+
+

पोखरा र भरतपुरमा बिजुलीको तार भूमिगत गर्ने ठेक्का टाटालाई

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २० गते १७:१९
फाइल तस्वीर

२० भदौ, काठमाडौं  । पोखरा र भरतपुरको विद्युत् वितरण लाइन भूमिगत हुने भएको छ । त्यसका लागि नेपाल विद्युत् प्राधिकरणले ठेकदार कम्पनी छनोट गरेको छ । दुई चरणमा काठमाडौं उपत्यकामा विद्युत् वितरण लाइन भूमिगत गर्न ठेक्का लगाइसकेको प्राधिकरणले तेस्रो चरणमा पोखरा र भरतपुरमा पनि ठेक्का लगाउन लागेको हो ।

पोखरा र भरतपुरमा तार बिछ्याउने जिम्मा भारतको टाटा प्रोजेक्ट्स लिमिटेडले पाउने भएको छ । कम्पनीले २ अर्ब ५० करोड ३३ लाखमा ठेक्का पाउन लागेको जानकारी प्राधिकरणले दिएको छ ।

दुई वर्षभित्र काम सक्ने गरी प्राधिकरणले टाटासँग खरिद सम्झौता गर्नेछ । कम्पनीले भूमिगत वितरण लाइनको डिजाइन, आपूर्ति, जडान र किमिसनिङसम्मको कामका लायि यस्तो ठेक्का पाएको हो ।

पोखरामा ११ केभीको ४८ सर्किट किलोमिटर, ४०० भोल्टको ३३ सर्किट किलोमिटर र ५५ किलोमिटर अप्टिकल फाइबर लाइन भूमिगत गर्ने तयारी भएको छ ।

भरतपुरमा ३३ केभीको ९ सर्किट किलोमिटर, ११ केभीको ७५ सर्किट किलोमिटर,४०० केभीको ७० सर्किट किलोमिटर र २८ किलोमिटर अप्टिकल फाइबर भूमिगत गर्न ठेक्का लागेको हो ।

शहर सुन्दर बन्ने

प्राधिकरणले शहरी सौन्दर्यलाई वृद्धि गर्न ‘उज्यालो र शहर सफाइ अभियान’ चलाउन थालेको छ । मुख्य तथा सहायक सडकहरुमा रहेका प्रयोगविहीन अनावश्यक विद्युतीय पोल तथा तारहरु हटाउने, तारहरुलाई भूमिगत गर्नेलगायतका काम अगाडि बढाइने कार्यकारी निर्देशक घिसिङले जानकारी दिए ।

पहिलो चरणमा उज्यालो र सफाइ शहर अभियान संघीय राजधानी काठमाडौं उपत्यका, भरतपुर एवं पर्यटकीय पोखरा महानगरपालिकामा चलाइने र त्यसपछि विस्तार गर्दै देशभरी नै सञ्चालन गरिने घिसिङ बताउाछन् ।

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले आफ्नो कार्ययोजनामार्फत वितरण लाइन तथा सबस्टेशनको क्षमता वृद्धि गर्दै वितरण प्रणालीको गुणस्तर सुधार गर्ने र शहरी क्षेत्रमा वितरण प्रणालीलाई भूमिगत गर्ने कार्यलाई विस्तार गर्दै लैजाने घोषणा गरेका थिइन् ।

‘अहिले सडकमा प्रयोगमै नरहेका अनावश्यक पोलहरु जताततै देखिन्छन्, त्यसलाई हटाउन सुरु गरिसकेका छौं, विद्युतीय तारलाई भूमिगत बनाउन पहिलो चरणमा काठमाडौंको महाराजगञ्ज र रत्नपार्क क्षेत्रमा धमाधम काम भइरहेको छ, शहरलाई कुरुप बनाएका विभिन्न सेवा प्रदायकहरुको तारको जालोलाई हटाएर हाम्रै भूमिगत प्रणालीमा राखिने छ’, घिसिङले भने, ‘हाल भइरहेको जमिन माथिको (ओभरहेड) वितरण प्रणालीभन्दा भूमिगत प्रणाली सुरक्षित हुने र शहरलाई कुरुप बनाइरहेको तारको जालो हटी सौन्दर्यता कायम राख्न सहयोग पुग्ने भएकाले यसलाई देशका प्रमुख शहरहरुमा विस्तार गर्दैछौं ।’

प्राधिकरणले अहिले काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणालीलाई भूमिगत बनाउन काठमाडौंको रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा काम गरिरहेको छ । दोस्रो चरणमा काठमाडौंका बाँकी रहेका ठाउँहरु, ललितपुर, भक्तपुर, पोखरा, भरतपुरको तार भूमिगत गर्ने काम अगाडि बढाइसकेको छ ।

विद्युतको तारसँगै अप्टिकल फाइबर पनि बिछ्याइने हुँदा इन्टरनेट, दूरसञ्चार, केबल टेलिभिजन सेवा प्रदायकहरुले उक्त अप्टिकल फाइबर प्रयोग गरी सेवा प्रदान गर्न सक्नेछन् ।

नयाँ प्रविधि प्रयोग

तार भूमिगत गर्न र त्यसक्रममा भत्किने सडक पुनर्स्थापना गर्ने प्राधिकरणले सडक विभागसँग समझदारी गर्दै आएको छ । यो काम गर्दा सकेसम्म सडक कम भत्काउन प्रयास हुने प्राधिकरणले बताएको छ । त्यसकै लागि पहिलोपटक सडकमा न्युन क्षति हुने गरी तार बिछ्याउने प्रविधि प्रयोग गरिएको छ ।

सडक खन्दा सर्वसाधारणले धेरै सास्ती खेप्न नपरोस् भनेर ‘होरिजेन्टल डाइरेक्सनल ड्रिलिङ’ प्रविधि अपनाइएको प्राधिकरणले बताएको छ ।

यो प्रविधि अपनाउँदा सय मिटरसम्मको दूरीमा दुई खाल्डा खनेर बीचमा तार राख्ने पाइप हालिन्छ । यसप्रकार तार बिछ्याइने सडकहरुमा कम्तीमा सय मिटरको दूरीमा २–२ लम्बाइ र चौडाइको खाल्डोहरु खन्नुपर्ने हुन्छ । बीचमा लाइनहरु निकाल्न पनि स–साना खाल्डा खन्नुपर्छ । एक भागबाट मेसिनले पाइप घचेट्दै २०० मिटर पर निकाल्छ । तारलाई पनि त्यसैगरी पाइपभित्र तानिन्छ ।

सडकमा तार बिछ्याउनुअघि गरिने जीपीएस एक्स–रेले जमिनभित्र पानीका पाइप, ढल, टेलिफोनका तार भए/नभएको देखाउँछ । र, त्यसमा क्षति नपुग्ने गरी तार बिछ्याइन्छ । घुमाउरो भाग र मोडहरुमा भने सडक खन्नुपर्नेछ ।

यो परियोजना अन्तर्गत तार बिछ्याएर विजुलीका पोलहरु हटाइनेछ । यो प्रणाली जडान भएपछि विद्युत वितरणको काम अझ बढी प्रभावकारी र सुरक्षित हुने अपेक्षा छ । अहिले पोलहरुमा झुन्डिएका विजुली, टेलिभिजन, टेलिफोन र इन्टरनेटका तारको गुजुल्टोले शहरलाई जति अशोभनीय देखाएको छ, त्योभन्दा बढी दुर्घटनाको जोखिम बढाएको छ ।

तार भूमिगत हुँदा आगलागीलगायतका दुर्घटनाको जोखिम कम हुनको साथै शहरी सौन्दर्यमा टेवा पुग्ने घिसिङ बताउँछन् ।

तार भूमिगत गरिएसँगै सम्बन्धित वितरण केन्द्र अन्तर्गतका ग्राहकका घरबाट स्मार्ट मिटर जडान थाल्ने प्राधिकरणको योजना छ । त्यसबाट बेला–बेला लाइन जाने समस्या नहुने कार्यकारी निर्देशक घिसिङ बताउँछन् । उनका अनुसार, काठमाडौंभित्रको वितरण प्रणालीमा बढ्दो विद्युत माग धान्न ओभरहेड लाइनबाट अब सम्भव हुँदैन । घिसिङ भन्छन्, ‘भूमिगत लाइन निर्विकल्प भइसक्यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?