+
+

एनआरएनमा गुटगत स्वार्थलाई निरुत्साहित गर्न फेरि अध्यक्षमा लड्दैछु : कुल आचार्य

वसन्त रानाभाट वसन्त रानाभाट
२०७८ भदौ १ गते ७:२६

१ भदौ बार्सिलोना । एनआरएनएका पूर्व उपाध्यक्ष कुल आचार्यले संस्थामा देखिएको चरम लापरबाही, चरम व्यक्तिगत र गुटगत स्वार्थलाई निरुत्साहित गर्न फेरि अध्यक्षमा उम्मेदवारी दिने बताएका छन्।

संस्थाको सुदृढीकरण र शुद्धीकरण नै आफ्नो प्राथमिकतामा रहेको बताउँदै आचार्य पुन: आफू चुनावी मैदानमा उत्रिएको बताएका हुन्। उनी गैरआवासीय नेपाली संघको नवौं विश्व सम्मेलन तथा महाधिवेशनमा पनि अध्यक्षका प्रत्यासी थिए। आचार्य संघका अध्यक्ष कुमार पन्तसँग पराजित भएका थिए।

अनलाइनखबरसँग विशेष कुराकानी गर्दै आचार्यले अध्यक्ष पदमा आफ्नो दावेदारी स्वाभाविक भएको बताएका छन् । ‘संस्थामा लामो समयदेखि समय, स्रोत र निस्वार्थ सेवामा खटेको मेरो योगदान तपाईंहरुले मूल्यांकन गर्न सक्नु हुन्छ । मैले कहिले पनि कमिसन वा व्यक्तिगत लाभको लागि कुनै पनि काम गरेको छैन । संस्थामा देखिएको चरम लापरबाही, चरम व्यक्तिगत र गुटगत स्वार्थलाई निरुत्साहित गर्न मैले सधैं आवाज उठाइरहेको छु,’ उनले भने

सबै गैरआवासीय नेपालीहरुको इज्जत र प्रतिष्ठा बोकेको संस्थामा सबैको भावनालाई समेट्ने, सबैलाई मिलाएर जान सक्ने, अग्रजलाई सम्मान र युवालाई साथै लिएर जाने आफ्नो भिजन रहेको उनले बताए ।

आचार्यले थपे, ‘गैरआवासीय नेपाली संघ जस्तो सामाजिक संस्थालाई विभिन्न स्वार्थमा विभाजित बनाउने कुराको म विरोधी हुँ । त्यसैले संघको साखलाई उचो बनाउन तमाम अग्रज र गैरआवासीय नेपाली समुदायको विशेष अनुरोधलाई स्वीकार गरेर नै म उम्मेद्वार बन्ने निधोमा पुगेको हुँ ।’

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी नेतृत्वका लागि रसियाबाट डा. बद्री केसी र अमेरिका निवासी रविना थापाले पनि उम्मेदवारी दिने बताएका छन्।

यसपटक डा. केसी र आचार्यबीच नै मुख्य प्रतिस्पर्धा हुने ठानिएको छ । डा.केसीलाई नेकपा एमाले निकट र आचार्यलाई नेपाली कांग्रेस निकटको उम्मेदवारको रुपमा पनि हेरिएको छ।

आचार्यका मुख्य एजेन्डाहरु के हुन् ?

नेपालका सबै राजनीतिक दलहरुलाई एक ठाउँमा उभ्याई संविधानले नै प्रदान गरेको गैरआवासीय नागरिकता कानून पारित गर्नुपर्ने अहिलेको आवश्यकता रहेको भन्दै यो विषयलाई आचार्यले उच्च प्राथमिकतामा राखेको बताएका छन्।

‘गैरआवासीय नेपालीहरुको नेपालमा रहेको सम्पत्तिको सुरक्षा प्राथमिकताको विषय हो। यस्तै कोभिड-१९ का कारण ठूलो संख्यामा नेपालीहरुले रोजगारी गुमाएर स्वदेश फर्कनु भएको छ । स्वदेश फर्केका नेपालीहरुका लागि रोजगार सिर्जना गर्न सघाउन मैले ‘एक एनआरएन एक रोजगार’ भन्ने अवधारणा अगाडि सारेको छु।’ उनले थपे ।

प्रवासी लगानीमैत्री नीति निर्माणमा पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै आचार्यले भने, ‘नागरिकताको अभावमा कतिपय गैरआवासीय नेपालीहरुले नेपालमा लगानी गर्न नपाएको तथा नेपालमा रहेको पैतृक सम्पत्ति पनि परिचालन गर्न नसकेको अवस्था छ। यस्ता समस्याको समाधान गर्न मैले नेपाल सरकारलाई आग्रह गर्ने छु।’

प्रवासमा नेपाली भाषा, संस्कृति र सम्पदाको रक्षा गर्ने कुरामा आफूले जोड दिंदै आएको सुनाए । उनले आफ्ना प्रतिवद्धताहरू छिट्टै औपचारिक रुपमा नै सार्वजनिक गर्ने पनि बताएका छन् ।

हालै सम्पन्न एनसीसीहरुको चुनाव र महाधिवेशन प्रतिनिधि (डेलिगेट्स) चयनमा केन्द्रले हस्तक्षेप गरिरहेको भन्ने गुनासो आएको पनि बताए। आचार्यले भने, ‘ विधानको आफूखुसी व्याख्या गर्ने प्रवृत्ति देखिएको छ। म एनसीसीहरुलाई स्वायत्तता दिनु पर्छ भन्ने कुरामा विश्वास गर्छु । संस्थाको पारदर्शिता, संस्थाका सदस्यहरुको डेटा सुरक्षा, एनसीसीहरुको स्वायत्तता अर्थात हरेक देशका एनसीसीहरुलाई आफ्ना सदस्यहरुका डेटा, आफ्नो नीति तथा कार्यक्रमहरु तर्जुमा गर्न स्वतन्त्र निर्णय गर्न छोडीदिने कुरामा म विश्वास गर्छु।’

आचार्यको प्यानलमा को-को छन् ?

‘संघको विधानले प्यानल बनाउन बर्जित गरेको कुरा सर्वविदित नै छ । तर विचार र मुद्दा मिल्नेहरु एक अर्कालाई सहयोग गर्ने सर्तमा एकत्रित हुनु स्वाभाविक हो । टिममा बौद्धिक साथीहरु, सफल ब्यक्तित्वहरु, उद्यमी व्यवसायीहरु, सबै तप्का, क्षेत्र, समुदाय, पेशा र समूहका साथीहरुको समावेसी टिम बनाएर अघि बढ्ने प्रण गरेका छौं,’ अध्यक्षका प्रत्यासी आचार्यले भने।

उनले आफ्नो टिमको महासचिवको उम्मेदवार अमेरिका निवासी डा. केशव पौडेल रहेको बताए। ‘अन्य पदमा एनआरएन अभियानमा लामो समयदेखि सक्रिय, समाजले पत्याएका, वरिष्ठ साथीहरुलाई समेटेर छिट्टै एउटा समावेशी टिम बनाएर अन्तिम रुप दिने तयारी भै रहेको छ । छिट्टै हामी घोषणा गर्ने छौं।’ उनले थपे।
स्रोतका अनुसार आचार्य समूहबाट खुल्ला चार उपाध्यक्षतर्फ मन केसी, सोनाम लामा, त्रिलोक गुरुङ, एसी शेर्पा, आरके शर्मा, हिक्मत थापा, सुनील साह मध्येबाट उम्मेदवारी पर्ने सम्भावना रहेको छ ।

यस्तै महिला उपाध्यक्षमा बेल्जियम निवासी जानकी गुरुङ र युवा उपाध्यक्षमा मध्यपूर्व युवा संयोजक राज रेग्मीको नाम चर्चामा रहेको छ । आचार्य समूहमा पनि सचिवका आकांक्षीहरुको संख्या बढी रहेको छ।

कोषाध्यक्षमा वर्तमान सह-कोषाध्यक्ष लोकप्रसाद दाहालको नाम नै चर्चामा छ । यद्दपि दाहाललाई डा. केसीको समूहले आफ्नो उम्मेदवारको रुपमा दाबी गर्दै आएको छ। तर आचार्य समूहमा नै कोषाध्यक्ष पदका लागि सोम सापकोटा नाम पनि चर्चामा रहेको छ ।

एनआरएनए युरोप संयोजकमा शुक्रराज न्यौपाने (आयरल्यान्ड) वा चिन्तामणि सापकोटा (स्पेन) मध्ये एकलाई अघि सार्ने आचार्य समूहको तयारी बुझिन्छ ।

अध्यक्षका प्रत्यासी डा. बद्री केसीको समूहले भने मुख्य पदहरुमा टुङ्गो लगाइसकेको बताएको छ। संघको विधानले प्यानल बनाउन बर्जित गरेको भएपनि आईसीसी तथा एनसीसीका निर्वाचनहरुमा विधानको उलङ्घन हुँदै आएको छ ।

लेखकको बारेमा
वसन्त रानाभाट

बसन्त रानाभाट अनलाइनखबरका युरोपका समाचार संयोजक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?