+
+

पोखराको फिर्के पुलमा लफडा : आफैं आन्दोलित, आफैं अवरोध !

पुल छिटो बनाउन स्थानीय, व्यवसायीले गरे चक्काजाम

विकास रोकामगर विकास रोकामगर
२०७८ असोज १७ गते १८:५१

१७ असोज, पोखरा । पोखरा महानगरपालिका-४ का गणेश विकले सिद्धार्थ चोकमा सुनचाँदी व्यवसाय गर्दै आएको १० वर्ष भयो । तीन वर्षअघिसम्म व्यवसायबाट राम्रै आम्दानी गरिरहेका उनको व्यवसाय अहिले ठप्पै छ । दिनभरि पसल आएर ‘ब्याजको चिन्ता’ लिएर बस्नुको अर्को विकल्प छैन ।

कारण हो, पसल नजिकै रहेको फिर्केखोलाको अपूरो पुल । तीन वर्षअघि मोटरेबल पुल बनाउने भन्दै महानगरले पुरानो पुल भत्काएसँगै उनको व्यापार पनि ठप्प छ । पुल आउजाउ नै बन्द भएपछि व्यापार पनि ठप्प भएको उनको गुनासो छ ।

‘यो पुलका कारण व्यापारीलाई मर्का परेको छ है भन्ने सोच्दैनन् । हामी पनि भाडामा बसेर व्यापार गर्दै आएका छौं । महिना मरेपछि भाडा तिर्नैपर्छ । तर, व्यापारै नभएपछि कसरी तिर्ने ?’ विक गुनासो गर्छन्, ‘पुल बन्ला र व्यापार होला भनेर पर्खेर बसेको पनि तीन वर्ष भइसक्यो । बनेकै छैन । पुल नबन्दा व्यापार सबै डाउन भइसक्यो ।’

पुलकै कारण मर्कामा परेकी सोही ठाउँका अर्का व्यवसायी हुन्, सन्तोष राम । उनले करिब १८ वर्षदेखि आलु गोदाम चलाउँदै आएका छन् । रामको पनि पहिले राम्रै व्यापार हुन्थ्यो । तर, फिर्केखोलाको बाटो बन्द भएपछि गोदाम नै बन्द गरेर बस्नुपर्ने स्थिति आएको उनी बताउँछन् ।

फिर्के पुल नबन्दा सुनसान बनेको सिद्धार्थ चोक क्षेत्र

‘पहिले उताबाट गाडी आउँथ्यो । मान्छेहरु हिँड्थे । व्यापार हुन्थ्यो । त्यो पुल बन्द हुँदा एकसुका पनि व्यापार छैन,’ व्यवसायी राम भन्छन्, ‘यताबाट मान्छे जाँदैन, उताबाट आउँदैनन् । कसरी व्यापार हुन्छ ?’ पहिले दैनिक १० देखि १५ हजारसम्म व्यापार भएपनि अहिले हजार रुपैयाँको व्यापार गर्न पनि हम्मेहम्मे परेको उनको गुनासो छ ।

सोही स्थानमै फेन्सी पसल गर्दै आएकी मनकुमारी यादवको गुनासो पनि उही छ । कोरोना महामारीले भन्दा बढी पुल नबनेर आफूहरुले घाटा व्यहोर्नु परिरहेको उनको दुःखेसो छ । उनले भनिन्, ‘यही पुलकै कारण धेरै मारमा परियो । अब यहाँ टिक्ने स्थिति नै बनेन । पुल नबनेपछि यो भागमा मान्छे नै हिँड्दैनन् ।’ उक्त क्षेत्रमा करिब डेढ सय जना व्यापारी रहेको उनले बताइन् ।

पोखरा महानगरपालिकाको वडा नम्बर४ र ५ लाई जोड्ने फिर्के पुल नबन्दा आउजाउमा समस्या परेको व्यापारमा घाटा व्यहोर्नु परेको भन्दै स्थानीय तथा व्यवसायीले संघर्ष समिति नै गठन गरेर आइतबार सिद्धार्थचोक, चिप्लेढुंगा क्षेत्रमा करिब १ घन्टा चक्काजाम समेत गरेका थिए । पक्की पुल नबनाएपनि अस्थायी पुल बनाएर आउजाउ सहज गरिदिन उनीहरुले आग्रह गरेका छन् ।

फिर्के पुल तत्काल बनाउन माग गर्दै आन्दोलनरत स्थानीय/व्यवसायी

पुल बनाउने म्याद १५ महिना, कट्यो ३ वर्ष

हाल पुल बनिरहेको ठाउँमा पहिले सवारी साधन चल्न मिल्ने सामान्य पुल थियो । तर, २०७५ सालमा महानगरले नयाँ मोटरेबल बनाउने भन्दै उक्त पुल भत्कायो । उक्त ठाउँमा नयाँ पुल बनाउन महानगरले शान्ति आरोग्य जेभीसँग ४ करोड ५५ हजार रुपैयाँमा सम्झौता गरेको थियो ।

२०७५ भदौ ३ गते १५ महिनाभित्र सक्ने गरी सम्झौता गरेको थियो । तर, शुरुमा जग्गा मुआब्जाको विषय लिएर विवाद भएपछि करिब ३ महिना रोकिएको थियो । पछि उक्त विवाद मिल्यो । तर, काम अघि बढेन । पछि बर्खा लागेको भन्दै ठेकेदारले काम रोकेको महानगरको आरोप छ ।

सम्झौता भएको ३ वर्ष बितिसक्दा अहिले पुलको २ वटा जग मात्रै उठाइएको छ । पुल बनाउन पहिलो म्याद सकिएपछि महानगरले ६ महिना म्याद सकिएको थियो । तर, उक्त म्यादसमेत जेठ महिनामै सकिइसकेको छ ।

‘भौतिक प्रगति भनेको ६० प्रतिशत हो । शुरुमा खोलामा जग बसाल्न मात्रै गाह्रो हुने हो । जग उठिसकेपछि धमाधम काम हुनुपर्ने हो,’ पोखरा महानगरका इन्जिनियर नेत्र तिमिल्सिना भन्छन्, ‘कहिले स्थानीयले नै विरोध गरे । कहिले ठेकेदार आफैंले काम गरिदिएनन् ।’ अब भने म्याद थप्न उचित कारण नदेखाए ठेकेदार कम्पनीलाई कालोसूचीमा राखिने उनले बताए ।

अलपत्र बनेको पोखरा ४ र ५ नम्बर वडा जोड्ने फिर्के पुल

स्थानीयकै दोहोरो चरित्र : आफैं आन्दोलित, आफैं अवरोध !

आइतबार बिहान पुल बनाउन दबाब दिन सिद्धार्थ चोकमा जम्मा भएका स्थानीयले पुल छिटो नबनाए पोखरा ४ र ५ नम्बरका वडाध्यक्षलाई घेर्दै कालोमोसो दलिदिने चेतावनी दिए । उनीहरुले पुलका कारण आफूहरुलाई मात्रै नभएर अन्य यात्रुलाई पनि अप्ठेरो परेको भन्दै समयमै पुल बनाउन ठेकेदार कम्पनीलाई दबाब दिन आग्रह गरेका थिए ।

आन्दोलनरत् समूहले २ वडाध्यक्षलाई ‘¥याख्¥याख्ती’ पारेपछि तत्कालै उनीहरुले महानगरमा ठेकेदार कम्पनीका प्रतिनिधिसँग बैठक राखे । बैठकमा उनीहरुले ठेकेदारको ढिलासुस्तीको भार आफूहरुले बोक्न नसक्ने भन्दै तत्काल काम शुरु गर्न निर्देशन दिए ।

तर, ठेकेदार कम्पनीका प्रतिनिधि रामनारायण यादवले स्थानीयकै विरोधका कारण आफूले काम गर्न नपाएको बताए । उनले भने, ‘स्काभेटर चलायो कि स्थानीय ढुंगामुढा गर्न आइहाल्छन् । तपाईंहरु भन्नुहुन्छ भने म भर्खर काम शुरु गर्छु ।’ त्यसपछि दुई वडाध्यक्षले काम शुरु गर्न स्वीकृति दिए ।

महानगरको निर्देशनपछि काममा खटिएको स्काभेटर । पछि स्थानीयको अवरोधले बन्द गरिएको थियो 

तर, फिर्के खोलामा पुग्दा दृश्य अर्कै थियो । जब यादवले आफ्ना अपरेटरलाई स्काभेटर चलाउन निर्देशन दिए तब स्थानीय विरोध गर्न आइपुगे । तिनै स्थानीयले आफ्नो जग्गामा क्षति पुग्ने भन्दै अवरोध गर्न पुगेका थिए । उनीहरुकै अवरोधका कारण केहीबेर चलेको स्काभेटर पुनः बन्द भएको थियो । स्थानीय दीपक मुल्मी, मधु कोइराला लगायतले स्काभेटरले जमिन काट्दा आफ्नो जग्गामा क्षति पुगेको भन्दै विरोध गरेका थिए ।

फिर्के पुलले आफ्नो संरचना जोखिममा परेको बन्दै विरोधमा उत्रिएका स्थानीय

बल प्रयोग गरेरै भएपनि काम सोमबारबाटै शुरु हुन्छ : महानगर

पोखरा महानगरले बल प्रयोग गरेरै भएपनि पुल निर्माणको काम सोमबारबाट सुचारु हुने जनाएको छ । महानगरका प्रवक्ता समेत रहेका पोखरा ५ का वडाध्यक्ष धनबहादुर नेपालीले भने, ‘कुनै व्यक्तिले सार्वजनिक जग्गा हडपेर विकास निर्माणका काम रोक्न पाउँदैन । त्यसका लागि महानगर बल प्रयोग गरेरै भएपनि भोलि (सोमबार)बाट काम शुरु गर्छ । उनले पुल निर्माण काममा अवरोध पुर्‍याउनेलाई महानगरले कारबाही गर्ने बताए ।

महानगरका सूचना अधिकारी भरतराज अधिकारीले ‘साइट’मा आएका समस्याहरुलाई आफूहरु समाधान गर्न तयार रहेको बताए । ‘अब हामी पब्लिक प्रेसर थाम्न सक्दैनौं । ठेकेदार कम्पनीले कति समयमा सक्ने भनेर कमिटमेन्ट लेटर बनाएर आओस्, वातावरण मिलाउने जिम्मा हाम्रो,’ उनले भने ।

लेखकको बारेमा
विकास रोकामगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?