रै क्रान्तिका नयाँ नयाँ रूपहरू विकास हुँदै जान्छन् । र, त्यहींबाट पार्टी, समाज र देशले गति पाउँछ । पार्टीले आफ्नो उद्देश्यसँग युवादस्तालाई एकाकार गर्नसके मात्रै देशको उज्ज्वल भविष्य सुनिश्चित गर्न सकिन्छ ।

इतिहासका निर्माता जनता हुन् भन्ने कमरेड माओको भनाइ यहाँ स्मरणीय छ । इतिहासका निर्माता जनतामध्ये निर्णायक पङ्क्ति युवा हुन् । तर क्रान्तिका निम्ति संगठित जनता मात्र होइन, समाजका हरेक तहतप्काका जनता मिलेर मात्रै इतिहासको निर्माण गर्न सक्छन् ।

जनताबाट अलगथलग पार्टी र संगठनले इतिहास बनाउन सक्दैन । जनताको सर्वभौमसत्ता र देशको स्वाधीनता पनि जोगाउन सक्दैन । त्यसैले पानीसँग माछा घुलमिल भएझैं जनतासँग घुलमिल हुने युवादस्ता आजको आवश्यकता हो । जनतासँग घुलमिल हुँदै नयाँ इतिहास निर्माणमा जनतालाई समेत गतिशील बनाउने विचार र कार्यदिशा हामीसँग हुनुपर्छ ।

यसका निम्ति विचारधारात्मक क्रान्ति, प्राविधिक क्रान्ति र सांस्कृतिक क्रान्तिलाई एकाकार गरेर जारी राख्नुपर्छ । क्रान्तिप्रति इमानदार, पार्टीप्रति बफादार र देशप्रति कर्तव्यनिष्ठ बन्न युवालाई उत्साहित गराइराख्नुपर्छ । व्यक्तिवाद र पैसाको खेती गर्ने पूँजीवादी एवम् साम्राज्यवादी व्यवस्थाविरुद्ध लड्न शारीरिक र मानसिक रूपले तयार बनाउनुपर्दछ । संघर्षको बाटो नै निर्माणको बाटो हो भन्ने शिक्षा युवाहरूलाई दिनुपर्दछ ।

युवाहरू मुक्तिको गीत मन पराउँछन् । दासताको जञ्जीर होइन, स्वतन्त्रताको आगो रोज्छन् । जनताको दुःखसुख, समाजको आरोह–अवरोहसँग एकाकार भएर हुर्कन्छन् । आवश्यकतामा सहयोग र गल्तीमा आलोचनाको संस्कार भएन भने मुक्तिको गीत गाउने आन्दोलन बन्न सक्दैन ।

क्रान्ति र आन्दोलनमा युवाको भूमिका सधैं सराहनीय र नेतृत्वदायी रह्यो तर पार्टी र राज्यका अन्य निकायमा युवाहरूको अवस्था दयनीय बन्यो । सिपाही बन्ने युवाहरु क्रान्तिका उत्तराधिकारी बन्न नसक्दा क्रान्तिकारी आन्दोलन नै अलपत्र पर्ने अवस्था सिर्जना हुँदैन । त्यसैले विचारमा एकताबद्ध बनौं । विचारमा दृढ र व्यवहारमा गतिशील बनौं । सिपाही मात्र होइन, उत्तराधिकारी हुँदै क्रान्तिको नेतृत्वदायी भूमिका निर्वाह गरौं ।

(शेर्पा वाईसीएल नेपालका केन्द्रीय सचिव तथा प्रदेश–१ का इन्चार्ज हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?