
१९ साउन, काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले ल्याएको दस्तावेजको विपक्षमा संयोजक मिलन पाण्डेसहितका नेताहरुले अर्को प्रस्ताव ल्याएका छन् ।
पाण्डेसहित केन्द्रीय सचिवालय सदस्य केशव दाहाल, डा. राजेन्द्र पंगेनी र रञ्जु दर्शनाको नामबाट नयाँ प्रस्ताव सार्वजनिक गरिएको हो ।
‘वैकल्पिक राजनीतिको मूल बाटो’ शीर्षकको प्रस्तावमा अध्यक्ष मिश्रको धारणाले वैकल्पिक राजनीतिलाई गलत दिशामा लैजाने जिकिर गरिएको छ र गणतन्त्रको सुदृढीकरण, धर्मनिरपेक्षताको रक्षा र सङ्घीयतामा सुधारको वकालत गरिएको छ ।
साथै, तिनै तहका सरकारमा प्रत्यक्ष निर्वाचित कार्यकारी र उत्कृष्टताको आधारमा बन्ने गैरसंसद सदस्यको मन्त्रिमण्डलको शासकीय व्यवस्थामा जानुपर्ने उनीहरूको प्रस्ताव छ । प्रस्तावमा भनिएको छ, ‘पात्रहरुको अक्षमताले प्रणालीलाई दोष देखाएर नागरिकको अवस्था बदल्न बनेको पार्टीलाई पुनः व्यवस्था परिवर्तनको नाममा अन्त्यहिन अस्थिरताको खेलमा लैजान सक्दैनौँ ।’
सचिवालय सदस्य दाहालले विवेकशील साझा पार्टी किन जन्मियो, वैकल्पिक राजनीति किन सुरु भयो, यसको औचित्य के हो र अबको बाटो के हुनुपर्छ भन्नेबारे छलफलको लागि नयाँ दस्तावेज ल्याइएको बताए । उनले भने, ‘यो प्रस्तावले पार्टीको लिगेसी र भविष्य बोल्नेछ ।’
नेतृ दर्शनाले पार्टीलाई गलत दिशामा जान नदिन आफूहरूले संयुक्त प्रस्ताव ल्याएको बताइन् ।
‘विवेकशील साझा संविधानवाद, सामाजिक न्याय र सहभागितामूलक लोकतन्त्रमार्फत समतामूलक सम्बृद्धि हासिल गर्न स्थापना भएको पार्टी हो’, उनले भनिन्, ‘संविधानमा सेटल भैसकेका विषयमा पार्टीमा बहस आवश्यक थिएन, तर पार्टी अध्यक्षले नै आन्दोलनलाई दिग्भ्रमित पार्ने खालको दृष्टिकोण ल्याएपछि पार्टीलाई सुस्पष्ट दिशा दिन प्रस्ताव ल्याउनु परेको हो ।’
अध्यक्ष मिश्रले पार्टीमा छलफल नगरी ११ साउनमा संघीयता खारेजी र धर्मनिरपेक्षताको विषयमा जनमत संग्रह हुनुपर्ने मागसहितको दस्तावेज सार्वजनिक गरेका थिए ।
प्रस्तावको पूर्णपाठ
प्रतिक्रिया 4