१४ असोज, काठमाडौं । इन्द्रचोकबाट भोटाहिटी छिर्ने गल्लीको एउटा पसल छेउमा ६३ वर्षीय दुर्गानाथ गौतम झोक्राइरहेका छन् । काभ्रे कोशीपारी चौरीदेउराली–५ का गौतम ३० वर्षदेखि इन्द्रचोक क्षेत्रमा मजदुरी गर्छन् ।
बर्खामा खेती लगाउन गाउँ गएका उनी गतसाता मात्रै काठमाडौं फर्किए मजदुरीको लागि । खेतीपाती हुँदा गाउँमा र चाडपर्व नजिकिएसँगै होलसेलको भारी उठाउन उनको गाउँबाट धेरै मानिस असन इन्द्रचोक छिर्छन् । अघिल्लो साता उनी पनि यसैगरी काठमाडौं आए ।
सुरुआती केहीदिन दैनिक चार-पाँच वटासम्म काम पाइए पनि दुई दिनदेखि भारी उठाउने काम नपाएको उनले बताए । ‘दशैंको मुखैमा दिनमा एउटा भारी उठाउने काम पनि नपाइनु त अचम्मै भाछ,’ गौतमले अनलाइनखबरसँग भने ।

असन चोकबाट ठमेल छिर्ने मुखैमा सञ्जयरत्न तुलाधरको मसला र खाद्यान्नको पसल छ । असनका रैथाने तुलाधरले साहित्यरत्न नामक उक्त पसल चलाएको वर्षौं भयो । मंगलबार आफ्नै पसलमा भेटिएका तुलाधर दशैंको मुखैमा पनि फुर्सदिला देखिए । अब त दशैं लागेन र ? भन्ने अनलाइनखबरको प्रश्नमा उनले भने, ‘सडकमा हिंड्ने मान्छेको चहल पहलबाट चाहिं दशैं लाग्यो तर व्यापारमा छैन ।’ दशैंका लागि धेरै खपत हुने वस्तुमा पर्ने मसलामै उपभोक्ताको अकर्षण नदेखिएको उनले बताए ।

कोरोना महामारी अघिका वर्षहरुमा यतिबेला निकै व्यस्त हुने पसलमा फाटफुट्ट मात्रै उपभोक्ता आएको उनको भनाइ छ । कोरोनाका कारण मानिसको किनमेल शैलीमा पनि परिवर्तन देखिएको तुलाधरको बुझाइ छ । ‘पहिले एक किलो जिरा मसला किन्ने ग्राहकहरु अहिले आधी किलोमा झरेका छन् । खटाइ–खटाइ उपभोक्ताहरु बजारमा किनमेल गरिरहेका छन्,’ तुलाधरले भने । कोरोनापछि बजार खुले पनि किनमेल गर्नेमा उत्साह नदेखिएको उनले बताए ।
असनमै खाद्यान्नको ब्यापार गर्ने अमुलकाजी तुलाधर पनि बजारमा मान्छेहरु हिंडे पनि व्यापारमा उत्साह नदेखिएको बताउँछन् । एक साता अघिसम्म सुनसान जस्तै रहेको बजारमा मानिसहरुको ओहोरदोहोर भने बढेको उनले बताए । ‘मानिसहरु दशैं लागे जसरी हिंडेका छन्, तर किनमेल गरेका छैनन्,’ उनले थपे, ‘परारका वर्षहरुमा यतिबेला हामीलाई पत्रकारसँग कुरा गर्न फुर्सद कहाँबाट हुन्थ्यो ?’

खाद्यान्न मात्रै होइन, यो वर्ष दशैंका मुखमा लत्ता कपडाको व्यापार पनि धेरै उत्साहजनक नभएको व्यापारीहरु बताउँछन् । न्यूरोडबाट रञ्जना गल्ली छिर्ने चोकैमा रहेको फेन्सी पसलका व्यवसायीहरु मंगलबार अनलाइनखबर प्रतिनिधि बजार पुग्दा एकअर्कामा गफिइरहेका थिए । दशैं त लाग्यो व्यापार कस्तो छ भन्ने जिज्ञासामा सीमा ट्रेडर्सका सञ्चालक आकास श्रेष्ठले पूर्वपट्टीको पसल देखाउँदै भने, ‘ऊ त्यो पसलको साहुजी अर्को पसलमा गएर गफ हान्दै हुनुहुन्छ, म पनि दिनभरि गफै गरेर बसिरहेको छु, आउनुस् एकछिन गफ गरौं ।’ दशैंमा फुर्सदिलो बन्न परेकोमा उनले दिक्दारी प्रस्तुत गरे ।

यतिबेला देशभरबाट होलसेलमा सामान लिन आउने खुद्रा व्यापारीले खचाखच हुनेपर्ने न्युुरोड क्षेत्र सुनसान रहेको उनले बताए । अलिअलि सामान उधारोमा बिक्री भए पनि पसलहरुले विगतमा जसरी व्यापार गर्न नसकेको उनको भनाइ छ । कोरोनाका कारण मानिसहरुले लत्ताकपडा खरिदलाई प्राथमिकतामा नपारेको होकी भन्ने प्रश्न उब्जिएको पनि श्रेष्ठको आशंका छ । होलसेलकै ठूलो व्यापार नहुँदा खुद्राबाट हुने व्यापारले पार लाग्ने अवस्था नदेखिएको उनले बताए ।
दरबारमार्गमा रहेको ब्राण्डेड वस्तुहरुको बिक्री स्टोर दामिलिनोले भने दशैं लागेको जस्तो भान भएको बताएको छ । लामो समय ठप्प रहेको ब्राण्डेड कपडाको व्यापारमा उत्साह बढेर गएको स्टोरकी सेल्स असिस्टेन्ट ग्रेसा खड्काले बताइन् ।

‘गत वर्ष दशैंमा कारोबार ठप्प थियो तर यस वर्ष दशैं नजिकिएसँगै कारोबारमा उल्लेख्य वृद्धि भएको छ,’ खड्काले भनिन् । दशैंको मुखैमा ब्राण्डेड वस्तु किनमेल गर्ने शैली बढ्दै जाँदा उत्साहित भएको बताउँदै उनले आगामी दिन अझ व्यापार बढ्ने आशा व्यक्त गरिन् ।
फोटो/भिडियो : चन्द्र बहादुर आले
प्रतिक्रिया 4