
लोकदोहोरी गायक एवं मोडल रामजी खाँणले प्रविधिसँग चल्न नसक्दा अहिले समस्या भएको बताएका छन् । पहिलेदेखि नै प्रविधिलाई आत्मसाथ गर्दै अगाडि बढेको भए अहिले आफूहरुको स्तर अझ राम्रो हुने उनको भनाई छ ।
‘म लगायत समकालिन साथीहरु त्यो समय प्रविधिसँग चल्न सकेनौं । हामीहरुलाई गीत रेकर्डिङ र स्टेज कार्यक्रममा नै भ्याईनभ्याई हुन्थ्यो । गीत गाएपछि हामीले कम्पनीलाई वुझाउथ्यौं ।’ अनलाइनखबरसँगको कुराकानीमा उनले भने–‘कमाएका छौं, पुगिरहेको छ भन्ने हुन्थ्यो । त्यो समय रोयल्टीदेखि युट्युबतिर हाम्रो ध्यान नै गएन । यी कुराहरु जान्दैनौं भनेर ध्यान नै दिएनौं ।’
उनले अगाडि थपे–‘त्यही प्रविधिलाई समाएर काम गरेको भए अहिले मनग्ये कमाउन सकिन्थ्यो । वा भनौं, अहिले रोयल्टी देउ, मेरा गीत फिर्ता गर भनेर कुनै कम्पनीसँग रुनु नै पर्दैनथ्यो ।’ पछिल्लो समय भने गायक–गायिकाहरु प्रविधिसँग घुलमिल हुन थालेको खाँणले बताए । अहिलेका पुस्ताका अधिकांश गायक–गायिकाहरु प्रविधिलाई आत्मसाथ गर्दै अगाडि बढिरहेको रामजीको वुझाई छ ।
‘अहिलेका भाईबैनीहरु प्रविधिसँग हुर्किएर आए । प्रविधिलाई बुझे । उनीहरु कुनै कम्पनीसँग आवद्ध छैनन् । आफ्नो युट्युब च्यानल छ । सिधै कुनै एपमा पनि गीत बेच्न सक्छन्’ रामजीले भने । आफूहरुलाई एल्वमको त्यो समय राम्रो लागेपनि प्रविधिलाई आत्मसाथ गर्दै हिँड्ने कलाकारहरुलाई अहिलेको डिजिटल बजार राम्रो रहेको रामजीको धारणा छ ।
प्रतिक्रिया 4