+
+

केन्द्रीय समितिको बैठक बोलाउन कांग्रेसका १४ केन्द्रीय सदस्यको माग

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २५ गते २१:३९

२५ भदौ, काठमाडौं । नेपाली कांग्रेसका १४ केन्द्रीय सदस्यले तत्काल केन्द्रीय कार्यसमिति बैठक बोलाउन माग गरेका छन् । शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले महाधिवेशनबारे छलफल गर्न केन्द्रीय समिति बैठक बोलाउन सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका हुन् ।

२० जिल्लाको क्रियाशील सदस्यता सूची सार्वजनिक नभएको, पार्टी कार्यालयमा जारी धर्ना, अनसन र डडेल्धुरा जिल्लामा देखिएको सदस्यता विवादलगायतका विषयहरु निरुपण गरी महाधिवेशनतर्फ अग्रसर हुन ठोस छलफलको आवश्यकता रहेको उनीहरुको भनाइ छ ।

‘काठमाडौं, मोरङ लगायतका १९ जिल्लाको आजसम्म पनि कृयाशील सदस्यको सूची सार्वजनिक गरिएको छैन र अधिवेशनको प्रक्रिया प्रारम्भ हुन सकेको छैन । यसले देशभर एकैपटक शुरु हुने अधिवेशनको परम्परालाई खण्डित तुल्याएको छ र अधिवेशनको आयोजनामा समेत विभेद भएको छ,’ संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘पार्टी विधान र देशको संविधानमा उपलब्ध समयसीमा नाघ्दा समेत कतिपय जिल्लामा अधिवेशन शुरु हुन नसक्नु साच्चै दुःखद पक्ष हो ।’

संयुक्त विज्ञप्ति जारी गर्नेमा केन्द्रीय सदस्यहरु डा. चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, रत्ना शेरचन, गुरुराज घिमिरे, गगन थापा, बद्री पाण्डे, सरिता प्रसाईं, जिवन परियार, प्रदिप पौडेल, रामकृष्ण यादव र किरण यादव छन् । उनीहरुले शुक्रबार मात्रै अधिवेशन तालिका संशोधन गरेर स्थानीय तहका अधिवेशनहरु पर सारेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

उनीहरुले पार्टी कार्यालयमा जारी धर्ना, अनसनको सम्बोधन गर्न नेतृत्वलाई आग्रह गरेका छन् भने समानुपातिक प्रतिनिधित्वको मागका पक्षमा पनि नेताहरुले ऐक्यवद्धता जनाएका छन् ।

डडेल्धुरा जिल्लामा देखिएको क्रियाशील सदस्यता विवाद सुल्झाएर मात्रै अधिवेशन प्रक्रिया सुरु गर्नुपर्ने संस्थापनइतर केन्द्रीय सदस्यहरुको माग छ । डडेल्धुरामा शुक्रबार वडा अधिवेशन सम्पन्न भइसकेको छ ।

उनीहरुले क्रियाशील सदस्यता सूची सार्वजनिक गर्न बाँकी जिल्लामा अधिवेशन प्रक्रिया सुरु गर्न पनि नेतृत्वको ध्यानाकर्षण गराएका छन् । ‘उपरोक्त सबै घटनाक्रमहरु पार्टी नेतृत्वका घरेलु मामला होइनन्, नेपाली कांग्रेसका झण्डै नौ लाख सदस्यहरुका साझा मामला, चिन्ता र सरोकार हुन्, यी सबै बिषयहरु निरुपण गरि महाधिवेशनतर्फ अग्रसर हुन ठोस छलफलको आवश्यकता भएकाले केन्द्रीय समितिको बैठक अबिलम्ब राखियोस्,’ विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?