+
+

‘गलैंचा उद्योगको विकासमा राज्यको चासो बढ्नुपर्छ’

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १५ गते १३:१४

१५ असोज, काठमाडौं । नेपालमा गलैंचा उद्योगको विकासका लागि राज्यको थप चासो बढ्नु पर्ने उद्योगीहरुले बताएका छन् । गलैंचा उद्योगको सम्वर्द्धन, प्रवर्द्धन, विस्तार तथा विकासका योजनाहरुको विषयमा राज्यको चासो कम भएको उनीहरुको गुनासो छ ।

गण्डकी प्रदेशका सांसद एवं संघका अध्यक्ष रामबहादुर गुरुङले कोभिड महामारीले निम्त्याएको प्रतिकुल अवस्थामा समेत गलैंचा उद्योगहरुले आफ्नो व्यवसायिक गतिविधिलाई निरन्तरता दिएको बताए । यसले राष्ट्रिय अर्थतन्त्रमा निकै राम्रो योगदान पुर्‍याउन सफल भएको उनको भनाइ छ ।

नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता संघको चौथो वार्षिक साधारण सभामा बोल्दै उनले भने, ‘गले्चा उद्योगको विकास र प्रवर्द्धनका निमित्त नेपाल सरकारले थप ध्यान दिएमा उद्योगको दीर्घकालिन विकास हुन सक्ने हामीलाई विश्वास छ ।’

नगद अनुदानसम्बन्धी कार्यविधि २०७५ संसोधनका आधारमा नेपाली गलैंचा व्यवसायीहरुले ५ प्रतिशत मात्र अनुदान रकम प्राप्त गर्ने गरेका छन् । तर कार्यविधिको सार अनुरुप नेपाली गलैंचाको मूल्य अभिवृद्धि ७० प्रतिशत भन्दा बढी हुने भएतापनि नेपाली गलैंचालाई मूल्य अभिवृद्धि न्यूनतम ३० प्रतिशत हुने वस्तुहरुसँग तुलना गरी कार्यविधिको अनुसूचि २ मा उल्लेख गरिएको छ ।

नेपाली गलैंचा क्षेत्रलाई मूल्य अभिवृद्धिका आधारमा थप प्राथमिकतामा राख्न निरन्तर प्रयासरत रहेको संघका महासचिव दावा शेर्पाले बताए । नेपाली गलैंचा क्षेत्रलाई कार्यविधिको अनुसूचि १ मा उल्लेख गर्न सके गलैंचा व्यवासयीहरुले प्राप्त गरिरहेको अनुदान रकममा वृद्धि हुने सक्ने उनको भनाइ छ ।

सरकारले कृषि क्षेत्रलाई प्राथमिकता प्राप्त क्षेत्र भनेर सहुलियत ऋण उपलब्ध गराउँदै आइरहेको छ । सोही अनुसार सरकारले गलैंचा क्षेत्रलाई पनि सहुलियत ऋण उपलब्ध गराउनु पर्ने संघका उपाध्यक्ष समिक विक्रम शाहले बताए । यो क्षेत्रमा रोजगारीमा पनि महत्वपूर्ण योगदान गरेको भन्दै राज्यले यसलाई भुल्न नहुने उपाध्यक्ष शाहको भनाइ छ ।

नेपाली गलैंचा उद्योगलाई विस्तार गर्न सके उद्योगले श्रृजना गरिरहेको रोजगारीको अवसर स्वतः बढ्दै जाने, राष्ट्रिय अर्थतन्त्रमा उद्योगले पुर्‍याउँदै आएको योगदान पनि बढ्ने भन्दै राज्यले थप चासो दिनु पर्ने उद्योगीहरुको जोड छ ।

नेपाली हस्त निर्मित गलैंचाले अन्तर्राष्ट्रिय बजारमा राम्रो छाप छोड्न सफल भएको छ । तर राज्यको सही सहयोग र समर्थन नपाएकोले अन्यराष्ट्रसँग प्रतिस्पर्धा गर्न सकेको छैन । नेपाली गलैंचा उद्योगले उचित फाइदा लिन नसक्दा गलैंचा उद्योगका मजदुरहरु लाभान्वित हुन सकेका छैनन् ।

विश्व बजारमा नेपाली गलैंचाको सामूहिक व्यापार चिन्ह दर्ताको प्रक्रिया अगाडि बढिसकेको छ । अमेरिका, युरोपियन युनियन र यूके जस्ता राष्ट्रहरुमा नेपाली गलैंचाको सामूहिक व्यापार चिन्ह दर्ता गर्ने प्रक्रिया अगाडि बढाएको संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?