
२१ भदौ, काठमाडौं । बाढीले काठमाडौंको खोला किनारका बस्ती नराम्रोसँग प्रभावित भएका छन् । बल्खुको तरकारी बजार पूरै डुबानमा परेको छ । गाडीहरु पनि बाढीमा फसेका छन् ।
बाग्मती, विष्णुमति, इच्छुमति, धोबीखोला, बल्खुखोला, मनोहरा खोला, सामाखुशीखोला लगायतका नदीहरुमा बाढी आएको छ । सो बाढीले तटीय क्षेत्रका बस्तीहरु डुबाएको छ ।
घरमा बाढी पसेपछि स्थानीयको बिचल्ली भएको छ । उनीहरु घरभित्र पसेको पानी फाल्न व्यस्त देखिन्छन् । शंखमुलको खोला किनारको सडकसम्मै बाढी आएको छ । विशेषगरी खोला किनारका सुकुम्वासी बस्तीहरु बढी प्रभावित भएका छन् ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार काठमाडौंमा बाढीका कारण तीन सय ८२ घर डुबानमा परेका छन् भने एक सय ३८ जनालाई उद्धार गरिएको छ ।
काठमाडौंमा खोला किनारका बस्ती हरेक वर्ष बाढीको चपेटामा पर्छन् । खोला क्षेत्र अतिक्रमणमा परेकाले यो क्षेत्र डुबानमा पर्ने गरेको जानकारहरु बताउँछन् ।
गोंगबु, मैतीदेवी र रातोपुल क्षेत्रमा पनि डुबान छ । पानीको सतह सडकसम्मै आएपछि नदी किनारका सडकहरु अवरुद्ध भएका छन् । अन्यत्र पनि सडकमा भरिएको पानीका कारण ट्राफिक ब्यवस्था प्रभावित भएको छ । बाढी र डुबानबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
काठमाडौं अति भारी वर्षा मापन भएको मौसमविद मिनकुमार अर्याल बताउँछन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार त्रिभुवन विमानस्थल क्षेत्रमा बिहानपख ३ बजेदेखि ६ बजेसम्मको अवधिमा १ सय ५ मिलिमिटर वर्षा मापन भएको छ ।
काठमाडौंमा आइतबार राति दुई बजेदेखि पानी पर्न थालेको थियो । अहिले पनि वर्षा जारी छ । पानी पर्ने क्रम अझै केही समय जारी रहने पूर्वानुमान गरिएको छ ।
हाल देशमा उत्तर पश्चिम बंगालको खाडीमा अवस्थित न्युनचापीय क्षेत्रको प्रभाव छ । यही प्रभावका कारण लुम्बिनी, वाग्मती, गण्डकी र २ नं प्रदेशका धेरै स्थानहरुमा मेघगर्जनसहित मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रतिक्रिया 4