+
+

ओमानमाथि नेपालको ७ विकेटको जित

बलिङसँगै ब्याटिङ चल्दा नेपालले आईसीसी क्रिकेट वर्ल्डकप लिग टूमा ओमानमाथि ७ विकेटको सहज जित हात पारेको छ । घरेलु टोलीलाई १२१ रनमा समेटेको नेपालले कप्तान ज्ञानेन्द्र मल्लको अर्धशतकको मद्दतमा मात्र १८.२ ओभरमा तीन विकेट गुमाएर लक्ष्य भेट्टायो । नेपालका लागि कप्तान ज्ञानेन्द्र र आशिफ शेखले दोस्रो विकेटका लागि ९५ रनको साझदोरी गरे ।

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ३ गते २१:०७

३ असोज, काठमाडौं । बलिङसँगै ब्याटिङ चल्दा नेपालले आईसीसी क्रिकेट वर्ल्डकप लिग टूमा ओमानमाथि ७ विकेटको सहज जित हात पारेको छ ।

घरेलु टोलीलाई १२१ रनमा समेटेको नेपालले कप्तान ज्ञानेन्द्र मल्लको अर्धशतकको मद्दतमा मात्र १८.२ ओभरमा तीन विकेट गुमाएर लक्ष्य भेट्टायो ।

१६ रन जोड्दा कुशल भुर्तेललाई पहिलो विकेटका रुपमा गुमाएको नेपालका लागि कप्तान ज्ञानेन्द्र र आशिफ शेखले दोस्रो विकेटका लागि ९५ रनको साझदोरी गरे । शेख व्यक्तिगत ४० रनमा आउट भए ।

रोहितकुमार पौडेल मात्र ६ रनमा आउट भए । ज्ञानेन्द्र ५२ र शरद भेषावकर १ रनमा अविजित रहे ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले ३७.१ ओभरमा सबै विकेट गुमाएर १२१ रन बनाएको थियो ।

नेपाली बलरहरुले कसिलो बलिङ गरेपछि ओमानका ब्याट्सम्यानहरुले ठूलो साझेदारी गर्न सकेनन् । ३७/४ को अवस्थामा ब्याटिङमा आएका घरेलु टोलीका कप्तान जिसन मक्सुदले एउटा पारी सम्हालेपनि अरु ब्याट्सम्यानहरु टिक्न सकेनन् ।

यद्यपि क्रिजमा टिकिरहेका कप्तान मक्सुदले आठौं विकेटका लागि नसिम खुशीसँग २२ र नवौं विकेटका लागि मलिमुल्लाहसँग २० रनको साझेदारी गर्दै स्कोर १०० भन्दा माथि कटाए । उनी ४१ रनमा आउट हुँदा टिमको स्कोर १०६ रन थियो ।

नेपालका लागि सन्दीप लामिछाने र करण केसीले ४/४ विकेट लिए । सन्दीपले ८.१ ओभरमा २ मेडन राख्दै १८ रन खर्चिए भने करणले ८ ओभरमा १ मेडन राख्द‌ै २५ रन दिए । शरद भेषावकरले २ विकेट लिए ।

वाटमोरको सुखद बिदाई

ओमानलाई पराजित गर्दै नेपाली टिमले प्रशिक्षक डेभ वाटमोरलाई पनि सुखद बिदाइ दिएको छ ।

२०२० फेब्रुअरीमा नेपालमै भएको लिग टू को सिरिजमा नेपाल ओमानसंग दुवै खेलमा पराजित भएको थियो । अहिले भइरहेको सिरिजमा पनि नेपाल ओमानसंग पहिलो खेलमा सहजै पराजित भयो ।

लिग टू को अंकतालिकामा शीर्ष स्थानमा रहेको ओमानविरुद्ध नेपालले पहिलो जित हात पार्दै वाटमोरको बिदाईलाई सुखद बनाएको हो ।

लिग टू मा स्कटल्याण्ड र नामिबियापछि नेपालले ओमानलाई हराएको हो ।

वाटमोरले सिरिजअघि नै नेपाल क्रिकेट संघ क्यानलाई राजीनामा पठाउदै ओमानको सिरिज नै आफ्नो लागि अन्तिम हुने बताइसकेका थिए । गत पुसमा एक वर्षका लागि प्रशिक्षक नियुक्त भएका वाटमोरले पारिवारिक कारण देखाउँदै राजीनामा दिएको उल्लेख गरेका थिए ।

वाटमोरको प्रशिक्षणमा नेपालले गत वैशाखमा घरेलु मैदानमा भएको नेदरल्याण्ड्स र मलेसिया सम्मिलित टी-२० त्रिकोणात्मक सिरिजको उपाधि जितेको थियो । यस्तै वाटमोरको प्रशिक्षणमा नेपालले ओमान टुरमै पहिलो पटक ओडिआई क्रिकेट खेलेको हो । अहिलेसम्म ओमानमा नेपालले ६ खेल खेल्दा ४ खेल जित्यो भने २ खेलमा पराजित भयो ।

नेपालका कप्तान ज्ञानेन्द्र मल्लले सिरिजको अन्तिम खेल जित्दै प्रशिक्षकलाई सुखद बिदाइ गर्ने चाहना भएको बताएका थिए ।

नेपाल चौथो स्थानमा उक्लियो

लिग टू मा चौथो जित हात पारेको नेपाल ८ अंक जोड्दै अंकतालिकामा चौथो स्थानमा उक्लेको छ । ८ खेलबाट नेपालले ४ जित र ४ हार नतिजासहित ८ अंक नै जोडेको हो ।

नामिबिया समान ८ अंक भएपनि नेपाल रनरेटमा अघि रहेको छ । ओमान १३ खेलबाट २० अंकसहित शीर्ष स्थानमा छ । १५ खेल खेलिसकेको अमेरिका १४ अंकसहित दोस्रो स्थानमा छ । यस्तै स्कटल्याण्ड ८ खेलबाट ९ अंकसहित तेस्रो स्थानमा छ ।

लिग टू मा ७ वटै टिमले ९ सिरिजसहित ३६ खेल खेल्नेछ । नेपालले ओमान टुरपछि अझै लिग टू मा ७ सिरिज खेल्न बाँकी छ ।

सन् २०२३ को ओडीआई विश्वकपको रोडम्यापको रुपमा रहेको लिग टू बाट शीर्ष तीन टोली २०२० जुलाईमा जिम्बाब्बेमा हुने ग्लोबल क्वालिफायरमा पुग्नेछ । बाँकी चार राष्ट्रले पनि ग्लोबल क्वालिफायर पुग्नका लागि प्लेअफ खेल्ने मौका पाउनेछ । जहाँ क्रिकेट विश्वकप च्यालेन्ज लिगका उत्कृष्ट २ टिमसहित ६ टिमले प्रतिस्पर्धा गर्नेछन् र त्यसबाट शीर्ष दुई टोली ग्लोबल क्वालिफायरमा पुग्नेछ ।

ग्लोबल क्वालिफायरमा सुपर लिगका पुछारका ५ टिम, लिग टूबाट शीर्ष ३ टिम र प्लेअफबाट २ दुई कूल १० टिमले प्रतिस्पर्धा गर्नेछन् । यसबाट उत्कृष्ट दुई टोलीले २०२३ मा ओडिआई विश्वकप खेल्न पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?