+
+

बर्सेनि भासिन्छ पोखरा, भ्वाङ टालेर मात्र हुँदैन !

विकास रोका मगर विकास रोका मगर
२०७८ भदौ १७ गते १७:५२

१७ भदौ, पोखरा । पछिल्लो केही दिनयता परिरहेको भारी वर्षासँगै पोखरामा जमिन भासिने क्रम बढेको छ । बुधबारमात्रै पोखरा महानगरपालिका–३ नदीपुरमा जमिन भासिएको छ । जमिन भासिँदा तीन घर र सडकमा समेत क्षति पुगेको वडाध्यक्ष रवीन्द्रहादुर प्रजूले जानकारी दिए ।

लगातार तीन दिनदेखिको वर्षाका कारण नदीपुरका देउबहादुर पुन, छविलाल पुन र बलबहादुर पुनको घर भासिएको छ । ‘जमिन भासिएर आँगनमा धेरै क्षति पुगेको छ । घर पनि चर्केका छन्,’ उनले भने ।

वडा प्रहरी नदीपुर बुथका प्रहरी हवल्दार गौतम श्रेष्ठका अनुसार जमिन भासिँदा बलबहादुर पुनको पर्खालको मुख्य प्रवेशद्वारमा पूर्ण रुपले क्षति पुगेको छ । ‘अरुको गेटमा सामान्य क्षति पुगेको हो । तर, उहाँ (बलबहादुर) को घरको गेटै हटाउनुपर्‍यो,’ उनले भने । उनका अनुसार जमिन बुधबार मध्यरातमा भास्सिएको हो ।

जमिन भासिँदा परेको खाल्डो पुर्ने काम सकिएको वडाध्यक्ष प्रजूले जानकारी दिएका छन् । उनले भने, ‘भत्केको सडकमा डोजर लगाएर सम्यायौं । फेरि पानी पर्ने सम्भावना छ । तर, तत्कालका लागि भने व्यवस्थापन गरिसकेका छौं ।’

केही दिन अघिमात्रै महेन्द्रपुलमा करिब ५० मिटर जमिन भासिएको थियो । जमिन भासिँदा फुटपाथ तथा घरलाईसमेत जोखिम बढेको थियो । उक्त भ्वाङमा तत्कालका लागि माटोले भरेर सम्याइएको छ ।

किन भासिन्छ पोखरा ? चुन माटो र ढल, नालाले !

पोखरामा जमिन भासिनु नौलो होइन । पोखराका सेतीवारिका जमिन लामाचौर, नदीपुर, अर्मला, लेकसाइड, महेन्द्रपुल लगायतका क्षेत्रका जमिन बर्षेनि भासिँदै आएका छन् ।

किन भासिसन्छन् त पोखराको जमिन ? पोखराको भौगर्भिक÷प्राकृतिक जोखिम विषयमा फ्रान्सको पेरिस विश्वविद्यालयबाट विद्यावारिधि गरिरहेका नारायण गुरुङ भन्छन्, ‘पोखराको माटो चुनयुक्त छ । जुन पानीसँग मिसिँदा घुलेर जाँदा जमिन भास्सिन्छ ।’ माटोबाट चुन पग्लेर गइसकेपछि माटोको भारवहन शक्ति घटेर जाने र फलस्वरुप जमिन भ्वाङ पर्ने उनको भनाइ छ ।

पोखरेली जमिनमा चुनयुक्त माटोकै कारण सामान्य प्राकृतिक प्रक्रिया भएपनि पछिल्ला दिनमा भने प्रकोपकै रुपमा जोखिम बढेर गएको गुरुङ सुनाउँछन् । ‘पोखराका लागि यो नियमित प्रक्रियाजस्तै थियो । तर, पछिल्ला घटना सामान्य होइनन्,’ उनी भन्छन्, ‘यसको मूल कारण नै अव्यवस्थित शहरीकरण, ढल र नाला हो ।’

गुरुङका अनुसार अव्यवस्थित बस्ती विकासका कारण ढल, नाला तथा सडकबाट पानी समान रुपमा बगेर जान नपाउँदा समस्या देखिएको हो । ‘पानी सोस्ने जमिनमा घर बनिसके । अब पानी बग्ने भनेकै नाला, ढल र सडकबाट हो । तर, ती नाला, सडक क््रयाक भइदिँदा जमिनमा भासिन्छ,’ उनले भने ।

चर्केका नाला तथा ढलबाट जमिनमा पानी पस्यो र जमिनले सोस्न नपाएमा आधा घन्टामा नै जमिन भास्सिन सुरु गर्ने गुरुङ बताउँछन् । ‘आजभन्दा २० वर्षअघि यस्तो थिएन । अहिले बस्ती बढे, नाला साना भए । जो अभागी छ, उसकै घर, सडक भास्सिने भयो,’ उनले भने, ‘घटनाहरुबाट हामीले पाठ सिक्न जानेनौं ।’

‘भ्वाङ टालेर समस्या समाधान हुँदैन’

भासिएको ठाउँलाई सामान्य माटो या ढुंगाले पुरेर सम्याउने काम भइरहेको छ । तर, गुरुङ यसलाई सुरक्षित ‘इन्जिनियरिङ’ मान्दैनन् । भ्वाङ टालेरमात्रै समस्याको समाधान नहुने उनको भनाइ छ । पोखराका भ्वाङ पुर्न परम्परागत शैलीमै परिवर्तन गरेर दीर्घकालीन समाधानको उपाय खोज्न गुरुङको सुझाव छ ।

‘यो सामान्य खाल्डो पुरेको जस्तो काम भयो । पोखरामा परिरहेको भ्वाङ र खाल्डो फरक किसिमका हुन्,’ इन्जियनियर गुरुङ भन्छन्, ‘खाल्डो कत्रो छ ? पानी कहाँबाट आइरहेको छ ? भन्ने सबै अध्ययन गरेरमात्रै पुर्नपर्छ । त्यहाँ भनेको सामान्य ढुंगा, माटोकै विकल्प खोज्ने हो ।’

हेलचेक्र्याईं गरेर सामान्य ढुंगा माटोलेमात्रै भास्सिएका भ्वाङ पुर्ने काम भइरहेका धनकोमात्रै नभई निकट भविष्यमै मानवीय क्षतिसमेत हुने गुरुङले चेतावनी दिए । ‘किन भ्वाङ परेको हो भन्ने अध्ययन गरेरमात्रै टाल्ने हो । २ ट्रक लगेर ढुंगा, माटो थुपार्दैमा समस्या समाधान हुँदैन,’ उनले भने, ‘नत्र त्यहाँ फेरि भ्वाङ पर्छ । आज सडक गयो, भोलि घरै जान्छ । धनको क्षति भयो, जनको क्षति नहोस् !’

‘थुप्रै जमिन खोक्रो, ठूलै विपद्को सम्भावना’

बर्सेनी बर्षातले आउने भलले पोखराका थुप्रै भाग खोक्रो बनाइसकेको हुन सक्ने इन्जिनियर गुरुङ बताउँछन् । ती खोक्रोपनबाट ठूलो विपद्को सम्भावना रहेको उनले औंल्याए ।

‘भल जमिनभित्र छिर्दा भित्रभित्रै थुप्रै खोक्रोपन बनिसकेका हुन सक्छन् । यद्यपि जमिनको भारवहन क्षमताले मात्रै धानिरहेको हुन सक्छ,’ गुरुङ भन्छन्, ‘त्यस्ता जमिनमाथि बनाइएका संरचनाहरु भूकम्प जाँदा सजिलै भासिन्छन् । अन्ततः ठूलो विपद् निम्तिन सक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?