+
+

बर्खाले रोकिएको नारायणगढ–पुल्चोक सडक विस्तारको काम शुरु

सिटी हलको काम पनि अघि बढ्यो

सुवास पण्डित सुवास पण्डित
२०७८ भदौ २९ गते १०:०३

२९ भदौ, चितवन । बर्खाका कारण रोकिएको चितवनको पुल्चोकदेखि भरतपुरको गोन्द्राङसम्मको सडक विस्तारको काम पुनः सुरु भएको छ ।

गत जेठदेखि रोकिएको सडक विस्तारको काम सोमबारदेखि पुनः शुरु भएको सडक निर्माण कम्पनी इन्डो सगुन जेभी बुटवलले जनाएको छ । कम्पनीका ठेकदार सहदेव खड्काका अनुसार सडक विस्तारका लागि १२० जना कामदार परिचालन गरिएका छन् ।

कोभिड र बर्खाका कारणले काममा ढिलाइ भएको भन्दै ठेकदार खड्काले कच्चा पदार्थहरुको सञ्चित गरिसकिएकाले अब कामलाई गति दिने बताए । अहिले सडकको नाली, रिटेन्सनवाल लगायतका काम सुरु भएका छन् । गोन्द्राङ क्षेत्रमा अलि बढी काम भएको छ । अब नारायणगढ क्षेत्रमा विस्तारका बाँकी काम गरिने उनले बताए ।

सडकमा रहेका विद्युतका पोल सार्ने काममा नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले सहयोग गरे विस्तारको काम अझै चाँडै अघि बढ्ने उनले बताए । प्राधिकरणले पोल सार्ने र तार तान्ने काम पनि अघि बढाएको उनको भनाइ छ ।

सडक डिभिजन कार्यालय भरतपुरका प्रवक्ता शिव खनालले सडक विस्तारको काम १३ प्रतिशत सकिएको बताए । उनले सडक विस्तारको कार्यतालिका अनुसार नै काम भैरहेको बताए ।

भरतपुर र नारायणगढ क्षेत्रमा पर्ने यो सडकमा अत्यधिक सवारी चापका साथै दुर्घटनासमेत बढ्न थालेकाले शहरी सौन्दर्यकरणलाई समेत ख्याल गरी ६.०८ किलोमिटर लामो सडक विस्तारको काम थालिएको सडक डिभिजन कार्यालय चितवनले जनाएको छ ।

पूर्वपश्चिम राजमार्गलाई विस्तार गरी ६ लेनको बनाउने सरकारको कार्यक्रमअन्तर्गत नारायणगढ-बुटवल सडकको एक खण्डको रूपमा पुल्चोक-गोन्द्राङ खण्डलाई विस्तार गर्न थालिएको हो ।

कूल १ अर्ब १२ करोडको लागतमा बिस्तार गर्न लागिएको सडक २८ महिनाभित्र (२०७९ साल फागुन १० गते) सक्ने गरी २०७७ असोज २६ गते सम्झौता भएको थियो । ठेकदार खड्काले तोकिएको सम्झौता मितिभित्र नै काम सक्ने योजनामा रहेको बताए ।

टिकौली जंंगल छेउ गोन्द्राङदेखि केन्द्रीय बस टर्मिनल चोकसम्मको सडक अहिले दुई लेनको छ । केन्द्रीय बस टर्मिनलदेखि रिजालचोकसम्म चार लेनको छ । यो सडकमा अहिले चौबिसकोठी, भरतपुर ओरालो र बजार क्षेत्रमा चार लेन छ ।

हाल दुई लेन भएको स्थानमा चार लेन थपिने र चार लेन भएको स्थानमा दुई लेन थपिने डिभिजन सडक कार्यालय चितवनका इन्जिनियर एवम् प्रवक्ता शिव खनालले जानकारी दिए । ५० मिटर चौडाइ रहने ६ लेनको सडक क्षेत्रमा फुटपाथ, ढल, सर्भिस लेन, स्मार्ट लाइट जडान र विजुली अन्डरग्राउन्ड हुनेछ ।

सडकको दायाँ–बायाँ ११.५/११.५ मिटरको पिच हुनेछ । त्यसको विचमा ३ देखि ४ मिटरको मेडियन, मुख्य सडकको छेउमा नाली र त्यसभन्दा बाहिर ५.५ मिटरदेखि ६ मिटरसम्मको सर्भिस लेन दुबैतिर हुनेछ ।

सिटी हल निर्माणको काम पनि शुरु

निरन्तरको बर्खाले रोकिएको भरतपुर सिटी हल निर्माणको काम पनि शुरु भएको छ । भरतपुर गोन्द्राङ सडक विस्तारकै ठेक्का पाएको कम्पनी इन्डो सगुन जेभी बुटवलले नै सिटी हल निर्माणको जिम्मा पाएको हो ।

ठेकदार सहदेव खड्काले ६५ जना कामदार राखेर सिटी हलको काम पुनः शुरु गरिएको बताए । ‘कोभिडमा बरु काम गरिएको थियो, तर बर्खाले भरतपुर क्षेत्र डुब्दो रहेछ, काम गर्न मुस्किल भएर जेठबाट काम रोक्यौं’ ठेकदार खड्काले भने, ‘अब धमाधम काम अघि बढ्छ ।’ उनले सिटी हलको २० प्रतिशत काम सकिएको बताए ।

भरतपुर महानगरपालिकाको वडा नम्बर १० मा बाइपास सडकसँग जोडिएको जिल्ला समवन्य समिति पछाडि रहेको चार विघा चार कठ्ठा जग्गामा सिटी हल निर्माण भैरहेको छ । ७७ करोड ७७ लाख रुपैयाँ लागतमा सिटी हल निर्माण थालिएको हो ।

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?