+
+

बैंकमा तरलता अभाव : बजेट होलिडेको त्रास, रेमिट्यान्सको आश

बैंकर्स संघका अध्यक्ष भन्छन्– कात्तिदेखि ब्याजदर घट्छ

रोयल आचार्य रोयल आचार्य
२०७८ असोज ३ गते २०:१२

३ असोज, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा लगानी योग्य रकम (तरलता) अभावको समस्या देखिएको छ । अघिल्लो वर्ष यही समयमा १५० अर्ब भन्दा धेरै रहेको तरलता अहिले १३० अर्ब घटेर बजारमा २० अर्ब रुपैयाँ हाराहारीमा झरेको नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताए ।

हरेक वर्षजसो बैंकिङ क्षेत्रमा दशैंतिहारका बेला तरलता समस्या देखिने गरेको छ । गत वर्ष कोरोना संक्रमण रोक्न सरकारले लामो समय लकडाउन गर्‍यो । लकडाउनमा नयाँ व्यवसाय विस्तार नभएको र अधिकांश उद्योग व्यवसाय बन्द भएका कारण बैंकहरुले पर्याप्त लगानी गर्न पाएनन् ।

लकडाउन खुला भएपछि भने बैंकहरुले आक्रामक रुपमा लगानी विस्तार गरेका छन् । लगानी विस्तार भएको अनुपातमा निक्षेप नथपिँदा अहिले वित्तीय बजारमा तरलता अभाव देखिएको हो । सरकारले बजेट पारित गर्न नसकेर सरकारी खर्च प्रभावित भएका कारण पनि वित्तीय क्षेत्रमा तरलता अभाव भएको हो ।

‘गत ८–१० वर्षको अवस्था हेर्दा यो समयमा ३० अर्बदेखि ४० अर्ब रुपैयाँ मात्र निक्षेप बढ्ने गरेको थियो,’ बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक ढकालले भने, ‘साउन र भदौ कमजोर नै हुने गरेको छ, कर्जा पनि यो समयमा घट्ने नै हो तर अहिले भने फरक अवस्था देखियो ।’

सरकारले भदौसम्म १६८ अर्ब रुपैयाँ राजश्व उठाएको छ । यो रकम राज्यको ढुकुटीमै थन्किएका कारण बजारमा रकम अभाव देखिएको नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल बताउँछन् । बजारमा लगानीयोग्य रकम कम भएपछि बैंकहरुले निक्षेप आकर्षित गर्न ब्याजदर बढाएका छन् ।

उनका अनुसार अहिले निक्षेप संकलन करिब ६५ अर्ब घटेको छ । कर्जा प्रवाह भने बैंकहरुले ११६ अर्ब रुपैयाँ बढाएका छन् । बैंक तथा वित्तीय संस्थाहरुको मुख्य स्रोत भनेको निक्षेप नै हो । तर आफूसँग स्रोत र साधन अपुग हुँदाहुँदै पनि बैंकहरुले आक्रामक रुपमा कर्जा विस्तार गरेका छन् ।

बैंकहरुको सम्पत्ति दायित्व व्यवस्थापन कमजोर भएकै कारण अहिले तरलता कम देखिएको प्रवक्ता ढकाल बताउँछन् । ‘बैंकहरुको मुख्य स्रोत निक्षेप नै कम आउँदा पनि कर्जा लगानीमा आक्रामक भएका कारण तरलतामा चाप परेको हो’, उनले भने ।

अहिले बजारमा लगानीयोग्य रकम कम हुनुको कारण योमात्रै चाहिँ होइन । यसका अन्य सहायक कारणहरु समेत छन् । सरकारले साउनमा मात्रै ९३ अर्ब २६ करोड रुपैयाँभन्दा बढी उठाएको छ । त्यो रकम बजारमा आउन पाएको छैन ।

सरकारले भदौसम्म १६८ अर्ब रुपैयाँ राजश्व उठाएको छ । राज्यको ढुकुटीमा भएको रकम खर्च हुन नसक्दा वित्तीय बजारमा रकम अभाव देखिएको प्रवक्ता ढकालको भनाइ छ । बजारमा लगानीयोग्य रकम कम भएपछि बैंकहरुले निक्षेपको ब्याज धेरै बढाएका छन् ।

कर्जाको ब्याजदर एकल अंक (१० प्रतिशत भन्दा कम) मा हुनुपर्ने व्यवसायीहरुको माग रहँदै आएको छ । कोरोना महामारीपछि अधिकांश बैंकले एकल अंकमा नै कर्जा लगानी गरेका थिए । तर, अहिले केही बैंकको निक्षेपकै व्याज १० प्रतिशत पुर्‍याएका छन् ।

राष्ट्र बैंकले ल्याएको नीतिका कारण बैंकहरुले अझ धेरै ब्याजदर बढाउन नपाएको राष्ट्र बैंकका प्रवक्ता ढकाल बताउँछन् । ‘निक्षेपको ब्याजदर १५ प्रतिशतभन्दा माथि पुग्ने सम्भावना थियो,’ उनी भन्छन्, ‘राष्ट्र बैंकले लिएको नीतिका कारण त्यो हुन पाएन । राष्ट्र बैंकले कसरी हुन्छ बजार सहज बनाउने नीतिहरु लिएको छ ।’

राष्ट्र बैंकले निक्षेपको अन्तिम सीमा र अधिकतम सीमा ५ प्रतिशत भन्दा बढीको फरक हुन नसक्ने व्यवस्था गरिदिएको छ । अर्थात साधारण बचतमा ५ प्रतिशत ब्याज दिने कुनै बैंकले मुद्दती निक्षेपमा १० प्रतिशत भन्दा बढी ब्याज दिन नसक्ने व्यवस्था छ । यसले गर्दा अहिले ब्याजदर धेरै नबढेको ढकालले बताए ।

यसका अलावा राष्ट्र बैंकले बजारमा अभाव हुँदा रिपो र अन्य माध्यमबाट रकम पठाउने गरेको छ । बजारमा ठूलो समस्या हुन नदिन कहिले २० अर्ब त कहिले ३० अर्ब तरलता पठाउने गरेको प्रवक्ता ढकालले बताए ।

बजेट होलिडेको असर

केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको अध्यादेश बजेटलाई संशोधन गर्दै अहिलेको सरकारले ल्याएको प्रतिस्थापन विधेयक संसदबाट पारित हुन सकेन ।

परिणाम, भदौ ३० गतेदेखि बजेट होलिडे शुरु भएको छ । अर्थात सरकारले गर्नुपर्ने खर्चहरु रोकिएका छन् । बजेट पारित कहिले हुने भन्ने ठेगान नभएका कारण अझै कति समय सरकारले खर्च गर्न नपाउने भन्ने यकिन छैन ।

नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बजेट होलिडको सिधा असर वित्तीय बजारमा परेको बताए । सरकारी ढुकुटीमै  करिब सय अर्ब रुपैयाँ रोकिएकाले पनि बजारमा तरलता अभाव भएको उनले बताए ।

सरकारले राजश्व उठाउने क्रम भने निरन्तर चलिरहेको छ । बजारबाट पैसा उठाउने क्रम नरोकिने तर सरकारी खर्च भने रोकिने भएकाले यसको असर तरलतामा परेको अध्यक्ष दाहालको भनाइ छ ।

राष्ट्र बैंकका प्रवक्ता ढकाल भने अहिले नै बजेट होलिडेको ठूलो असर नपरेको बताउँछन् । यो अवस्था लामो समयसम्म रहे ठूलो असर पर्नसक्ने उनले बताए । ‘एक हप्ता जति बजेट होलिडे होला भन्ने छ,’ उनी भन्छन्, ‘यो एक हप्ताले खासै असर गर्दैन ।’

दशैंको समयमा विदेशमा रहेका नेपालीले घरमा पैसा पठाउने हुनाले रेमिट्यान्स धेरै आउने र त्यसले तरलता अभावलाई केही सहज बनाउने बैंकहरुको आशा छ ।

रेमिट्यान्सको आशा

बजारमा तरलता समस्या समाधानका लागि सकारी खर्च पछि रेमिट्यान्सको महत्वपूर्ण योगदान छ । सरकारी ढुकुटीबाट रकम बाहिरिए तरलताको समस्या धेरै हुँदैन । वैदेशिक रोजगारीमा जाने युवाले ठूलो रकम पठाउँदा पनि त्यो पैसा बजारमा देखिएर तरलता अभावलाई सामान्य बनाउँछ ।

आर्थिक वर्ष २०७७/०७८ मा रेमिट्यान्स आप्रवाह ९.८ प्रतिशतले वृद्धि भई ९ खर्ब ६१ अर्ब ५ करोड पुगेको छ । अघिल्लो यो रकम ०.५ प्रतिशत घटेको थियो । यो वर्ष अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ८.२ प्रतिशतले वृद्धि भई ८ अर्ब १५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ३.३ प्रतिशत घटेको थियो ।

रेमिट्यान्सको मूख्य सिजन भनेको दशैं हो । अब रेमिट्यान्स भित्रने क्रम बढ्ने र तरलतालाई केही राहत हुने बैंकहरुको आशा छ । बैंकर्स संघका अध्यक्ष दाहाल भन्छन्, ‘रेमिट्यान्स बढ्ने समय भएकाले आत्तिहाल्नु पर्दैन भन्ने लाग्छ ।’

राष्ट्र बैंकका प्रवक्ता ढकाल पनि रेमिट्यान्सको राम्रै भित्रने विश्वास रहेको सुनाउँछन् । यो दशैंताका पनि रेमिट्यान्स भित्रने क्रम बढ्ने र तरलता समस्या समाधानका लागि महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ ।

कात्तिकपछि ब्याजदर घट्छ : अध्यक्ष दाहाल

गत वर्ष कोरोना महामारीपछि व्यापार–व्यवसाय गर्न चाहनेले सस्तोमा ऋण पाउने अवस्था थियो । तर, महामारीका कारण व्यवसाय गर्ने वातावरण थिएन । अहिले तरलता अभाव भएसँगै बैंकहरुको ब्याजदर पनि बढेको छ । निक्षेपमै १० प्रतिशत माथि व्याज दिने बैंकहरुबाट अब ऋण लिन १४ प्रतिशतसम्म ब्याज तिर्नुपर्ने हुनसक्छ ।

अर्थात्, तरलता अभावका कारण बैंकहरुबीच निक्षेप तान्ने प्रतिस्पर्धा शुरु भएको छ । यसले ब्याजदर बढाउँछ । सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत रहेका नेपाल बैंकर्स संघका अध्यक्ष दाहाल कात्तिक पछि सुधार हुने बताउँछन् ।

‘हामी कहाँ ऋण माग भएको छ, तर निक्षेप आउन सकेको छैन, अब कसैले ऋण लिएर कर पनि तिर्नुहोला,’ उनले भने, ‘यी विविध कारणले ब्याजदरमा दबाब परेको छ, तर मलाई विश्वास छ कात्तिकदेखि तरलता समस्या घटेर ब्याजदर पनि सहज हुन्छ ।’

उनले कात्तिकदेखि तरलता सहज भएर ब्याजदर घट्ने अनुमान गर्नुका पछाडि तीन कारण छन्– रेमिट्यान्स बढ्नु, सरकारी ढुकुटीमा भएको रकम खर्च हुनु र रिफाइनान्स लिएर पनि कर्जा लगानी गर्न पाउनु ।

राष्ट्र बैंकले रिफाइनान्स लिएर कर्जा लगानी गर्न दिनसक्ने रकम सय अर्ब हाराहारीमा रहेकाले केही सहयोग हुने उनले बताए । तर सरकारी खर्च पनि नबढ्ने र दशैंमा रेमिट्यान्स पनि विगतको भन्दा घट्ने हो भने समस्या लब्निे दाहालले बताए ।

दशैंअघि सहज हुन गाह्रो छ : विज्ञ

सरकारले राजश्व लिने क्रम धमाधम चलिरहेको तर खर्च भने नभएको कारण अहिले वित्तीय बजारमा तरलता समस्या देखिएको बैंकिङ विज्ञ पर्शुराम कुंवर क्षेत्री बताउँछन् । उनी यो समस्या तत्कालै समाधान भइहाल्ने देख्दैनन् । दशैंतिहार पछि मात्र सहज हुने उनको अनुमान छ ।

‘असारयता करीब २०० अर्ब राजश्व उठेर एक अर्ब पनि खर्च हुन सकेको छैन । साउनयता १ अर्ब रुपैयाँ सरकारी ढुकुटीमा थपिएको छ,’ क्षेत्री भन्छन्, ‘यो पैसा खर्च भएर बाहिर आउन नसकेका कारण समस्या देखिएको छ ।’

अहिले बजेट होलिडेका कारण पनि बजेट खर्च हुन सकेको छैन । एक हप्ता पछि बजेट होलिडे सकिने र राष्ट्र बैंकबाट पनि रिफाइनान्सिङको ८० अर्ब हारहारीमा पैसा बैंकमा जाने उनी बताउँछन् । रपनि, सहज भने नहुने उनको विश्लेषण छ ।

राष्ट्र बैंकले कर्जा–स्रोत परिचालन अनुपात (सीसीडी रेसियो) खारेज गरेर ल्याएको सीडी रेसियो (कर्जा–निक्षेप अनुपात) ले पनि २०० अर्ब ऋण दिनसक्ने बैंकको क्षमता कम भएको क्षेत्रीले बताए । दशैं पछि भने सरकारले ठेकेदारहरुको भुक्तानी पनि दिने भएकाले बजारमा रकम आउने उनको आँकलन छ ।

‘यसको समाधान भनेको ढुकुटीबाट पैसा बाहिर निकाल्ने नै हो,’ क्षेत्रीले भने, ‘राज्यको ढुकुटीबाट पैसा निस्कन दशैं–तिहार त कुर्नैपर्छ ।’

लेखकको बारेमा
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?